लमजुङमा जसपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङको निधन


प्रकाशित मिति : मंसिर ५, २०७९ सोमबार

लमजुङमा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरेन्द्रबहादुर गुरुङको निधन भएको छ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका-२, घनपोखरा घिम्राङका ६८ वर्षीय गुरुङको उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार दिउँसो निधन भएको हो ।

हाल सदरमुकाम बेंसीसहर बस्दै आएका उनी   रक्तचापका कारण बेहोस भएपछि तत्काल बेँसीसहरमा रहेको जिल्ला अस्पतालमा लगे पनि थप उपचारका लागि चितवनमा लगेर उपचार हुँदै आएको थियो ।

जसपा केन्द्रीय सदस्य खेमजंग गुरुङका अनुसार पार्टीका प्रदेश कमिटी सदस्य समेत रहेका गुरुङ उच्च रक्तचाप बिरामी थिए। मर्स्याङ्दी गाउँपालिका-२ का अध्यक्ष चेतबहादुर गुरुङका अनुसार उनको शवलाई लमजुङ ल्याइएको छ ।

उनले सत्ता गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका थिए । तर, जसपाले उम्मेदवार कायमै रहेको जनाएको थियो । हाल ४ हजार ८ सय ९८ मतगणना हुँदा उनले ५ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृत शिवप्रसाद खनालले भने “उहाँको दुःखद निधन भएको अपुष्ट खबर प्राप्त भएको छ, निधन भए पनि मतगणना भने जारी रहन्छ ।”

पार्टीका उम्मेदवारको प्रतिनिधि बनेका विकास गुरुङ र बलबहादुर रानालाई मतगणना स्थलबाट फिर्ता बोलाइएको छ ।

प्रतिनिधिसभातर्फ नरेन्द्रबहादुर  गुरुङसहित नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष बालचन्द्र श्रेष्ठलगायत ११ जना उम्मेदवार रहेका छन् ।

मृतक गुरुङको श्रीमती चार छोरा छन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com