अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुड अमेरिकाका लागि राजदूत नियुक्त
प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार
अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडलाई अमेरिकाका लागि अष्ट्रेलियाको आगामी राजदूत नियुक्त गरिएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले मंगलबार नियुक्तिको घोषणा गरेका हुन् ।
रुडले सन् २०२३ को सुरुमा कार्यकाल सुरु गर्ने जनाइएको छ । रुडको यो भूमिकामा बेजोड अनुभव रहेको प्रधानमन्त्री अल्बानीजले बताएका छन् ।
एक विज्ञप्तिमा रुडले आफू अमेरिकाका लागि राजदूतका लागि छनोट हुन पाउँदा धेरै सम्मानित अनुभव गरेको बताएका छन् । उनले अष्ट्रेलियाले दशकयताकै सबैभन्दा चुनौतीपूर्ण सुरक्षा र कूटनीतिक वातावरणको सामना गरिरहेको बताएका छन् ।
रुडले सन् २००७ देखि २०१० सम्म अष्ट्रेलियामा प्रधानमन्त्रीको रूपमा सेवा गरे । फेरि २०१३ मा मा उनको मध्य वामपन्थी लेबर पार्टीले आम चुनाव हार्नुअगाडि छोटो समयको लागि उनी प्रधानमन्त्री भएका थिए । उनले सन् २०१० देखि २०१२ सम्म परराष्ट्रमन्त्रीको रूपमा काम गरेका थिए।
अष्ट्रेलियाको फरक खालको राजनीतिक शैली छ । रुडलाई सन् २०१० मा जुलिया गिलार्डले अचानक प्रधानमन्त्रीको रूपमा प्रतिस्थापित गरेकी छिन् । जसलाई २०१३ मा अचानक रुडले प्रतिस्थापन गरेका थिए ।
रुड अष्ट्रेलियाको राजनीतिमा प्रायः विभाजित व्यक्तित्वका रुपमा रहदै आएका छन् । प्रधानमनत्री अल्बानीजले रुडको नियुक्ती उत्कृष्ट भएको र पूर्वप्रधानमन्त्रीको छनोटलाई अमेरिकाले धेरै महत्त्वपूर्ण ठानेको बताएका छन् ।
मन्डारिन बोल्ने रुड हाल न्युयोर्कस्थित एशिया सोसाइटीका अध्यक्ष र प्रमुख कार्यकारीको रूपमा सेवा गरिरहेका छन्। उनी गत दशकको अधिकांश समय अमेरिकामा बस्दै आएका छन् । उनले सुरुमा हार्वर्ड केनेडी स्कूलमा संयुक्त राज्य अमेरिका चीन सम्बन्धको अनुसन्धान गरे । त्यसपछि उनी आठ वर्ष एशिया सोसाइटीमा विभिन्न भूमिकामा रहे।
प्रधानमन्त्री अल्बानीजले अर्को वर्ष कुनै बिन्दुमा अमेरिका भ्रमण गर्ने योजना बनाएका छन् । राष्ट्रपति जो बाइडेनले पनि अष्ट्रेलियाको भ्रमण गर्ने योजना बनाएका छन् ।