के अमेरिकी आकाशमा उडेका कारभन्दा ठूला अज्ञात बस्तुबाट विमान दुर्घटनाको खतरा हुन्छ?
प्रकाशित मिति : फाल्गुन १, २०७९ सोमबार
अमेरिकी सेनाले एउटा चीनको जासुसी बेलुन र अन्य तीनवटा कारभन्दा ठूला आकाशमा उडिरहेका बस्तुहरु खसालेको छ । के यस्ता बस्तुहरुले अमेरिकामा विमान दुर्घटनाको खतरा छ ? यसबारे ह्वाइट हाउसका प्रवक्ताले बोलेका छन् ।
अमेरिकी आकाशमा उडेका यी अज्ञात वस्तुहरूले सञ्चार सिग्नलहरु नपठाएको तर यात्रुवाहक विमानका लागि वास्तविक खतरा खडा गरेको ह्वाइट हाउसका प्रवक्ताले बताएका छन् । ह्वाइट हाउसका प्रवक्ता जोन एफ किर्बीले सेनाले सप्ताहन्तमा गोली हानिएको वस्तुको स्रोत वा उद्देश्यको पहिचान नभएको बताएका छन् । ती बस्तुहरुमध्ये एउटालाई शुक्रबार अलास्का, अर्को शनिबार युकोन क्षेत्र र तेस्रो आइतबार मिशिगनमा गोली हानिएको थियो ।
ती बस्तुहरुले नागरिक हवाई यातायातमा जोखिम खडा गरेका थिए । त्यसैले संयुक्त राज्य र क्यानडाका सेना र नेताहरूले ती बस्तुलाई खसाल्ने निर्णय गरेका थिए । तिनीहरूको उचाइ २० हजार फीट देखि ४० हजार फीट सम्म थियो । ट्रान्सकन्टिनेन्टल एयर ट्राफिक करिब ३० हजार फिट उचाइमा उड्छ । त्यसैले विमानहरु कारभन्दा ठूला ती बस्तुमा ठोकिएको खण्डमा दुर्घटनाको जोखिम हुन्छ । ती बस्तुका कारण विमानले बाटो परिवर्तन गर्नुपर्ने अवस्था आउनसक्छ ।
यसै महिनाको सुरुमा खसालिएको चीनको जासुसी बेलुन भने नियमित विमानहरु उड्ने उचाईभन्दा निकै माथि रहेको थियो । उक्त बेलुन ६० हजार फिटको उचाईमा उडेको थियो । यद्यपी उक्त बेलुन अमेरिकाको सैन्य संवेदनशील क्षेत्रमाथि उडेको थियो ।