आफूले जस्तो आफ्नो छोरीले आमालाई छिटो नगुमाओस् भन्दै भावुक बनिन् सारंगा श्रेष्ठ


प्रकाशित मिति : फाल्गुन २, २०७९ मंगलबार

अमेरिका निवासी कलाकार सारंगा श्रेष्ठ आफ्ना बुबाआमा संझेर भावुक बनेकी छिन् । बिमलेश अधिकारीसँगको ‘द बोल्ड टक वीथ बिम’मा कुरा गर्ने क्रममा उनले बुबालाई सम्झेर आफ्नो आँशु रोक्न सकिनन् । उनले आफू कलाकार बन्नुको श्रेय बुबालाई दिइन् ।

आफूलाई कहिले पनि बुबाले यो वा त्यो बन्न नभन्नुभएको साथै आफूभित्रको कलाकारिता देखेर अगाडि बढाउनका लागि काठमाडौं ल्याउनुभएको सारंगाले सम्झिइन् । बुबाआमा आफ्ना लागी भगवान सरह रहेको भन्दै बुबाले आफ्ना लागि रेष्टुरेण्टका सबै फर्निचर एकएक गरेर बेचेको पनि उनले सम्झिइन् ।

आफूले छिट्टै आमालाई गुमाएको र आफूलाई मनभित्रका कैयन कुरा शेयर गर्ने आमाको अभाव खड्किने गरेको उल्लेख गर्दै उनी आफ्नी छोरीका लागि त्यो अवस्था नआओस् भन्दै भावुक बनिन् । उनकी आमाको निधन केही बर्ष पहिले ६० बर्षको उमेरमा भएको हो । उनले भनिन् – ‘छोरीलाई मेरो आवश्यकता हुँदा उसलाई सल्लाह दिन र उसको कुरा सुनिदिन म त्यहाँ हुन पाऔं । तर छोरी हुर्केको, कलेज गएको र आमा बनेको हेर्न पाउदिन कि जस्तो लाग्छ ।’

कार्यक्रममा सारंगाले आफ्नो हिट गीत ए संगीतालाई नेपाल टेलिभिजनमा प्रतिबन्ध लाग्दादेखि नाडीमा आफ्नो नाम लेखेर घरमा आएका फ्यानसम्मको प्रसंग सम्झिइन् । दरबार हत्याकाण्डपछिको अवस्थापछि नेपालमा चलचित्रमा आएको मन्दीका कारण आफू अमेरिका आएको प्रसंग पनि उनले उल्लेख गरिन् ।

सारंगा श्रेष्ठले सुनचाँदी, आगो, मिलन, सिन्दुरपोते, सारंगी लगायतका कैयन हिट चलचित्रहरुमा अभियन गरेकी थिइन् भने नृत्यमा उनको चर्चा शीर्ष स्थानमा थियो । अमेरिकामा आएपछि अमेरिकनसँग गरेको उनको विवाह लामोसमय टिकेन । सन् २०१२ मा रमेश कार्कीसँग दोश्रो विवाहपछि २०१३ मा छोरी जन्माएकी सारंगा श्रेष्ठ हाल अमेरिकाको बाल्टिमोरमा ९ बर्षकी छोरीसँगै बस्दै आएकी छिन् ।

सारंगा श्रेष्ठ बिमलेश अधिकारीको युट्युब शो द बोल्ड टक वीथ बिमको चौथो भागमा कुराकानी गर्दै थिइन् । उक्त भाग मंगलबार रिलिज गरिएको छ । कार्यक्रम र्संचालक बिमलेश अधिकारी पनि नेपालका चर्चित कलाकार हुन् । उनले झण्डै साढे २ सय म्युजिक भिडियो र केही चलचित्रमा अभिनय गरिसकेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com