लस एन्जलसमा १० जनाको ज्यान जानेगरी गोली चलाउने व्यक्ति ७२ बर्षीय हुउ क्यान ट्रान
प्रकाशित मिति : माघ ८, २०७९ आईतबार
क्यालिफोर्नियाको लस एन्जलस मोन्टेरी पार्कमा १० जनाको मृत्यु र १० जना घाइते हुनेगरी गोली प्रहार गर्ने संदिग्ध बन्दुकधारी मृत फेला परेको जनाइएको छ । गोली चलाउने व्यक्ति लगभग ५ फिट १० इन्च उचाई भएको र १५० पाउन्ड तौल भएको एसियाली पुरुष ७२ बर्षीय हुउ क्यान ट्रान भएको खुलेको छ ।
टोरेन्समा आफैले आफैलाई गोली हानेको अवस्थामा स्ट्रिप मल पार्किङ स्थलमा रहेको गाडीभित्र संदिग्ध बन्दुकधारीको शव भेटिएको हो । प्रहरी अधिकारीहरूले पक्राउ गर्नु अगाडि संदीग्धले आफैलाई गोली हानेको जनाइएको छ ।
स्थानीय समय अनुशार राति १० बजेर २२ मिनेटमा स्टार डान्स स्टुडियोमा गोली चलेको थियो । मोन्टेरी पार्कमा गोली चलेको करिब २० मिनेट पछि सशस्त्र संदिग्ध नजिकैको अल्हम्ब्राको लाइ लाइ बलरूम एण्ड स्टुडियोमा पसेपनि त्यहाँ व्यक्तिहरूले प्रतिकार गरेका थिए ।
नयाँ बर्ष मनाइरहेको स्थान नजिकै गोलीकाण्ड
शनिबार रातीको गोलीकाण्ड लुनार नयाँ बर्ष मनाइरहेको स्थान नजिकै भएको हो । मोन्टेरी पार्क लस एन्जलस काउन्टीको स्यान गेब्रियल उपत्यकाको सहर हो जुन लस एन्जलसको केन्द्रबाट लगभग सात माइल टाढा पर्छ ।
एफबीआईको लस एन्जलस फिल्ड अफिसले लस एन्जलस काउन्टी सेरिफको डिपार्टमेन्ट होमिसाइड ब्यूरो, मोन्टेरे पार्क पुलिस र अन्य एजेन्सीहरूसँग मिलेर गोलीकाण्डको अनुसन्धान गरिरहेको छ ।
गोलीबारी डाउनटाउन मोन्टेरी पार्कको वेस्ट गार्वे एभिन्यूको १०० ब्लकमा रहेको स्थानीय व्यापारमा भएको प्रहरीले बताएको थियो । पछि प्रहरीले व्यवसायलाई डान्स स्टुडियोको रूपमा पहिचान गरेको थियो। गोलीबारीमा संदिग्धको उद्देश्य स्पष्ट छैन।
मोन्टेरी पार्क समुदाय झण्डै ६६ प्रतिशत एसियाली समुदाय हो । हिस्पानिक समुदाय झण्डै २८ प्रतिशत रहेको यो क्षेत्रमा श्वेत १४ र बाँकी अन्य समुदाय छन् ।
गोलीकाण्डपछि आइतवार सम्म विस्तार हुने तय भएको नयाँबर्षको कार्यक्रम अब रद्द गरिएको छ । शनिबार भएकै कार्यक्रम आइतबारपनि हुने तय थियो ।