मेरो एसाइलम पेन्डिङ अवस्थामा छ, के मैले अमेरिकाको रियल आईडी पाउनसक्छु ?
प्रकाशित मिति : माघ १३, २०८१ आईतबार

सक्नुहुन्छ । तर रियल आईडी नियमहरूमा परिभाषित गरिएको अस्थायी कानुनी स्थितिको मापदण्डमा रहेर तपाईले सीमित अवधिका लागि रियल आईडीका लागि योग्य हुनुहुनेछ । त्यसको वैधता भने वर्क परमिटको बैधतामा निर्भर रहनेछ । यदि अधिकृत बसाइको अवधिको कुनै निश्चित अन्त्य छैन भने रियल आईडीको म्याद एक वर्षको हुनेछ । त्यसपछि नविकरण गर्न सकिन्छ ।
रियल आईडीको नियमहरूमा परिभाषित गरिए अनुसार अस्थायी कानूनी स्थितिमा रहेका व्यक्तिहरू भन्नाले एसाइलमको आवेदन पेन्डिङ रहेकाहरु, टीपीएस स्वीकृत भएका वा पेन्डिङ रहेकाहरु, ग्रिनकार्ड आवेदन पेन्डिङ रहेकाहरु पर्दछन् । ती सबै अस्थायी प्रकारको रियल आईडीका लागि योग्य हुन्छन् ।
तर स्थायी वा अस्थायी बसोबासका लागि कानुनी रूपमा भर्ना भएका विदेशीहरू, सशर्त स्थायी बासिन्दा स्थिति भएका विदेशीहरू, एसाइलम आवेदन स्वीकृत भएका विदेशीहरू, र शरणार्थीको रूपमा अमेरिकामा प्रवेश गरेका विदेशीहरू भने पूर्ण समयको रियल आईडीका लागि योग्य हुन्छन् ।
२०२५ को मे ७ पछि रियल आईडी अनिवार्य
अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले रियल आईडीको प्रावधान पूर्णरुपमा लागु गर्ने म्याद सन् २०२५ को मे ७ बनाएको छ । २०२५ को मे ७ पछि अमेरिकामा विमान चढ्न वा संघीय भवनहरुमा प्रवेश गर्नका लागि स्टारसहितको रियल आईडी आवश्यक पर्नेछ ।
रियल आईडी ऐन सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलाको प्रतिक्रियामा पारित गरिएको थियो। राज्यका परिचयपत्र संघीय सरकारले स्वीकार गर्नका लागि राज्यले जारी गरेको ड्राइभर लाइसेन्स र स्टेट आईडीका लागि राज्यहरूले समान मापदण्डहरू अपनाउन र लागू गर्न आवश्यक हुन्छ । यी उपायहरू पहिचान जालसाजी र आतंकवादलाई कम गर्ने उद्देश्यले गरिएको हो ।
केही राज्यहरूले रियल आईडी वर्षौंदेखि जारी गर्दै आएका छन्, यसको मतलब यदि तपाईंले आफ्नो इजाजतपत्र पाउनुभयो, वा हालसालै नवीकरण गर्नुभयो भने, यो सम्भवतः रियल आईडी हुनसक्छ । रियल आईडी भएन नभएको थाहा पाउन तपाईले आफ्नो आईडीमा स्टार भए नभएको हेनुपर्छ । न्युयोर्कमा अमेरिकी नागरिकलाई अमेरिकाको झण्डा भएको आईडी समेत जारी गरिन्छ ।
कतिपय राज्यमा यस्तो आईडीमा सुनौलो त कतिपय राज्यमा कालो स्टार अंकित गरिएको छ । हवाई, ओहायो, टेनिसी र युटाहको आइडीमा भने तारा अंकित छैन ।
कस्ता कागजात आवश्यक पर्छ ?
तारासहितको वास्तविक आईडी लिनका लागि तपाई जन्मदर्ता प्रमाण वा पासपोर्ट जस्ता कागजातसहित भौतिक रुपमा नै डीएमभी अफिस जानुपर्ने हुन्छ । त्यसका लागि तपाईले अनलाइनमार्फत अप्वाइन्टमेन्ट लिनुहोला । अप्वाइन्टमेन्ट लिइसकेपछि उक्तदिन जाँदा अमेरिकी जन्मदर्ता वा अमेरिकी पासपोर्ट वा वर्क परमिट वा ग्रिनकार्ड वा आई ९४ स्वीकृति सहितको विदेशी पासपोर्ट लैजानुपर्छ ।
त्यस्तै सोसल सेक्युरिटी कार्ड वा डब्लु टु वा सोसल सेक्युरिटी नम्बर उल्लेख भएको पे स्टब पनि साथमा लैजानुहोला । आफ्नो निवासको ठेगानाको प्रमाण पुग्ने बिल वा अन्य त्यस्तै कागजात पनि तपाईसँग हुन आवश्यक छ ।
आफूसँग आवश्यक कागजात भए नभएको चेक गर्न यहाँ क्लीक गर्नुहोला ।
सबै कागजातसहित डीएमभी कार्यालयमा पुगेपछि तपाईले उपयुक्त शुल्क तिरेर वास्तविक आईडीका लागि आवेदन दिनुपर्ने हुन्छ । त्यसपछि तपाईले स्टार अंकित वास्तविक आईडी प्राप्त गर्नुहुनेछ । जुन संघीय भवनहरुमा प्रवेश गर्न वा जहाजमा यात्रा गर्नका लागि स्वीकार गरिनेछ ।