न्युयोर्क प्रहरीको भण्डारणमा आगो लाग्दा दशकौंदेखि संकलन गरिएका डीएनए लगायतका प्रमाण नष्ट


प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार

मंगलबार न्युयोर्कको ब्रुकलिनमा न्युयोर्क प्रहरीको प्रमाण राख्ने भण्डारमा आगलागी भएको छ । आगलागीमा आठ जना घाइते भएका छन् । आगलागीबाट दशकौं देखिका डीएनए रेकर्डहरू सहित आपराधिक प्रमाणहरू नष्ट हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

मंगलबार विहान साढे १० बजे एरी बेसिन अटो पाउन्डमा आगलागी रिपोर्ट गरिएको थियो । भण्डारणमा प्रहरीले जफत गरिएका सवारी साधनहरू, साथै अपराध स्थलहरूमा सङ्कलन गरिएका प्रमाणहरू राख्दै आएका थिए ।

विशेष गरी त्यहाँ जैविक प्रमाणहरू भण्डारण गरिएको न्युयोर्क प्रहरीका चिफ अफ डिपार्टमेन्ट जेफ म्याड्रेले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । केही ई बाइकहरू, मोटर वाहनहरू, र केही ऐतिहासिक सवारीहरू पनि भण्डारण गरिएको उनले बताए ।

फायर फाइटरहरूले सुरुमा आगोलाई नियन्त्रण लिन खोज्दा भवनको एक भाग भत्किएपछि उनीहरू पछि हट्न बाध्य भएका थिए । तीन फायर फाइटरहरू, तीन आपतकालिन मेडिकल सेवा प्रदायकहरु, र दुई नागरिकहरू आगोमा सामान्य घाइते भएका छन् ।

यो आगो निभाउन सम्भवतः केहि दिन सम्म लाग्ने बताइएको छ । पूर्ण रूपमा निभाउन र भित्र पस्न केही दिन लाग्ने भएकाले क्षतिको यकिन विवरण आउन बाँकी छ । गोदाम भित्र सीमित पहुँच बिन्दुहरू र ठूलो मात्रामा प्रज्वलनशील सामग्रीहरु रहेका छन् ।

भवन भित्रका अधिकांश सामग्री आगोले क्षतिग्रस्त भएको अनुमान गरिएको छ । १४० भन्दा बढी फायर फाइटरहरूले आगो नियन्त्रणमा लिएका थिए । मंगलबार दिउँसोसम्म तीनवटा डुङ्गाहरूले गोदाममा पानी हालेका थिए । तस्बिर र भिडियोहरूमा गोदाममा कालो धुवाँको मुस्लो उठेको देखिएको छ ।

अधिकारीहरूले न्यूयोर्कवासीहरूलाई धुवाँ र ट्राफिकको चेतावनी दिँदै क्षेत्रबाट टाढा जान आग्रह गरेका छन् ।

भण्डारण सुविधा पहिले हरिकेन स्यान्डीको समयमा बाढीको पानीले क्षतिग्रस्त भएको थियो । जसले गर्दा पुलिसलाई आपराधिक परीक्षणको लागि आवश्यक डीएनए प्रमाणहरू पहुँच गर्नबाट रोकेको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com