२४ बर्षदेखि अमेरिकामा नाच्दै बशन्तीः समाचारको धुनमा नाचेदेखि राजेश हमालसम्मको स्टेज शो
प्रकाशित मिति : मंसिर २५, २०७९ आईतबार
बाल्यकालमा रेडियो नेपालको समाचारको धुनमा समेत नाच्न तम्सिन्थिन् बशन्ती राई । त्यो बेला उनलाई भविश्यमा कलाकार बन्छु भन्ने सोंच त थिएन, तर पनि रेडियो नेपालमा कुनै धुन बज्नासाथ उनलाई नाचौं नाचौं लाग्थ्यो ।
‘हाम्रो घरमा रेडियो र ब्लाक एण्ड ह्वाइट टेलिभिजन थियो । त्यसमा कुनै संगीत आउनासाथ म अलिक पर कुनामा कसैले नदेख्ने गरी नाच्थें । नजिकै नाच्यो भने बुबाले गाली गर्नुहुन्थ्यो । किनभने त्यो बेला छोरीहरु नाचगानमा लागेभने बिग्रन्छन् भन्ने सोंच समाजमा थियो ।’ – वशन्तीले त्यो बेलाको क्षण सम्झिन्छन् ।
यसरी झापाबाट सुरु भएको उनको नृत्ययात्रा विद्यालयहुँदै अमेरिकासम्म आइपुग्यो । सन् १९९८ मा अमेरिकाको न्युयोर्क आएदेखि नै उनी नृत्यमा सकृय हुदै गइन् । अमेरिकामा २४ बर्षमा एकहजारभन्दा धेरै स्टेज शोहरुमा नृत्य प्रस्तुत गरिन्, बशन्तीले । नेपालका प्रधानमन्त्रीहरुदेखि राजदुतहरुसम्मलेमात्र होइन, अमेरिकामा राजनीतिज्ञहरुदेखि न्युयोर्कका मेयरसम्मले उनको नृत्य हेरे । राजेश हमालदेखि गोविन्द राईसम्मका कलाकारसँग उनले स्टेजमा नृत्य प्रस्तुत गरिन् ।
भन्छिन् – ‘नृत्य गर्दा समुदायमा कसैले राम्रो नजरले हेरे । कसैले नराम्रो नजरले पनि हेरे । तर मैले नेपाली कला संस्कृतिलाई अमेरिकामा पनि जीवित राख्नुपर्छ भन्ने उद्देश्यले कसैको कुरा नसुनी नृत्यलाई निरन्तरता दिइरहें । नाच्ने केटी त हो नि भनेर निरुत्साहित गर्नेहरु पनि धेरै थिए । तर म आफ्नो काममा निरन्तर लागिरहें ।’
विभिन्न कार्यक्रममा नृत्य प्रस्तुत गरेर उनले ५ सयभन्दा बढी सम्मानपत्र र प्रमाणपत्रहरु पाइसकेकी छिन् । कुनैबेला न्युयोर्कमा हुने नेपाली समुदायका कार्यक्रममा प्राय बशन्तीको नृत्य छुट्दैनथ्यो । कुरा काट्नेहरु जति थिए, त्योभन्दा धेरै माया गर्नेहरु थिए । नृत्य र कलाकारितामा आफ्नो शोखलाई बशन्तीले कहिलेपनि मर्न दिइनन् । आफू राई भएतापनि उनी साकेलामात्र नाचिनन् । साकेलाका साथै झ्याउरे, टप्पा, कौडा मात्र होइन मैथली र भोजपुरी नृत्य समेत उनले प्रस्तुत गरिन् । नेपाली मौलिक नृत्यहरु प्रस्तुत गर्दा मनभित्रैदेखि आनन्द आउने बताउने बशन्तीलाई सबैभन्दा बढी चाँही झ्याउने र टप्पामा नृत्य गर्दा आनन्द आउँछ ।
अमेरिकामा सन् १९९९ देखि राज कपुरसँग नृत्य सिकेर उनले नेपाली समुदायका सयौं कार्यक्रममा प्राय निशुल्क नृत्य प्रस्तुत गरिन् । तर पनि नेपाली कला संस्कृतिको प्रवद्र्धनमा सकृय रहँदा नेपाली समाजबाट के पाएँ भन्ने आफूले कहिले पनि नसोचेको उनले बताइन् । उनि भन्छिन् – ‘मलाई नेपाली समाजको माया काफी छ ।’
अमेरिकाको ब्रोडवे शोदेखि राष्ट्रसंघका कार्यक्रमसम्म उनले नृत्य र नेपाली कला संस्कृति प्रस्तुत गरिन् । उनलाई झण्डै २० बर्ष अगाडि वासिंटन डिसीमा रहेको स्मीथसोनियन म्युजियममा गरेको प्रस्तुती र अमेरिकाको वेष्ट ब्रोडवे थियटरमा गरेको टप्पा उनलाई विशेष लाग्छ । सेरिओना हेनरी र राज कपुरको आयोजनामा उक्त थियटरमा कार्यक्रम भएको थियो, जसमा नेपालीबाहेकका अन्य दर्शकहरुको बाक्लो उपस्थीति थियो ।
बच्चा हुँदा चलचित्रमा शिव श्रेष्ठ, राजेश हमाल, भुवन केसी देख्दा बेलादेखि नै राजेश हमालसँग नाच्न मन लागेको थियो बशन्तीलाई । तर पछि अमेरिकामा आएपछि त्यो रहर पुरा भयो । धेरै कलाकारहरुसँग स्टेज शेयर गरेपनि न्युयोर्कमा स्टेज शोमा राजेश हमालसँग नाचेको क्षण पनि उनलाई विशेष लाग्छ । उनी सम्झिन्छन् – ‘राजेश हमालसँग नाच्ने भनेपछि निकै उत्साहित थिएँ । तर सुरुमा डर लागेको थियो । तर जब उहाँ नजिक आउनुभयो, उहाँको बोल्ने शैली र उहाँले गरेको व्यवहारबाट निकै प्रभावित भएँ । त्यसपछि हामी मेरे कोरियोग्राफीमा रातो टिका निधारमा टलक्क टल्कियो भन्ने गीतमा नाच्यौं ।’
पछि त उनले लाने भए लैजाउ कान्छा बोलको गीत आफैले गाएर राजेश हमालसँग म्युजिक भिडियो समेत खेलिन् । जगदीश समालसँग उनले गाएको यो गीतमा शब्द र संगीत बिमल डाँगीको रहेको थियो । यो गीत न्युयोर्कमा नै रेकर्ड र छायांकन गरिएको थियो । बशन्तीले बरको छाया, सररर हावा चल्यो लगायतका झण्डै आधा दर्जन भन्दा बढी गीतमा नृत्य र अभिनय गरिन् । उनले आधा दर्जनभन्दा धेरै गीतमा स्वर समेत दिइन् । त्यसमध्ये सोइ ढोले सोइ नामको गीत उनको सबैभन्दा चलेको गीत हो । उनले राजेश पायल राईसँग गाएको यो गीतमा विल्शन बिक्रम राई लगायतले नृत्य र अभिनय गरेका थिए भने यो गीत युट्युबमा ४५ लाखभन्दा धेरैपटक हेरिएको छ । यसमा पनि शब्द र संगीत बिमल डाँगीको छ ।
‘अमेरिकामा २० औं बर्ष नाच्दा खासै हिट भइएन । तर सोइ ढोले सोइले मलाई अमेरिकाको नेपाली समुदायबाहेक आम दशर्कमाझ चिनाउन सफल भयो । नेपाली कला संस्कृति चिनाउने यो गीतको चर्चाले निकै सन्तुष्टी अनुभव भयो । यो गीतले मलाई एकहदसम्म अमेरिकाको नेपाली समुदायबाहेकका आम दर्शकमाझ चिनाउन समेत मद्दत गर्यो । यो गीतले झन् उत्साह बढायो ।’ – बशन्ती भन्छिन् ।
नृत्यमा सकृय एकाएक गीत गाउनतिर किन लाग्नुभयो ? बशन्ती भन्छिन् – ‘मैले आफ्नै शौख पूरा गर्न र गीत संगीतप्रतिको रुचीका कारण गीत गाउन पनि थालें । म एकदम खतरा गायक भनेर अगाडि आएकी पनि होइन । गायनमा मेरो कोही गुरु पनि छैन । गायनमा सिकाउने कोही गुरु पनि उपलब्ध नभएका कारण आफूले आफैलाई सिकाएँ । तर भविश्यमा गुरुबाट सिकेर रियाज गर्दै गायन यात्रामा अझ राम्रोसँग अगाडि बढ्ने इच्छा छ ।’
उनले गाएको पछिल्लो गीत ‘बेबी बशन्ती’ हो । यो गीतमा उनले कलाकार आकाश श्रेष्ठसँग नृत्य र अभिनय गरेकी छिन् । जसमा सुरविर पण्डित, उमेश राई लगायतको पनि अभिनय छ । गीतमा फ्युजनको अभ्यास गर्नका लागि यो गीत ल्याएको उनको भनाई छ । निकट भविश्यमा नयाँ गीत ल्याउने योजनामा समेत छिन् बशन्ती । उक्त गीत अमेरिकामा नै छायांकन गरिने उनले बताइन् ।
अहिलेको अवस्थामा अमेरिकामा नेपाली कलाकारितामा मात्र लागेर नेपाली कलाकारहरुलाई जीवनयापन गर्न सम्भव नभएपनि अमेरिकामा आउने नेपाली कलाकारहरुले आफ्नो कलालाई निरन्तरता दिने काम भने छाड्न नहुने बशन्तीको भनाई छ । अरु कामहरु गरेपनि अमेरिकामा नेपाली कलाकारहरुले कला क्षेत्रलाई पनि साथसाथै लैजानुपर्ने उनको भनाई छ । उनी भन्छिन् – ‘म पनि त अरु काम गर्छु । तर नृत्य र गायनलाई छाडेकी त छैन नि ।’
अमेरिकामा आफूहरु नेपाली कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा निरन्तर लागेपनि अमेरिकामा रहेको नेपाली समुदाय भने कलाकारको संरक्षणतिर नलागेको उनको गुनासो छ । अमेरिकामा रहेको नेपाली समाज विगतको तुलनामा अहिले निकै विभाजित भएको उनको अनुभव छ । उनी भन्छिन्- ‘कुनै बेला अमेरिकामा एउटै नेपाली समुदाय मात्र थियो । सबै नेपालीहरु एउटै छातामा थिए । कार्यक्रम गर्दा हल प्याक हुन्थे । अहिले निकै विभाजित भएको छ । विभिन्न जातजाती र क्षेत्रमा विभाजित भएको छ अमेरिकाको नेपाली समुदाय ।’
यद्यपी नेपाली कला संस्कृति गैर नेपालीमाझ पुराउन पनि योगदान सुरु भएकोमा भने उनी खुशी छिन् । उनी भन्छिन्- ‘पहिले नेपालीहरुमाझ मात्र नेपाली कला संस्कृति देखाइन्थ्यो । त्यसले अमेरिकामा रहेका नेपालीलाई आफ्नो कला संस्कृति बिर्सन दिदैनथ्यो । अमेरिकामा नेपालीका नयाँ पुस्तालाई नेपाली कला संस्कृति चिनाउथ्यो । तर अहिले त्योभन्दा एक कदम अगाडि बढेर नेपाली बाहेकका समुदायमाझ पनि नेपाली कला संस्कृति चिनाउन विभिन्न कार्यक्रमहरु हुने गरेका छन् । स्थानीय राजनीतिज्ञहरुले पनि नेपाली कला, संस्कृतिहरु देखिरहनुभएको छ । विभिन्न प्रकारका नेपाली परेड, नेपाली मेला र महोत्सवमार्फत नेपाली बाहेकले पनि नेपाली कलासंस्कृति थाहा पाउन थालेका छन् ।’
नेपाली कला संस्कृतिलाई नेपाली समुदायबाहेकका बाहिरका समुदायमा चिनाउन नेपाली समाजले पहल गर्नुपर्ने उनको भनाई छ । नेपाली डाइभर्स कल्चरलाई चिनाउन, नेपाली पनलाई चिनाउन नेपाली सामुदायिक संस्थाहरु र नेपाली समाजले नै पहल गर्नुपर्ने उनले बताइन् । उनी भन्छिन् – ‘सधै नेपाली समुदायभित्र मात्र कार्यक्रम गरेर हुँदैन, नेपाली समुदाय बाहिर पनि नेपाली पन देखाउन सक्नुपर्छ ।’
भविश्यमा फाउण्डेशन स्थापना गर्ने र अमेरिकामा रहेको नयाँ पुस्तालाई नेपाली कला संस्कृति सिकाउने इच्छा छ वशन्तीको । उनी भन्छिन् – ‘नृत्यबाट नेपाली कला संस्कृति प्रवद्र्धन हुनेमात्र होइन, आफ्नो स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ । नृत्य त व्यायाम पनि हो । यसले मान्छेलाई शारीरिक र मानसिक रुपमा पनि सकृय बनाउँछ । पहिले जस्तो नृत्यलाई नेगेटिभ हिसावले हेर्ने जमाना पनि छैन । अहिले नृत्यप्रति स्वास्थ्यका दृष्टिकोणले समेत सकारात्मक धारणा बनेको छ ।’
नेपाली अमेरिका कलाकार संघमा बरिष्ठ उपाध्यक्ष रहेकी बशन्ती उक्त संस्थाकी संस्थापकमध्येकी एक पनि हुन् । उनी हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टरकी बरिष्ठ उपाध्यक्ष समेत छिन् । युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकामा पनि उनी उपाध्यक्ष हुन् । उनले नृत्यबापत कैयन सम्मान र अवार्ड समेत पाएकी छिन् । उनले न्युयोर्कको ब्रुकलिन बोरो प्रेसिडेण्टबाट कोभिड हिरो सम्मान पाएकी थिइन् भने उनको सोइ ढोले सोइ गीतले नेपालमा राष्ट्रिय अवार्ड पनि पाएको थियो ।
उनी भनिन्छ – ‘सबैले कलाको सम्मान गर्न सिक्नुपर्छ । कलाकारले स्टेजमा प्रस्तुती दिंदा अन्य दर्शकहरु जतिसुकै विशिष्ट भएतापनि तल बसेर हेर्ने प्रचलन कलाप्रतिको सम्मान हो । कलाकारले पनि यो गरिमालाई कायम राख्न सक्नुपर्छ ।’