बालाचतुर्दशी: पशुपतिनाथलगायत देशभरका शिवालयमा महादीपदान पर्व मनाइँदै


प्रकाशित मिति : मंसिर ४, २०७९ आईतबार

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा गरिने महादीपदान पर्व आज मनाइँदैछ ।

यसअन्तर्गत पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड सुरु हुन्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै सतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड महादीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै सतबीज छर्छन् ।

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात सोमबार दिवङ्गत पितृका नाममा महादीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका छन् । सोमबार रातभर दीपदान गरी बसेका भक्तजनले मङ्गलबार बिहानै पितृको सम्झनामा सतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको मार्गशीर्ष कृष्ण त्रयोदशीको बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा सोमबार बिहानैदेखि सुरक्षाकर्मी लगायतको बाक्लो उपस्थिति रहने गरी व्यवस्था मिलाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक सय आठ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

सतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार सतबीज भन्नाले धानका सय गेडा छर्नुपर्ने अरू अन्न होइन भन्नुहुन्छ धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम ।

“भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्य क्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ”, उहाँले भन्नुभयो ।

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती छ ।

यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।

आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई सतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि सतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि सतबीज छर्ने गरिएको हो ।

माता पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रूपमा दीपदान एवं सतबीज रोपण गर्नुनहुने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजाआजा त परको कुरा नामसमेत लिनु नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ ।

महादीपदान गर्नेसँग शुल्क लिइँदैन : पशुपति क्षेत्र विकास कोष

मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन आज बेलुकी पशुपति क्षेत्रमा महादीपदान गर्न आउने भक्तजनसँग कुनै शुल्क नउठाइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषले शुल्क नलिने भए पनि केही मानिसले भक्तजनसँग शुल्क उठाउने गरेको सूचना पाएकाले महादीपदान छोडेर जाने भएमात्र कोषका तर्फबाट रु एक हजार पाँच सय पाँचको रसिद काट्न आह्वान गरिएको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । आज रातभर आफैँ महादीपदान कुरेर बस्ने भक्तजनले कुनै शुल्क तिर्नुनपर्ने कोषले जनाएको छ । दीप कुरेर बस्ने भक्तजनसँग कसैले पैसा मागेमा प्रहरीलाई खबर गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ । यस्तो समूहलाई कानुनबमोजिम कारबाही गरिने छ ।

पशुपति क्षेत्रमा आज लाग्ने मेलाका लागि सबै तयारी पूरा भएको छ । मेलाको अघिल्लो दिन प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचन परेकाले शनिबार नै धेरै तयारीका काम सम्पन्न भइसकेको छ । बाँकी तयारीका काम आज बिहानैदेखि गर्न लागिएको हो । महादीपदान गर्न आउने भक्तजनलाई असुविधा नहुने गरी तयारी अघि बढाइएको छ ।

पशुपति क्षेत्रमा अग्नि नियन्त्रकको व्यवस्था गरिएको छ । दीपदानको पर्व भएकाले आगलागीको सम्भावित खतरा नियन्त्रणका लागि अग्नि नियन्त्रक यन्त्रको व्यवस्था गरिएको हो । यसैगरी महादीपदान गर्न आउने भक्तजनका लागि पर्याप्त मात्रामा त्रिपालको व्यवस्था गरिएको छ । भक्तजनलाई चिसो नहोस् भनेर गत वर्षभन्दा बढी त्रिपालको व्यवस्था गरिएको हो । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान स्नान गर्न भक्तजनका लागि विभिन्न स्थानमा अस्थायी धाराको व्यवस्था पनि गरिएको छ ।

यसैगरी लाखौँ भक्तजनका लागि ठाउँठाउँमा अस्थायी शौचालय स्थापना गरिएको छ । बिहान बेलुका जाडो बढेकाले पशुपति क्षेत्रका विभिन्न स्थानमा धुनी जगाउन दाउराको व्यवस्था गरिएको छ । भष्मेश्वर, बोडेपाटी, रामन्दिर, बाहिरी पश्चिम मूल ढोकालगायत स्थानमा धुनी जगाइने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

दिवङ्गत पितृका नाममा आज बेलुकी महादीपदान गर्ने भक्तजनले भोलि बिहान सद्गतिको कामना गर्दै पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छर्नेछन् । पशुपति क्षेत्रमा लाग्ने वर्षभरका ठूला मेलामध्ये बाला चतुर्दशी मेला एक हो । यसका लागि सुरक्षाकर्मीको पर्याप्त मात्रामा व्यवस्था गरिएको छ । तीन तहमा सुरक्षाकर्मी राख्ने गरी व्यस्था गरिएको संस्कृति संरक्षण महाशाखा प्रमुख पराजुलीले जानकारी दिनुभयो ।

वैकुण्ठधाममा मेला लाग्ने

चितवनको माडीस्थित वैकुण्ठधाममा बालाचतुर्दशीको अवसरमा मेला लाग्ने भएको छ ।

मङ्गलबार बालाचतुर्दशीका दिन माडी नगरपालिका–६ स्थित वैकुण्ठधाममा मेला लाग्ने भएको हो । आफ्ना बुबाआमा नहुनेले पितृको मोक्ष प्राप्तिका लागि बालाचतुर्दशीको अघिल्लो दिन रातभर भजनकीर्तन गरी भोलिपल्ट बिहान वैकुण्ठधाम क्षेत्रमा शतबीज छर्ने र स्नान गर्ने प्रचलन रहेको छ ।

वैकुण्ठधाममा यस वर्ष बृहत् सांस्कृतिक कार्यक्रमको अयोजना गरिने भएको छ । विभिन्न जनजातिको झाँकीसहित स्थानीय कलाकारको प्रस्तुति रहने मेला व्यवस्थापन संयोजक राजकुमार परियारले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा आउनेले शतबीज छर्नुका साथै वैकुण्ठ ताल अवलोकन, माडीको पहिलो झोलुङ्गे पुल अवलोकन विभिन्न परिकारका खानेकुराको स्वाद लिन पाउनेछन् ।

धार्मिक पर्यटनको विकास र प्रवद्र्धनमा मेलाले टेवा पुग्ने उहाँको विश्वास छ । मङ्सिर कृष्ण चतुर्दशीका दिन परिवारभित्रका सदस्यको दिवाङ्गत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित शतबीज मन्दिर वरपर छर्ने चलन छ । यसो गर्नाले पितृलाई अन्नको कमी नहुने र उनीहरुले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ । मङ्सिर कृष्ण त्रयोदशीका दिन साँझबाट भोलिपल्ट सद्बीज छर्ने बेलासम्म आफ्ना पितृको नाममा बत्ती बाल्ने गरिन्छ ।

यस क्षेत्रलाई ऋषिमुनिले तपस्या गरेको, अष्टबक्र जन्मेको क्षेत्रको रुपमा लिइन्छ । बराह पुराणमा वैकुण्ठ तीर्थमा स्नान गरेमा पाप नाश हुने उल्लेख छ । श्रीराम वनबास जाने क्रममा यो क्षेत्रमा स्नान गरेको धार्मिक कथन छ । माडीको खरकट्टास्थित वैकुण्ठचोकबाट करिब साढे तीन किलोमिटरको दुरीमा वैकुण्ठ मेलास्थल पुगिन्छ । मेलास्थलबाट करिब २० मिनेटको पैदलयात्रापछि ताल हेर्न पाइन्छ । घाँघरखोलाको शिरमा रहेको यो तालको शिरमा दुई छहरा छन् । चारैतिरको हरियालीले तालको दृश्यलाई नै लोभलाग्दो बनाएको छ । तालको दक्षिणतर्फ मनै लोभ्याउने गुफा छन्, धनलक्ष्मी छहरा छ, खोली दोभान छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com