‘परिणाम एमालेको पक्षमा’ : पोखरेल, ‘कांग्रेस पहिलो पार्टी बन्छ’ : गुरुङ, ‘गठबन्धन लामो समय’: दाहाल


प्रकाशित मिति : मंसिर ४, २०७९ आईतबार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन लामो समयसम्म अघि बढ्ने बताउनुभएको छ । आफू उम्मेद्वार रहेको गोरखा क्षेत्र नं २ का विभिन्न मतदान केन्द्रको अवलोकन गर्न चितवनमा मतदान गरेर आज गोरखा आइपुग्नुभएका उहाँले पत्रकारहरूसँग कुराकानी गर्दै अहिलेको गठबन्धन लामो समयसम्म जाने बताउनुभएको हो ।

“यो गठबन्धनलाई लामो समयसम्म अघि बढाउनुपर्छ भन्नेमा गठबन्धनमा आबद्ध सबै दल एकमत छन्,” उहाँले भन्नुभयो, “भोलि जसको नेतृत्वमा सरकार बने पनि गठबन्धन कायम रहन्छ ।” अध्यक्ष दाहालले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने बारेमा गठबन्धन दलहरू बीचमा अहिले कुनै छलफल नभएकोसमेत बताउनुभयो ।

उहाँले यस पटकको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अरू बेलाको जस्तो सामान्य निर्वाचन नभएको भन्दै यसलाई जनमत सङ्ग्रहका रूपमा लिन सकिने बताउनुभयो । अध्यक्ष दाहालले यो निर्वाचन संविधानमा पटकपटक आक्रमण गर्ने र संविधानको रक्षा गर्दै विकास र समृद्धिको यात्रा सुरु गर्न चाहने बीचको प्रतिस्पर्धा गर्ने निर्वाचन रहेको उल्लेख गर्नुभयो ।

गोरखा आएर अध्यक्ष दाहालले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने पालुङटार नगरपालिका–२, बडडाँडा, गोरखा नगरपालिकाको छेवेटार, बिरिनचोक, तेह्रकिलो, कुन्दुरटारलगायतका स्थानमा पुगेर मतदान केन्द्रको स्थलगत अवलोकन गर्नुभएको थियो ।

कांग्रेस पहिलो पार्टी बन्छ : उपसभापति गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले आज सम्पन्न भएको निर्वाचनबाट नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका नेता गुरुङले स्याङ्जासहित देशभर नै कांग्रेसको पक्षमा उत्साहजनक जनलहर रहेकाले कांग्रेस पहिलो पार्टीका रूपमा संसद्मा उपस्थित हुने बताउनुभयो ।

रासससँग सङ्क्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले स्याङ्जाका मतदानस्थलहरूमा पुग्दा कांग्रेसको पक्षमा मतदाताहरू सकारात्मक रहेको पाएको बताउनुभयो ।

“स्याङ्जाका केही ठाउँमा सामान्य विवाद, झैझगडाहरू भएका छन्, असामान्य केही पनि भएको छैन र निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ”, उहाँले भन्नुभयो, “स्याङ्जामा जस्तै देशैभर मतदाताहरूमा कांग्रेस पार्टीप्रति यही खालको सकारात्मक उत्साह र परिणाम छ भन्ने विश्वासमा छु, तसर्थ संसद्मा नेपाली कांग्रेस पहिलो पार्टीका रूपमा उपस्थिति जनाउँछ ।”

मतदानलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने मतदाता, निर्वाचनमा खटिनुहुने कर्मचारीलगायत सबैप्रति उहाँले आभार प्रकट गर्नुभएको छ ।

परिणाम एमालेको पक्षमा आउँछ : ईश्वर पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका–६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

मतदानपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले मतपरिणाम एमालेको पक्षमा आउने बताउनुभयो । आज बिहान ८ः३० बजे मतदान गर्दै पोखरेलले चुनावी अभियानका क्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति र सकारात्मक प्रतिक्रियाका कारण एमालेको पक्षमा मत परिणाम आउने विश्वास व्यक्त गर्नुभएको हो ।

निर्वाचित भएपश्चात् काठमाडौँ क्षेत्र नं ५ को विकाससँग सम्बन्धित रहेर जारी गरिएका २८ वटा प्रतिबद्धता पूरा गर्ने उहाँले बताउनुभयो । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा कूल ७० हजार नौ सय १९ मतदाता छन् । यस निर्वाचन क्षेत्रमा ३१ वटा मतदान केन्द्र र ५० वटा मतदान उपकेन्द्र रहेका छन् ।

यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका, टोखा र बूढानीलकण्ठ नगरपालिकाभित्रका कूल १५ वटा वडा समेटिएका छन् । प्रदेशसभा १ तर्फ काठमाडौँ महानगर–२, ४ र ५ पर्दछन् । प्रदेशसभा २ तर्फ काठमाडौँ महानगर–३, बूढानीलकण्ठ नगरभित्रका वडा नं ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाभित्रका वडा नं २, ३, ४, ५, ६ र ७ समेटिएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com