हिजोदेखि न्युयोर्क सिटीमा ट्याक्सीको भाडाबृद्धि, ५० डलर लाग्ने ठाउँमा अब ७० डलर
प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार
सोमबारदेखि न्युयोर्क सिटीमा ट्याक्सीको भाडा बढाइएको छ । गत महिना ट्याक्सी र लिमोसिन आयोगले २३ प्रतिशत ले मिटर भाडा बढाउन मतदान गरेको थियो । १० वर्षमा पहिलो पटक पहेंलो ट्याक्सीको भाडा दर बढाइएको हो ।
पहेलो ट्याक्सीको शुरुवात लागत २ डलर ५० सेन्टबाट ५० सेन्ट बढेर ३ डलर बनाइएको छ भने मिटरको एकाइ ५० सेन्टबाट बढाएर ७० सेन्ट बनाइएको छ । रातीको समय राती ८ बजेदेखि विहान ६ बजेसम्म सर्चाज मिटरको एकाईमा १ डलरसम्म हुनेछ । दिउसो ४ बजेदेखि ८ बजेसम्मको व्यस्त समयमा सरचार्ज साढे २ डलरसम्म हुनेछ ।
म्यानहटनबाट जोन अफ केनेडी विमानस्थलसम्म जानका लागि फ्लाट रेट ७० डलर बनाइएको छ । म्यानहट्टन देखि जोन अफ केनेडी एयरपोर्ट सम्मको यात्रा औषत ५२ डलरमा हुदै आएको थियो । नेवार्क विमानस्थल जानका लागि यात्रुले २० डलर थप शुल्क तिर्नुपर्नेछ भने लागुर्आडिया एयरपोर्ट जानका लागि ५ डलर अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।
नयाँ भाडादर अनुशार उबर लिफ्ट जस्ता एप्लीकेशनमार्फत यात्रा गर्दा साढे ७ माइलको यात्राका लागि न्यूनतम भाडामा साढे २ डलर बृद्धि भएको छ । समग्रमा यात्रुहरुका लागि झण्डै २३ प्रतिशत भाडाबृद्धि भएको छ ।