उडानका बेला यात्रुले सेलफोन चलाउँदा विमानमा कस्तो असर पर्छ ?
प्रकाशित मिति : माघ २, २०७९ सोमबार
आजकल हामी हाम्रो फोन लगभग सबै ठाउँमा प्रयोग गर्न सक्छौं। आधुनिक विमानहरूमा पनि वाइफाइ रहेको हुन्छ । तर उडानको समयमा हामीले हाम्रो फोनलाई फ्लाइट मोडमा किन राख्नुपर्छ ? यो तपाईंको उपकरणले पठाउने सिग्नलसँग सम्बन्धित छ। उडानको समयमा तपाईं टेलिफोन टावरहरूको पहुँचबाट टाढा जाने भएकाले तपाईंको फोनले निरन्तर टावरसँग सम्पर्क गर्न खोज्छ।
टावर नजिक छ भने नरम खालको सिग्नल पठाउँछ । तर तपाईंको फोनले टावर फेला पार्न नसक्दा टावरहरूको खोजीमा बलियो विद्युतीय सिग्नल पठाउँछ। यो संकेतको कारण पाइलटले आफ्नो हेडफोनमा कष्टप्रद आवाज सुन्न सक्छन् ।
पाइलटहरूले दाबी गर्छन् कि सक्रिय सेल फोनहरूले उनीहरूको नेभिगेसन उपकरणहरूमा हस्तक्षेप गर्न सक्छ। इलेक्ट्रोनिक उपकरणबाट पठाइएका रेडियो सिग्नलहरूले विमानको एक वा बढी महत्त्वपूर्ण प्रणालीहरू जस्तै विमानका उपकरणहरूलाई एकअर्कासँग सञ्चार गर्न मद्दत गर्ने सेन्सरहरू, नेभिगेसन उपकरणहरू, टक्करबाट बच्ने उपकरणहरू र एभियोनिक्स को अन्य रूपहरुमा हस्तक्षेप गर्न सक्ने सम्भावना हुन्छ ।
कतिपय सेलफोनहरूले यो सङ्केतलाई निश्चित विमान उपकरणहरू जस्तै फ्रिक्वेन्सीमा पठाउँछन्, जसले विमानमा प्रभाव पार्न सक्छ।
अमेरिका लगायतका केही देशमा फ्लाइट मोडको प्रयोग अनिवार्य पनि छ र यदि तपाईंले त्यसो गर्नुभएन भने तपाईंलाई जरिवाना समेत हुनसक्छ ।
संवेदनशील इलेक्ट्रोनिक उपकरणहरू सहितका आधुनिक विमानहरु रेडियो तरंगहरूबाट राम्रोसँग सुरक्षित छन्। यद्यपि मोबाइल फोन प्रसारणबाट इलेक्ट्रोनिक हस्तक्षेपका कारण सन् २००० मा स्विट्जरल्याण्डमा र सन् २००३ मा न्यूजील्याण्डमा दुर्घटना भएको थियो । यो धेरै सम्भव छ कि उडानको समयमा उपकरण प्रसारणले उडान चालक दललाई कष्ट दिनेछ। किनभने पाइलटहरू, नेभिगेटरहरू, र रेडियो अपरेटरहरूलाई तिनीहरूका उपकरणहरू सही रूपमा सिग्नल पढ्नको लागि कडा परिश्रम गर्न बाध्य पार्नसक्छ ।
सन् २०१४ मा युरोपेली उड्डयन सुरक्षा एजेन्सीले इलेक्ट्रोनिक उपकरणहरू सुरक्षा जोखिम नभएको घोषणा गरेको थियो । तर अन्य देशका एजेन्सीहरू जस्तै अमेरिकाको संघीय उड्डयन प्रशासन र चीनको नागरिक उड्डयन प्रशासनले सीमाहरू राखेका छन्। चीनमा इलेक्ट्रोनिक उपकरणहरू उडान अवधिको लागि बन्द राख्नु पर्छ, अन्यथा प्रयोगकर्ताले जेलमा छोटो बसाइ वा हजारौं डलर जरिवानाको सम्भावना सामना गर्नुपर्नेछ।
फोन फ्लाइट मोडमा राख्नु तपाईंको आफ्नै सुरक्षाको लागि हो। यदि विमानमा केहि भएमा तपाइँ आफ्नो मोबाइल फोनमा ध्यान भएका कारण
उचित कदम चाल्नबाट पछि पर्न सक्नुहुन्छ । विशेष गरी उडान र अवतरण को समयमा तपाईलाई जहिले पनि सबै यन्त्रहरू टाढा राख्न भनिन्छ, ताकि तपाईको वरिपरि के भइरहेको छ भन्ने कुरामा तपाईको पूर्ण ध्यान होस्।
केही अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले चयन गरिएका विमानहरूमा सेल फोन रिसीभरहरू स्थापना गरेका छन्। त्यसैले निश्चित उडानहरूमा यात्रुहरूले हावामा कल वा टेक्स्ट गर्न सक्छन्। विश्वमा तपाईं धेरै घरेलु उडानहरूमा पनि वाईफाईमा जडान गर्न सक्नुहुन्छ। तपाइ वेब सर्फ गर्न र सन्देशहरू पठाउन सक्नुहुन्छ। तर धेरैजसो एयरलाइन्सले यात्रुहरूलाई इन फ्लाइट वाईफाई मार्फत कल गर्नबाट रोक्छन्।
युरोपले उडानमा फोन कललाई अनुमति दिदै
युरोपेली आयोगले गत महिनाको अन्तमा एयरलाइन्सहरूलाई फोन कल र उच्च स्पीड डेटा सहित बोर्डमा यात्रुहरूलाई फाइभ जी जडान प्रदान गर्न अनुमति दिन निर्णय गरेपछि अब छिट्टै युरोपमा फोनकललाई अनुमति दिइनेछ । युरोपियन युनियनका सदस्य राष्ट्रहरूसँग विमानहरूको लागि फाइभ जी फ्रिक्वेन्सी ब्यान्डहरू छुट्याउन जुन २०२३ को अन्त्यसम्मको अवधि छ।
यस्तो प्रविधि तयार भएपछि मानिसहरूले उडिरहेको विमानबाट पनि फोन गर्न सक्छन् र मोबाइल डेटाको प्रयोग गर्न सक्छन् र गीत सङ्गीत सुन्न र भिडिओ पनि हेर्न सक्छन्।
फाइज जीले मानिसहरूका लागि नवीन सेवाहरू र युरोपेली कम्पनीहरूका लागि अवसरहरू वृद्धि गर्न सक्षम पार्ने आन्तरिक बजारका लागि युरोपियन युनियनका कमिश्नर थियरी ब्रेटनले घोषणा गरेका छन् ।
युरोपियन युनियको कदम अमेरिकाबाट तीव्र रूपमा फरक रहेको छ । अमेरिकामा एन्टेनाहरूले विमान उपकरणहरूमा हस्तक्षेप गर्ने डरले यस वर्षको सुरुमा उडान रद्द र डाइभर्सन निम्त्याएको थियो । सेलफोन सेवा प्रदायकहरुले अझै पनि एयरपोर्टहरू नजिक फाइफजी राख्न कम गरिरहेका छन् ।
युरोपको निर्णयले अमेरिकी आकाशमा हवाइजहाज मोडको अन्त्य हुने सम्भावना छैन। किनभने अमेरिकाका एयरलाइन्स र संघीय उड्डयन प्रशासन फाएभ जीले विमानहरूको रेडियो अल्टिमिटरमा हस्तक्षेप गर्नसक्नेबारे चिन्तित छन् ।
विमानहरूको रेडियो अल्टिमिटरले उचाइ मापन गर्दछ भने कम भिजिबिलिटीमा अवतरणका लागि महत्वपूर्ण छ। अल्टिमिटरहरू ४ दशमलव २ देखि ४ दशमलव ४ गिगाहर्ज को फ्रिक्वेन्सीहरूमा काम गर्छन् । र आधुनिक फिल्टरिङ टेक्नोलोजी बिनाका निश्चित अल्टिमिटरहरूमा नजिकैको फ्रिक्वेन्सीहरूमा सञ्चालन गर्ने यन्त्रहरूबाट हस्तक्षेप हुनसक्छ ।
अमेरिकामा फाइफजी नेटवर्कहरूले ३ दशमलव७ र ३ दशमलव ९८ गिगाहर्ज फ्रिक्वेन्सीहरूमा काम गर्छन् । जसले अल्टिमिटर फ्रिक्वेन्सीबाट तुलनात्मक रूपमा थोरै ग्याप स्पेसिङ प्रदान गर्दछ । यदि सिग्नललाई सिङ्कमा राख्नको लागि अल्टिमिटरहरूमा फिल्टर छैन भने यसले पृष्ठभूमिको आवाज टिप्न सक्छ ।
फोनसेवा प्रदायकहरु र उड्डयन उद्योगले कसरी फाइभ जी ले अल्टिमिटरहरूलाई असर गर्छ भन्ने बारे विवादास्पद अध्ययनहरू प्रस्तुत गरेका छन्। एयरलाइन्सहरूले अल्टिमिटरको संवेदनशीलता सुधार गर्न वा फाइभ जी बाट हस्तक्षेप कम गर्न मेटल शिल्डिङ थप्न आफ्ना विमानहरूलाई अपग्रेड गर्दै छन् ।
युरोपमा फाइफ जी भने ५ गिगाहर्ज र माथिको फ्रिक्वेन्सी ब्यान्डमा सञ्चालन हुन्छ । जसले अल्टिमिटर फ्रिक्वेन्सीबाट उल्लेखनीय रूपमा बढी ग्याप स्पेसिङ प्रदान गर्दछ र एयरलाइन्सहरूको चिन्ता कम गर्दछ। युरोपमा फाइफ जीले अल्टिमिटरमा हस्तक्षेपको सम्भावना धेरै कम भएको यूके फ्लाइट सेफ्टी कमिटीका सीईओ डाई व्हिटिङ्घमले बताएका छन् ।
यद्यपी युरोपमा पनि विमानभित्र सिग्नल खोज्ने सयौं यन्त्रहरूबाट उत्पादन हुने शक्तिका कारण चिन्ता भने छ । सेलफोनहरूले सबैभन्दा बलियो सिग्नल पठाउँछन् किनभने तिनीहरू एन्टेनासँग जडान हुन कोशिस गर्छन् ।
यस्तो शक्तिशाली संकेतले कस्तो प्रभाव पार्न सक्छ भन्नेबारे स्पष्ट छैन । तर यसले इलेक्ट्रोनिक विमान उपकरण र यात्रुहरूको स्वास्थ्यको लागि चिन्ता बढाउँछ । विमानलाई अझ बढी संवेदनशील अल्टिमिटर र आरएफ शिल्डिङको आवश्यकता पर्न सक्छ ।
हावामा भरपर्दो सेवा प्रदान गर्न, युरोपेली एयरलाइन्सहरूले पिकोसेलहरू प्रयोग गर्नेछन् । पिकोसेलले सानो सेलफोन टावरको रूपमा काम गर्दछ जसले सानो क्षेत्रमा कम पावर सिग्नल पठाउँदछ । यसले विमान र टावरहरू बीच हाम फाल्ने उपकरणहरूको आवश्यकतालाई कम गर्दछ ।
ती पिकोसेलहरू या त स्याटेलाइट नेटवर्कहरू वा वाइफाइ राउटर वा हटस्पट जस्ता जमिनमा नेटवर्कहरूमा जडान हुनेछन् । पिकोसेल टेक्नोलोजीमा भएको प्रगतिले प्राविधिक चिन्ताहरूलाई धेरै हदसम्म कम गर्छ जसले एयरबोर्न सेलफोन प्रयोगमा प्रतिबन्ध लगाएको थियो।
पिकोसेलका कारण तपाईंले हवाइजहाजहरूमा मोबाइल उपकरणहरू प्रयोग गर्न सक्नुहुनेछ किनभने तिनीहरूले स्थलीय एन्टेनाहरूमा हस्तक्षेप गर्दैनन् । तर विमानभित्र कुरा गर्न मिल्ने अवस्थाले यात्रुहरुको अनुभवमा नकारात्मक असर गर्नसक्नेबारे भने चिन्ता व्यक्त गरिएको छ ।