राष्ट्रपति कार्यालय पुग्यो रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश
प्रकाशित मिति : मंसिर २६, २०७९ सोमबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2022/12/Sheetal-Niwas-1-scaled-1.jpg?fit=2560%2C1167&ssl=1)
रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ । राष्ट्रपति कार्यालयका संचार विज्ञ टीका ढकालले अध्यादेश आइपुगेको बताए ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको हो । उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाइएको हो ।
सत्तास्वार्थका लागि कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याइएको भन्दै सरकारको विरोध भइरहेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर अध्यादेश जारी गरिएको बताएका छन् ।
मन्त्रिपरिषद वैठकका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले उक्तकुरा बताएका हुन् ।