गतबर्ष ११,७९४ नेपालीलाई ग्रिनकार्ड, सबैभन्दा धेरै टेक्सास निवासी
प्रकाशित मिति : चैत्र २४, २०७९ शुक्रबार
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुशार गतबर्ष ११ हजार ७९४ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेका छन् । यो संख्या आर्थिक बर्ष २०२२ मा आप्रवासी भिसामा अमेरिकामा आएर वा अमेरिकामा नै स्थीति समायोजन गरेर १२ महिनाको अवधिमा ग्रिनकार्ड पाउनेहरुको संख्या हो ।
ग्रिनकार्ड पाउनेहरुमा ४ हजार ४ सय ३९ जना पहिले नै अमेरिकामा रहेका र स्थीति समायोजन गरेकाहरु हुन् । अरु ७ हजार ३ सय ५५ जना भने नयाँ आउनेहरु हुन् । जसमा डिभी लोटरीमार्फत आउनेहरुको संख्या उल्लेख्य रहेको छ ।
आर्थिक बर्ष २०२२ को पहिलो क्वार्टरमा ३१५७ जना नेपालीले ग्रिनकार्ड पाएका थिए भने दोश्रो क्वार्टरमा २१ सय जनाले ग्रिनकार्ड पाएका थिए । तेश्रो क्वार्टरमा ३ हजार ३ सय ३३ जनाले र चौथो क्वार्टरमा ३२०४ जनाले ग्रिनकार्ड पाएका थिए । डिभी लोटरीबाहेक नेपालीहरुले एसाइलम, रोजगारमा आधारित र परिवारमा आधारित ग्रिनकार्ड समेत प्राप्त गर्दै आएका छन् ।
आर्थिक बर्ष २०२१ मा अमेरिकामा ७ हजार ३ सय ९ जना नेपालीहरुलेमात्र ग्रिनकार्ड प्राप्त गरेका थिए । जसमध्ये सबैभन्दा धेरै टेक्सासमा १२१३ जना रहेका थिए । आर्थिक बर्ष २०२१ मा ग्रिनकार्ड पाउने नेपालीहरु न्युयोर्कमा ८५५ र क्यालिफोर्नियामा ८०५ जना रहेका थिए ।
कोरोना महामारीका बाबजुत आर्थिक बर्ष २०२० मा अमेरिकामा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या ७ हजार ८ सय ४७ रहेको थियो । जसमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिकका दम्पत्ति, २१ बर्ष ननाघेका छोराछोरीहरु र बाबुआमाहरु १८६२ जना, परिवारमा आधारित अन्य श्रेणीका ७५४ जना, रोजगारमा आधारित १७७५ जना, डिभीमा आधारित १८२८ जना, एसाइलममा आधारित १६१६ जना र अन्य १२ जना रहेका थिए ।
आर्थिक बर्ष २०२० मा ग्रिनकार्ड पाउनेमा सबैभन्दा धेरै टेक्सास निवासी १०९४ जना रहेका थिए । क्यालिफोर्निया निवासी ८३२ जना र तेश्रोमा न्युयोर्क निवासी ७२७ जना रहेका थिए । आर्थिक बर्ष २०१९ मा पनि कुल १० हजार २ सय १ जना नेपालीले ग्रिनकार्ड पाएकोमा टेक्सास निवासी सबैभन्दा धेरै १४८१ जना रहेका थिए भने न्युयोर्क निवासी ११९९ र क्यालिफोर्निया निवासी १०२५ जना रहेका थिए ।
आर्थिक बर्ष २०१८ मा अमेरिकामा ११ हजार ९ सय ५३ जना नेपालीले ग्रिनकार्ड पाएकोमा टेक्सास निवासी १५२३, न्युयोर्क निवासी १३९३ र क्यालिफोर्निया निवासी ११७२ रहेका थिए । त्यस्तै आर्थिक बर्ष २०१७ मा अमेरिकामा ११ हजार ६ सय १० जना नेपालीले ग्रिनकार्ड पाएकोमा टेक्सास निवासी १६०९, न्युयोर्क निवासी १३४५ र क्यालिफोर्निया निवासी १११७ जना नेपाली रहेका थिए ।
आर्थिक बर्ष २०१६ मा अमेरिकामा १२ हजार ८ सय ५१ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएका थिए । जसमध्ये टेक्सास निवासी १७९७, न्युयोर्क निवासी १६९३ र क्यालिफोर्निया निवासी १२६७ जना रहेका थिए । आर्थिक बर्ष २०१५ मा अमेरिकामा १२ हजार ९ सय २६ जना नेपालीले ग्रिनकार्ड पाएकोमा टेक्सास निवासी १७९१, न्युयोर्क निवासी १६४६ र क्यालिफोर्निया निवासी १११७ जना रहेका थिए ।
आर्थिक बर्ष २०१४ मा १२ हजार ३ सय ५७ नेपालीले अमेरिकामा ग्रिनकार्ड पाएकोमा टेक्सास निवासी १७७९, न्युयोर्क निवासी १५२६ र क्यालिफोर्निया निवासी १११९ जना रहेका थिए । खासगरी आर्थिक बर्ष २०१४ देखि ग्रिनकार्ड पाउने नेपालीहरुको संख्यामा टेक्सास निवासी नेपालीहरु पहिलो नम्बरमा रहेका छन् ।
त्यस्तै आर्थिक बर्ष २०१३ मा अमेरिकामा १३ हजार ४८ जना नेपालीहरुले ग्रिनकार्ड प्राप्त गरेकोमा न्युयोर्क निवासी १७०२, टेक्सास निवासी १६३२ र क्यालिफोर्निया निवासी १२७४ जना रहेका थिए । त्यस्तै आर्थिक बर्ष २०१२ मा अमेरिकामा ११ हजार ३ सय १२ जना नेपालीहरुले ग्रिनकार्ड पाएकोमा न्युयोर्क निवासी १४८६, टेक्सास निवासी १३६७ र क्यालिफोर्निया निवासी ९१६ जना रहेका थिए । आर्थिक बर्ष २०११ मा १० हजार १ सय ६६ नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएका थिए ।
आर्थिक बर्ष सन् २०११ देखि सन् २०२२ सम्म अमेरिकामा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या १ लाख ३३ हजार ३ सय ७२ रहेको छ । जसमा सबैभन्दा धेरै टेक्सास निवासी रहेका छन् ।
सन् १९८९ देखि सन् २००२ सम्म ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या ५ हजार ७ सय ७८ रहेको थियो । त्यस्तै आर्थिक बर्ष सन् २००३ देखि सन् २०१० सम्म अमेरिकाको ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या ३१ हजार २२ रहेको थियो ।
यसरी अमेरिकामा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या १ लाख ७० हजार नाघिसकेको छ । जसमध्ये ६५ हजार भन्दा धेरैले अमेरिकाको नागरिकता लिइसकेका छन् ।