अमेरिका आउदै गरेका ७९ जना नेपालीहरुलाई अमेरिकाका विभिन्न विमानस्थलबाट फर्काइयो


प्रकाशित मिति : फाल्गुन २५, २०७९ बिहीबार

अमेरिका आउदै गरेका ७९ जना नेपालीहरुलाई अमेरिकाका विभिन्न विमानस्थलबाट फर्काइएको  तथ्यांक अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०२१ भरमा ती नेपालीहरुलाई अमेरिकाका विभिन्न विमानस्थलहरु र पोर्ट अफ इन्ट्रीहरुबाट फर्काइएको हो ।

आर्थिक बर्ष २०२० र २०२१ को तथ्यांकमा टाइटल ४२ अन्तरगत फिर्ता गरिएकाहरुको समेत विवरण समावेश भएको जनाइएको छ । तर कति जना नेपालीहरुलाई टाइटल ४२ अन्तरगत फिर्ता गरियो भन्ने स्पष्ट छैन । यद्यपी टाइटल ४२ अन्तरगत फिर्ता गरिएका नेपालीहरुको संख्या भने नगण्य रहेको विभिन्न रिपोर्टहरुले देखाएको छ ।

आर्थिक बर्ष २०२० मा ७६ जना नेपालीहरुलाई विभिन्न विमानस्थलहरुबाट अमेरिका प्रवेश गर्न नदिई फिर्ता पठाइएको थियो । यो संख्या आर्थिक बर्ष २०१९ मा ९७ रहेको थियो । त्यस्तै २०१८ मा ९६ र आर्थिक बर्ष सन् २०१७ मा ९९ जना नेपालीहरुलाई अमेरिकी विमानस्थलहरुबाट फिर्ता पठाइएको थियो ।

आर्थिक बर्ष २०१६ मा फिर्ता पठाइनेहरुको संख्या भने सबैभन्दा धेरै रहेको थियो । उक्त बर्ष २७३ जना नेपालीहरुलाई अमेरिका प्रवेश गर्न नदिई पोर्ट अफ इन्ट्रीहरुबाट फिर्ता पठाइएको थियो । २०१५ मा १९६ जना र २०१४ मा ५१ जना नेपालीलाई फिर्ता पठाइएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक छ । यसरी फिर्ता पठाइएका नेपालीहरु आर्थिक बर्ष २०१३ मा ७७ र २०१२ मा ६७ जना रहेका थिए ।

अमेरिका आउने क्रममा विमानस्थलमा आइपुगेपछि गैर नागरिकहरूलाई सामान्यतया सीबीपी अधिकारीद्वारा निरीक्षण गरिन्छ जसले उनीहरू अमेरिका प्रवेशका लागि आवश्यकताहरू पूरा गर्छन् कि गर्दैनन् भनी निर्धारण गर्छन् । यदि सीबीपी अधिकारीले व्यक्तिले प्रवेशका लागि आवश्यकताहरू पूरा गर्दैन भनेर निर्धारण गरेमा उनीहरुलाई अमेरिका प्रवेश गर्न नदिई विमानस्थलबाटै फर्काइन्छ ।

तिनीहरूसँग मान्य भिसा नभएको, विगतमा भिसाको उल्लंघन गरेको वा अन्य कुनै आपराधिक रेकर्ड भएको खण्डमा उनीहरुलाई अमेरिका प्रवेशमा रोक लगाएर उनीहरूको गृह देशमा फर्काइन्छ। उदाहरणका लागि कोही कलाकार भिजिटर भिसामा आइरहेको छ तर उसले अमेरिकामा आउनुको उद्देश्य नाफामुलक कन्सर्ट रहेको छ भने त्यस्ता व्यक्तिलाई विमानस्थलबाट अधिकारीहरुलाई फर्काउन सक्छन् । त्यस्तै कोही पत्रकार भिजिटर भिसामा आइरहेको छ तर उसको उद्देश्य अमेरिकामा पत्रकारिता गर्नु रहेको छ भने उसलाई उपयुक्त भिसाको अभावमा विमानस्थलबाट फर्काउन सकिन्छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले प्रवेश अस्वीकार गरिएका केसहरूको रेकर्ड राख्छ । जसले गर्दा भविश्यमा अमेरिका आउने क्रममा समेत असर पर्नसक्छ । कतिपय अवस्थामा, प्रवेश अस्वीकार गरिएका व्यक्तिहरूलाई तिनीहरूको अस्वीकार्यताको कारणको आधारमा निश्चित समयको लागि संयुक्त राज्यमा प्रवेश गर्नबाट रोक लगाइन्छ। यो तथ्यांकमा अमेरिकाबाट आइसमार्फत देशनिकालामा परेका वा अदालतबाट देशनिकालाको आदेश पाएर फिर्ता भएकाहरुको तथ्यांक भने समावेश छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com