१३ मध्ये कुनै श्रेणीमा परेमा एसाइलमबाट ग्रिनकार्ड लिंदा पुन: अन्तरवार्ताका लागि बोलाइन सक्छ
प्रकाशित मिति : माघ ११, २०८० बिहीबार
अमेरिकामा एसाइलमबाट ग्रिनकार्ड लिने क्रममा १३ वटा श्रेणीमा पर्नेले ग्रिनकार्ड प्राप्त गर्नु अगाडि पनि अन्तरवार्ता दिनुपर्ने हुनसक्छ । एसाइलमबाट ग्रिनकार्ड लिनेबेलामा अन्तरवार्तामा बोलाइयो भन्दैमा नआत्तिनुहोस्, कारण राम्रो पनि हुनसक्छ । किनभने कहिलेकाँही स्पष्टरुपमा ग्रिनकार्डका लागि अयोग्य भएको खण्डमा विना अन्तरवार्ता पनि आवेदन अस्वीकृत हुनसक्छ । आवेदन स्वीकृत गर्ने उद्देश्यले सानोतिनो भ्रम समाधान गर्न पनि अन्तरवार्ताका लागि बोलाइनसक्छ ।
अमेरिकी सरकारको युएससीआईएसले एसाइलमका आधारमा ग्रिनकार्ड आवेदन दिने आवेदकको अन्तरवार्ता लिने वा नलिने सन्दर्भमा अधिकारीहरुलाई तजविज अधिकार दिने नीति निर्देशिकामा पछिल्लोपटक सन् २०२१ मा सेप्टेम्बर १६ मा अपडेट गरेर १३ वटा श्रेणी निर्धारण गरेको थियो ।
यही नीति निर्देशिकाका आधारमा युएससीआईएसका अधिकारीले कुन आवेदकको ग्रिनकार्ड अन्तरवार्ता लिने र कुन आवेदकको नलिने भन्ने सन्दर्भमा निर्णय गर्छन् । सन् २०२० को डिसेम्बर १५ को नीति निर्देशिकाले यस्ता श्रेणीहरु १८ वटा तय गरेकोमा सन् २०२१ को निर्देशिकाले १३ मा झारेको थियो ।
अध्यागमन तथा राष्ट्रियता ऐनको २०९ अनुशार ग्रिनकार्ड आवेदन दिनेको अन्तरवार्ता आवश्यक भए नभएको अधिकारीहरुले हरेक आवेदन अनुशार फरक फरक निर्णय गर्नसक्नेछन् । अर्थात् एउटै प्रकृतिका आवेदनमा समेत फरक फरक निर्णय गर्न सक्नेछन् ।
सन् २०२० को डिसेम्बरको नीतिपछि पहिलेको तुलनामा धेरै एसाइलम आवेदकहरु ग्रिनकार्ड लिने बेला समेत अन्तरवार्ताका लागि उपस्थीत हुनुपर्ने अवस्था श्रृजना गरेको हो । अधिकारीले आफूसँग भएको इमिग्रेशन रेकर्डमा आधारित रहेर ग्रिनकार्ड दिने वा नदिने कुरा निर्धारण गर्न नसकेको खण्डमा सामान्यतया अन्तरवार्ताका लागि बोलाउनसक्ने प्रावधान रहेको छ ।
खासगरी सन् २०२० को डिसेम्बर १५ वा पछि ग्रिनकार्ड आवेदन दिएका एसाइलीका सन्दर्भमा नयाँ नीति लागु गरिएको हो । त्यो भन्दा अगाडिका आवेदकका सन्दर्भमा भने पहिले कै नीति अनुशार ग्रिनकार्ड स्वीकार वा अस्वीकार गरिदै आएको छ ।
विभिन्न १३ वटा अवस्थामा अधिकारीले एसाइलम आवेदकलाई ग्रिनकार्ड स्वीकृत गर्नु अगाडि अन्तरवार्ताका लागि बोलाउन सक्नेछन् । फाइल हेरेर आवेदकको परिचय प्रमाणित गर्न नसकेमा, फाइल हेरेर प्रमाणित भएको तर आवेदकले नयाँ परिचय दावी गरेमा, आवेदकको शरण स्थिति छ वा छैन भनी निर्धारण गर्न अधिकारीको लागि अध्यागमन रेकर्डहरू अपर्याप्त भएमा अन्तरवार्ताका लागि बोलाउन सक्छन् ।
त्यस्तै फर्म आई ७३० स्वीकृत हुनु अगाडि अन्तरवार्ताको प्रकृया पूरा नभएको भएमा, एफबीआईको अनुसन्धानमा औठाछापबाट रेकर्ड हेर्दा कुनै खराब रेकर्ड भेटिएमा वा दुईवटा उस्तै औठाछापको फरक छुट्याउन समस्या भएमा पनि अन्तरवार्ताका लागि बोलाइन्छ ।
त्यस्तै अधिकारीले विना अन्तरवार्ता ग्रिनकार्ड स्वीकार गर्ने नगर्ने निश्चित गर्न नसकेमा, अधिकारीले आवेदन अस्वीकार गर्ने निर्धारण गरेमा तर अन्तरवार्ताका क्रममा कुनै वेभर दिन सकिनेबारे विचार गर्नुपरेमा, प्रारम्भिक आवेदकसँग दम्पत्ति वा छोराछोरीको सम्बन्ध टुटिसकेको भएमा, आवेदकप्रति राष्ट्रिय सुरक्षा वा आतंकबाद सम्बन्धि कुनै चासो देखिएमा, आवेदकका धेरै परिचय भएमा, अन्य कुनै पनि कारणले आवेदकको सपथ बयान लिनुपर्ने भएमा, पेश गरिएका थप कागजातमा कुनै कुरा अष्पष्ट भएमा, अधिकारीसँग पहिचान, राष्ट्रिय सुरक्षा, सार्वजनिक सुरक्षा, वा धोखाधडी सम्बन्धी कुनै अन्य स्पष्ट र समाधान नभएको चिन्ता भएमा र त्यो चिन्ता समाधान गर्न मद्दतको लागि एक अन्तर्वार्ता सिफारिस गरेमा पनि अन्तरवार्ताका लागि बोलाउन सकिन्छ ।
@khasokhasएसाइलम स्वीकृत आधारमा ग्रिनकार्ड आवेदन दिंदा अन्तरवार्ता आउनु सामान्य हो ? कस्तो कस्तो अवस्थामा आउनसक्छ? कस्तो तयारी गर्ने ? कानुन व्यवसायी केशव सेडाईका साथमा खसोखास प्रधानसम्पादक किशोर पन्थी ।
सन् २०२१ अगाडिको मापदण्डमा सुरुमा एसाइलम स्वीकृत हुँदा नै कुनै जालसाजी गरेको वा गलत कागजात बुझाएको प्रमाण देखिएमा, प्रारम्भिक एसाइलम आवेदक नै शरणार्थीको परिभाषाभित्र पर्न छाडिसकेको भएमा, फ्रड डिटेक्सन एण्ड नेशनल सेक्युरिटी र सेन्टर फ्रड डिटेक्सन अपरेशनले जालसाजीको आंशका गरेमा वा ब्याकग्राउण्ड चेक युनिटले अन्तरवार्ताको सिफारिस गरेमा, विगत वा वर्तमानमा देशनिकालाको प्रकृयामा रहेका कारण ग्रिनकार्डका लागि योग्य हुने नहुने निर्धारण गर्न रेकर्ड फाइल अप्रयाप्त भएमा, आवेदक नागरिक भएको वा विगतमा बसेको देश विगत वा वर्तमानमा आतंकबादलाई सहयोग गर्ने देश रहेको खण्डमा समेत आवेदकलाई अन्तरवार्तामा बोलाइने मापदण्डहरु राखिएकोमा २०२१ बाट ती मापदण्डहरु हटाइएको छ ।
अन्तरवार्ताका बेलामा आवेदकले अनुवादक लैजान सक्नेछन् तर साथी र आफन्तलाई अनुवादकका रुपमा लैजान पाउने वा नपाउने सन्दर्भमा अधिकारीले तजविज अधिकारका आधारमा निर्णय गर्नेछन् । अनुवाद राम्रो नगरेको खण्डमा त्यस्तो अनुवाद अधिकारीले अस्वीकार समेत गर्न सक्नेछन् ।