भूकम्पमा मृत्यु हुनेको संख्या ३३ हजार नाघ्दै गर्दा टर्कीमा निर्माण ठेकेदारहरु पक्राउ गर्न सुरु
प्रकाशित मिति : माघ २९, २०७९ आईतबार
भूकम्पमा मृत्यु हुनेको संख्या ३३ हजार नाघ्दै गर्दा टर्कीका न्याय अधिकारीहरूले १३० भन्दा बढी व्यक्तिहरूलाई लक्षित गरेका छन् । कथित रूपमा घटिया र गैरकानूनी निर्माण विधिहरूमा संलग्न भएको आरोपमा केहीलाई पक्राउ गरिएको छ । टर्कीका अधिकारीहरूले सोमबारको भूकम्पमा भत्किएका भवनहरू निर्माण गरेको सम्बन्धमा ११३ जनालाई पक्राउ पुर्जी जारी गरिएको बताएका छन्।
उद्धारकर्ताहरूले भूकम्पले भवन भत्किएको ६ दिनपछि एक गर्भवती महिला र दुई साना बच्चाहरू सहित थप जीवित व्यक्तिहरूलाई निकालेका छन् ।
दक्षिणपूर्वी टर्की र उत्तरी सिरियामा गएको सोमबारको भूकम्पबाट मृत्यु हुनेको संख्या आइतवार ३३,१७९ पुगेको छ । प्रकोपमा ९२ हजार ६ सय भन्दा बढी अन्य मानिसहरू घाइते भएका छन्।
एकातिर ढिलो उद्धार प्रयासहरूका कारण क्रोध पैदा गरेको छ भने अर्कोतर्फ भूकम्प प्रभावित क्षेत्रका मानिसहरूलाई भूकम्पबारे राम्रोसँग तयारी नगराएकोमा कसलाई दोष दिने भन्नेबारेमा विषय केन्द्रीत भएको छ । वर्षौंको गृहयुद्धबाट पीडित सिरियाको क्षेत्रपनि भूकम्प प्रभावित क्षेत्रमा रहेको छ ।
यद्यपि टर्कीसँग कागजमा हालको भूकम्प इन्जिनियरिङ मापदण्डहरू पूरा गर्ने निर्माण संहिताहरू छन् तर तिनीहरू विरलै लागू हुन्छन् । भूकम्पमा हजारौं भवनहरू भत्केको प्रकृति हेर्दा पनि त्यसको पुष्टी हुन्छ ।
टर्कीका न्याय मन्त्री बेकिर बोजडागले आइतवार भूकम्प सहन असफल भएका भवनहरूको निर्माणमा कथित जिम्मेवारीका लागि १३४ जनामाथि अनुसन्धान भइरहेको बताउका छन् । उनले तीन जनालाई मुद्दा चलाउनका लागि पक्राउ गरिएको, सात जनालाई हिरासतमा राखिएको र सात जनालाई देश छाड्न प्रतिबन्ध लगाइएको बताएका छन् ।
बोजडागले दोषी जो कोहीलाई पनि सजाय दिने वाचा गरेका छन् । अभियोजकहरूले निर्माणमा प्रयोग गरिएको सामग्रीको प्रमाणको लागि भवनहरूको नमूनाहरू संकलन गर्न थालेका छन्। भूकम्पहरू शक्तिशाली थिए, तर पीडितहरू, विशेषज्ञहरू र टर्कीभरका मानिसहरूले विनाश बढी हुनुमा खराब निर्माणलाई दोष दिइरहेका छन्।
इस्तानबुल एयरपोर्टका अधिकारीहरूले आइतवार अदियामानमा धेरै भवनहरू ध्वस्त हुनुमा जिम्मेवार ठहरिएका दुई ठेकेदारहरूलाई पक्राउ गरेका छन् । यी दुई ठेकेदारहरु भागेर जर्जिया जाँदै थिए ।
पक्राउ परेका ठेकेदारहरूमध्ये एक याभुज काराकुसले आफ्नो अन्तस्करण स्पष्ट भएको बताएका छन् । आफूले ४४ वटा भवन बनाएको र तीमध्ये चार वटा भत्किएको उनले बताए । आफूले सबै कुरा नियम अनुसार गरेको उनको दावी छ । भत्किएको भवनमा थप कोठा बनाउन पिलरहरु काटेको आशंकामा गाजियनटेप प्रान्तमा थप दुई जनालाई पक्राउ गरिएको छ।
एक दिन अघि टर्कीको न्याय मन्त्रालयले भूकम्प अपराध अनुसन्धान ब्यूरोको योजनाबद्ध स्थापनाको घोषणा गरेको थियो । ब्यूरोले निर्माण कार्यका लागि जिम्मेवार ठेकेदार र अन्य व्यक्तिहरूको पहिचान गर्ने, प्रमाण सङ्कलन गर्ने, वास्तुविद्, भूगर्भविद् र इन्जिनियरहरू लगायतका विशेषज्ञहरूलाई निर्देशन दिने र भवन निर्माण अनुमति र पेशा अनुमतिहरू जाँच गर्ने लक्ष्य राखेको छ ।
यी पक्राउले सार्वजनिक आक्रोश स्थानीय र राज्य अधिकारीहरूबाट ध्यान हटाउँदै निर्माणकर्ताहरू र ठेकेदारहरू तर्फ लक्षित गर्न मद्दत गर्न सक्छ । तर स्थानीय र राज्य अधिकारीहरूले स्पष्ट रूपमा कम मानक निर्माणहरूलाई अगाडि बढ्न अनुमति दिएका थिए । आर्थिक मन्दी र उच्च मुद्रास्फीतिको बोझले दबिएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको सरकारले मे महिनामा संसदीय र राष्ट्रपतिको चुनावको सामना गर्दैछ।