अमेरिकी राष्ट्रपति बाइडेनको घरमा एफबीआईको खोजी, थप गोप्य कागजात फेला
प्रकाशित मिति : माघ ७, २०७९ शनिबार
एफबीआईले शुक्रबार राष्ट्रपति जो बाइडेनको विल्मिंगटन, डेलावरमा रहेको घरमा खोजी गरेको छ । एफबीआईले थप गोप्य कागजातहरू फेला पारेको तथा हातले लेखिएका केही नोटहरू पनि कब्जामा लिएको राष्ट्रपतिका वकिलले शनिबार जानकारी दिएका छन् ।
राष्ट्रपतिले स्वेच्छाले एफबीआईलाई आफ्नो घरमा प्रवेश गर्न अनुमति दिएको जनाइएको छ । खोजी वारेन्टको अभावले खोजमा कुनै असर नगरेको जनाइएको छ ।
बाइडेन उपराष्ट्रपति हुँदाका बखतका गोप्य कागजातहरू घरमा भेट्टाएपछि बाइडेनलाई अप्ठ्यारो बनाएको थियो । त्यसबेलादेखि वकिलहरूले बाइडेनको घरको पुस्तकालयमा छ वटा गोप्य कागजातहरू भेट्टाएका थिए । तर एफबीआईले खोजेको भने यो पहिलोपटक हो ।
शुक्रबार एफबीआईको खोजी लगभग १३ घण्टासम्म चलेको थियो । त्यो क्रममा एफबीआईले छवटा गोप्य कागजातहरु लिएको जनाइएको छ । ती बागजातहरु बाइडेन सिनेटर र उपराष्ट्रपति हुँदाका सम्बन्धित हुन् ।
सहायक युएस एटोर्नी जोसेफ फिट्जप्याट्रिकले एफबीआईले विल्मिंगटनमा राष्ट्रपतिको निवासको गरेको खोजी योजनाबद्ध र सहमतिमा भएको बताएका छन् । खोजी गर्दा राष्ट्रपति र प्रथम महिला जिल बाइडेन घरमा थिएनन्। तिनीहरू डेलावेयरको रेहोबोथ बीचमा रहेको घरमा सप्ताहन्त बिताइरहेका थिए।
बिहीबार क्यालिफोर्नियाको यात्राको क्रममा पत्रकारहरूसँग कुरा गर्दै, बाइडेनले यो मामलामा पूर्ण रूपमा सहयोग गरिरहेको बताएका थिए । साथै यसलाई चाँडै समाधान गर्न तत्पर रहेको बताएका थिए । मुट्ठीभर कागजातहरू गलत ठाउँमा फाइल गरिएको भेटाएको र तिनीहरूलाई तुरुन्तै अभिलेख र न्याय विभागमा पठाएको बाइडेनले बताएका थिए ।
अन्य स्थानका संघीय अधिकारीहरूद्वारा थप खोजहरू सञ्चालन गर्न सकिन्छ कि भनेर हेर्न बाँकी छ। बाइडेनका व्यक्तिगत वकिलहरूले पहिले रेहोबोथ बीचको निवासको खोजी गरेका थिए । तर त्यहाँ कुनै आधिकारिक कागजात वा वर्गीकृत रेकर्डहरू फेला नपारेको बताएका थिए ।