जेल जानका लागि अमेरिकाको बैंकमा एक डलरको लुट, जेलमा नराखे ठूलो लुटपाट गर्ने चेतावनी
प्रकाशित मिति : फाल्गुन ३०, २०७९ मंगलबार
अमेरिकाको युटाहमा प्रहरीले एक व्यक्तिलाई वेल्स फार्गो बैंकबाट १ डलर लुटेको आरोपमा पक्राउ गरेको छ । उक्त व्यक्तिले बैंकबाट एक डलर लुटेपछि बैंक छाड्न अस्वीकार गरेको जनाइएको छ । उक्त व्यक्तिले पक्राउ पर्नका लागि प्रहरी अधिकारीहरुलाई पर्खेर बसेको प्रहरीको भनाई छ ।
६५ वर्षीय डोनाल्ड सान्टाक्रोस नामका व्यक्ति वेल्स फार्गो बैंकमा प्रवेश गरेपछि बैंक टेलरलाई एउटा नोट दिएका थिए । जसमा लेखिएको थियो कृपया मलाई यो गरेकोमा माफ गर्नुहोस् तर यो डकैती हो। कृपया मलाई १ डलर दिनुहोस् धन्यवाद ।
जब कर्मचारीहरूले पैसा दिए तिनीहरूले सान्टाक्रोसलाई बैंक छोड्न आग्रह गरेका थिए । तर उनले बैंक छाड्न अस्वीकार गरे । बरु सट्टा प्रहरी आइपुग्दासम्म पर्खेका थिए ।
प्रहरीले उनीहरु बैंकमा प्रवेश गरी सान्ताक्रोसलाई सकुशल पक्राउ गर्न सफल भएको र घटनामा कोही पनि घाइते नभएको बताएको छ । प्रहरीका अनुसार सान्ताक्रोसलाई हिरासतमा लिइएको थियो र डकैतीको एक अभियोग लगाइएको थियो।
डोनाल्डले आफू गिरफ्तार भएर संघीय जेलमा जान चाहेकोले यस्तो गरेको बताएका छन् । डोनाल्डले यदि उनी जेलबाट बाहिर निस्केमा अर्को बैंक लुट्ने चेतावनी दिएका थिए । अर्को पटक संघीय जेलमा जाने नतिजा प्राप्त गर्न प्रयास गर्दै ठूलो डकैती गर्ने उनले चेतावनी दिएका थिए ।
जेल रेकर्डका अनुसार सान्टाक्रोजलाई मुद्दा लगाइएको केही घण्टापछि हिरासतबाट रिहा गरिएको थियो। साल्ट लेक सिटी डिस्ट्रिक्ट अटर्नीको कार्यालयले सान्टाक्रोज मुद्दाबारे थप प्रतिक्रिया दिएको छैन।