ब्राजिलमा पूर्व राष्ट्रपतिका समर्थकहरूबाट राष्ट्रिय संसद, राष्ट्रपति भवन, अदालतमा आक्रमण


प्रकाशित मिति : पुस २४, २०७९ आईतबार

ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार ब्राजिलियाको राष्ट्रिय संसद भवनमा आक्रमण गरेका छन्। पूर्वराष्ट्रपतिका सयौं समर्थकले राष्ट्रिय संसद भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आक्रमण गरेका हुन् । उनका समर्थकहरूले वामपन्थी लुलाको चुनावी जितलाई स्वीकार गर्न अस्वीकार गरेका छन्।

बोल्सोनारो समर्थक प्रदर्शनकारीहरूले भवनमा आक्रमण गरेपछि उत्पन्न केही घण्टाको अराजकता पछि ब्राजिलको प्रहरीले संसद भवनमा नियन्त्रण कायम गरेको छ । प्रहरीले सर्वोच्च अदालतको मुख्यालय र राष्ट्रपति भवनबाट दंगा गर्नेहरूलाई हटाउने प्रयास गरेको छ ।

राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई सत्ताच्युत गर्न सैन्य हस्तक्षेपको लागि आह्वान गर्दै सयौं मानिसहरूले भवनमा आक्रमण गरेका थिए । लुलाले एक साता अघि पदभार ग्रहण गरेका थिए ।

पूर्व राष्ट्रपतिका समर्थकहरूले चुनावको नतिजा स्वीकार गरेका छैनन् भने धाधली भएको दावी गर्दै आएका छन् । उनका कट्टर समर्थकहरूले पूर्व राष्ट्रपतिलाई शक्तिमा फर्काउनका लागि खुल्ला रूपमा सैन्य विद्रोहको आह्वान गरेका छन् ।

सामाजिक सञ्जालमा शेयर गरिएका फुटेजमा सयौं मानिसहरू राष्ट्रिय संसद भवनमा प्रवेश गरेको देखाइएको छ। प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

प्रदर्शनकारीहरु प्रहरी अवरोध पार गर्दैै सिनेट भवनको छतमा पुगेका थिए । पहेँलो र हरियो टी शर्ट र ब्राजिलको झण्डासहितका प्रदर्शनकारीहरुले भवनको सुरक्षा गरिरहेका केही प्रहरीका गाडीहरूमा आक्रमण गरेका थिए । तिनीहरूले सुरक्षा अवरोधहरू पनि नष्ट गरेका थिए ।

लुलाले संसदमा भएको आक्रमणको निन्दा गरेका छन् र जिम्मेवारहरूलाई जवाफदेही बनाउने वाचा गरेका छन्। बाढी प्रभावित क्षेत्रको भ्रमणका क्रममा दक्षिणपूर्वी शहर अराराक्वाराबाट लुलाले तोडफोड गर्नेहरू को हुन् भनेर पत्ता लगाउने र उनीहरूलाई कानूनको पूर्ण शक्तिका साथ कारबाही गरिने चेतावनी दिएका छन् ।

विश्वका नेताहरुले पनि घटनाको निन्दा गरेका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आइतवार ब्राजिलमा देखा परेका दृश्यहरूको निन्दा गरेका छन् । उनले स्थितिलाई नजिकबाट हेरिएको बताएका छन् ।

अमेरिकाले ब्राजिलमा लोकतन्त्रलाई कमजोर पार्ने कुनै पनि प्रयासको निन्दा गर्ने बताउदै राष्ट्रपति बिडेनले स्थितिलाई नजिकबाट नियालिरहेको तथा ब्राजिलको लोकतान्त्रिक संस्थाहरूको लागि अमेरिकाको समर्थन अटल रहेको सुलिभानले ट्वीट गरे।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com