अमेरिकामा एसाइलमका लागि अयोग्य बनाउने एउटा प्रमुख नियम अझै २ बर्ष कार्यान्वयन नहुने
प्रकाशित मिति : पुस १३, २०७९ बुधबार
अमेरिकामा एसाइलममा कडाई गर्ने एउटा प्रमुख नियम अझै २ बर्ष कार्यान्वयन नहुने भएको छ । सरुवा रोग लगायतका कारण अमेरिकी सुरक्षामा खतरा हुनेलाई एसाइलम नदिने नियम कार्यान्वयनमा ढिलाई गरिने भएको हो ।
ट्रम्प प्रशासनका पालामा ल्याइएको यो नियम अब २०२४ को डिसेम्बर ३१ अगाडि लागु नहुनेगरी युएससीआईएस र एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले फेडरल रजिष्टरमा सुचना प्रकाशित गरेका छन् । सन् २०२० को डिसेम्बर २३ मा यसबारेको अन्तिम नियम प्रकाशित गर्दै सन् २०२१ को जनवरी २२ बाट नियम लागु गर्ने तय भएको थियो ।
तर बाइडेन प्रशासनले यो नियम कार्यान्वयनमा सुरुमा ६० दिन ढिलो गर्ने सुचना प्रकाशित गरेको थियो । जस अनुशार सन् २०२१ को मार्च २२ सम्म नियम लागु नहुनेगरी ढिलाई गरिएको थियो । पछि सन् २०२१ को डिसेम्बर ३१ सम्म यो नियम लागु नहुने सुचना प्रकाशित गरियो ।
गतबर्ष अर्को सुचना प्रकाशित गरेर सन् २०२२ को डिसेम्बर ३१ सम्म यो नियम लागु नहुने गरी लम्बाइयो । यो अवधि समाप्त हुन ३ दिन बाँकी रहँदा आज डिसेम्बर २८ मा अर्को सुचना प्रकाशित गरेर यो नियम अझ २ बर्ष लागु नहुने जनाइएको हो । यो नियम कार्यान्वयनका लागि सन् २०२४ को डिसेम्बर ३१ पनि अझै ढिलो गर्न आवश्यक भए नभएकोबारे सार्वजनिक प्रतिकृया समेत मागिएको छ ।
कुनै व्यक्तिलाई एसाइलम स्वीकृत गर्नु अगाडि वा देशनिकाला रोक्नु अगाडि अमेरिकाको सुरक्षा को लागी खतरा भए नभएको जाँच गर्ने मापदण्डमा केही आपतकालीन सार्वजनिक स्वास्थ्य सरोकारहरू र केही अन्य परिवर्तनहरू समावेश गर्न यो नियम ल्याइएको थियो । यो नियमले अन्य चीजहरूको बीचमा एसाइलम आवेदकहरु शारीरिक रूपमा संक्रामक रोग व्याप्त वा महामारी भएको मुलुकमा भएमा उनीहरुलाई शरणको लागि अयोग्य बनाउँछ ।
ट्रम्पका पालामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसले महामारी वा सुरुवा रोग व्यप्त भएका देशबाट आउने एसाइलम आवेदकले अमेरिकामा जनस्वास्थ्यमा खतरा पैदा गर्ने निष्कर्ष निकालेका थिए । त्यसैले यो मापदण्डलाई अमेरिकाका लागि सुरक्षा खतराको मापदण्ड अन्तरगत राखिएको थियो ।