अमेरिकामा अस्थायी गैर कृषि कामदारका लागि झण्डै ६५ हजार भिसा थप, आजदेखि आवेदन


प्रकाशित मिति : मंसिर २६, २०७९ सोमबार

man using welding machine

अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आर्थिक बर्ष २०२३ का लागि थप झण्डै ६५ हजार अस्थायी गैर कृषि कामदारका भिसा उपलब्ध गराउने अस्थायी अन्तिम नियम प्रकाशित गरेको  छ । यी भिसाहरु सामान्यतया प्रत्येक आर्थिक वर्षमा उपलब्ध हुने ६६ हजार भिसाबाहेक थप गरिएका भिसाहरु हुन् ।

रोजगारदाताहरुले थप ६४ हजार ७ सय १६ एच टु बी भिसाका लागि आवेदन दिन सक्नेछन् । थप अस्थायी कामदारहरूको लागि रोजगारदाताहरूको आवश्यकतालाई सम्बोधन गर्न यी भिसाहरुका लागि आगामी सेप्टेम्बर १५ अगाडिका लागि उपलब्ध हुनेछन् ।

थप गरिएकामध्ये २० हजारभिसा हाइटी र मध्य अमेरिकी देश होन्डुरस, ग्वाटेमाला र एल साल्भाडोरका कामदारहरूका लागि छुट्याइएको छ । १८ हजार २ सय १६ भिसा आगामी मार्च ३१ वा सोभन्दा अगाडि काम थाल्नेहरुका लागि उपलब्ध हुनेछन् । यी भिसाहरु कुनै आर्थिक बर्षमा यस्तो भिसा लिएका वा स्वीकृत भएका र अहिले काममा पुन फर्कनेहरुका लागि उपलब्ध हुनेछन् भने डिसेम्बर १२ देखि आवेदन दिन सकिनेछ ।

१६ हजार ५ सय भिसाहरु अप्रिल १ देखि मे १४ भित्र बाम थाल्नेहरुका लागि उपलब्ध हुनेछन् । त्यस्तै १० हजार भिसाहरु मे १५ देखि सेप्टेम्बर ३० भित्र काम थाल्नेहरुका लागि उपलब्ध हुनेछन् ।

रोजगारदाताहरुले पहिले नै अमेरिकामा एच टु बी भिसामा रहेकाहरुलाई नयाँ आवेदन स्वीकृत हुँदासम्म प्रतिक्षा नगरी तुरुन्तै काममा लगाउन सक्नेछन् ।

रोजगार दाताले अस्थायी गैर कृषि कामदार भिसामा कसैलाई राख्नका लागि उनीहरुको व्यवसायमा अतिरिक्त एच टु बी कामदारहरु नराखेको खण्डमा नोक्सान पुग्ने देखाउनुपर्नेछ ।

यसपटक थपिएका भिसाहरु आर्थिक बर्ष २०२३ का लागिमात्र लागु हुनेछन् भने यसले आगामी आर्थिक बर्षका भिसाहरुमा कटौती वा नकारात्मक असर गर्नेछैन ।

यो भिसामा कामदार ल्याउन चाहने रोजगारदाताहरुले तोकिएको कामका लागि अमेरिकामा कामदारहरु नपाएको, अमेरिकामा हुने कामदारहरु काम गर्न इच्छुक नभएको वा योग्य नभएको प्रमाणित गर्नुपर्छ । यो भिसाका लागि रोजगारदाताले आई १२९ आवेदनका साथमा लेबर सर्टिफिकेशन समेत पेश गर्नुपर्छ । यो भिसाका लागि कामदार आफैले आवेदन दिन मिल्दैन ।

अस्थायी गैर कृषि कामदारहरु अमेरिका पठाउनका लागि ८४ देशहरु योग्य छन् ।  सुचीमा नभएका देश बाहेक अन्य देशका आवेदकका सन्दर्भमा अमेरिकाको राष्ट्रिय रुचीमा परेको खण्डमा युएससीआईएसले तजविज अधिकारका आधारमा आवेदन स्वीकृत गर्न सक्नेछ ।

नेपाल सुचीमा रहेको छैन । तर विभिन्न अवस्थाको मूल्यांकन गरेर युएससीआईएसले नेपाली आवेदकको समेत अस्थायी कृषि तथा गैर कृषि भिसा आवेदन स्वीकार गर्न सक्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com