अमेरिकाले ४ बेलुन खसालेपछि आफ्नो आकाशमा अमेरिकाले १० बेलुन उडाएको चीनको आरोप


प्रकाशित मिति : फाल्गुन १, २०७९ सोमबार

अमेरिकी सेनाले अमेरिकाको आकाशमा उडिरहेका कारभन्दा ठूला ४ बेलुन खसालेपछि आफ्नो आकाशमा अमेरिकाले १० वटा जासुसी बेलुन उडाएको चीनले आरोप लगाएको छ । अमेरिकाले बेइजिङको अनुमति बिना जनवरी २०२२ देखि चिनियाँ आकाशमा १० वटा जासूसी बेलुनहरू उडाएको चीनले सोमबार दावी गरेको ।

जासुसीका बारेमा आपसी आरोपले दुई देशहरू बीचको तनावलाई अझ बढाएको छ। फेब्रुअरी ४ मा अमेरिकाले अमेरिकाको आकाशमा उडिरहेको तीनवटा बसभन्दा ठूलो आकारको बेलुनलाई खसालेपछि अमेरिका र चीनबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । चीनले उक्त बेलुन दुर्घटनावश उड्दै अमेरिका पुगेको दावी गरेको छ ।

त्यसपछि अमेरिकाले शुक्रबार अमेरिकी आकाशमा, शनिबार क्यानडाको आकाशमा र आइतबार अमेरिकाको आकाशमा उडिरहेको कारभन्दा ठूलो बस्तु खसालिसकेको छ । तर ती बस्तुहरु चीनका भए नभएकोबारे केही बताइएको छैन । यद्यपी सुरुको बेलुन भने चीनको जासुसी बेलुन रहेको अमेरिकी दावी थियो ।

तर चीनले अहिले अमेरिकाको दाबीलाई आफ्नै आरोपका साथ झन् बलियो रूपमा प्रतिवाद गरिरहेको छ। बेइजिङमा सोमबार नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकी बेलुनहरू अवैध रूपमा अन्य देशको आकाशमा प्रवेश गर्नु सामान्य कुरा भएको दाबी गरे।

अमेरिकाले गत वर्षको सुरुदेखि ६५७ पटक चीनको गोप्य विवरणहरु सङ्कलन गर्न युद्धपोत र विमानहरू प्रयोग गरिरहेको चिनियाँ प्रवक्ताले दावी गरेका छन् । उनले अमेरिका निस्सन्देह विश्वको सबैभन्दा ठूलो निगरानी गर्ने बानी परेको निगरानी साम्राज्य भएको आरोप समेत लगाएका छन् । वाङले अमेरिकालाई पहिले आफैंमा चिन्तन गर्न र द्वन्द्वलाई उक्साउनुको सट्टा मार्ग परिवर्तन गर्न सुझाव दिएका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले सोमबारको एक अन्तर्वार्तामा चीनको यो दाबी सत्य नभएको बताएका छन् । अमेरिकी सरकारले चीनमा निगरानी बेलुनहरू सञ्चालन गर्छ भन्ने कुनै पनि दाबी गलत भएको राष्ट्रिय सुरक्षा परिषद्का अर्का प्रवक्ता एड्रिएन वाट्सनले बताएकी छिन् । जासुसी बेलुन कार्यक्रम रहेको देश चीन रहेको र यसले अमेरिकासहित ५ महादेशका ४० भन्दा बढी देशहरूको सार्वभौमसत्ता उल्लङ्घन गर्न प्रयोग गरेको वाट्सनले बताएकी छिन् ।

‘चीनले क्षति नियन्त्रण गर्न खोजेको यो पछिल्लो उदाहरण हो। उसले अमेरिकामा पठाएको निगरानी बेलुन मौसम सम्बन्धि बेलुन हो भनेर बारम्बार र गलत दाबी गर्दै आएको छ र हाम्रो आकाश, अरूको हवाई क्षेत्रमा आफ्नो घुसपैठको लागि कुनै विश्वसनीय स्पष्टीकरण दिन असफल भएको छ,’  वाटसनले बताएकी छिन् ।

गत हप्ता मोन्टाना माथि भेटिएको जस्तै बेलुनहरू जापान, भारत र ताइवान माथि हालैका वर्षहरूमा देखिएका छन्। चीनले यस महिना ल्याटिन अमेरिका माथि फेला परेको उच्च उचाइको बेलुन उसको आफ्नै भएको स्वीकार गरेको थियो । यद्यपि उसले बेलुन मौसम अनुसन्धान गर्ने एयरशिप बताएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com