म्यानमारको गाउँमा भएको हवाई आक्रमणमा बालबालिकासहित कम्तीमा सय जनाको मृत्यु
प्रकाशित मिति : चैत्र २८, २०७९ मंगलबार
म्यानमारको सेनाले मंगलबार गरेको हवाई हमलामा धेरै बालबालिकासहित १०० जनाभन्दा बढीको मृत्यु भएको छ । सैन्य शासनका विपक्षीहरूले आयोजना गरेको समारोहमा भाग लिइरहेका गाउँलेहरुको मृत्यु भएको स्थानीय प्रजातन्त्र समर्थक समूह र स्वतन्त्र मिडियाका सदस्यले बताएका छन् ।
सेनाले आफ्नो शासनको विरुद्धमा व्यापक सशस्त्र संघर्षको सामना गर्न हवाई आक्रमणहरू प्रयोग गर्दैछ, जुन फेब्रुअरी २०२१ मा आङ सान सुकीको निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि सुरु भएको हो । त्यसयता सुरक्षा बलहरूबाट ३ हजार भन्दा बढी सर्वसाधारणको मृत्यु भएको अनुमान गरिएको छ।
एक प्रत्यक्षदर्शीका अनुशार एक लडाकु विमानले सागिङ क्षेत्रको कानबालु टाउनशिपको पाजिगी गाउँबाहिर देशको विपक्षी आन्दोलनको स्थानीय कार्यालय खोल्न बिहान ८ बजे भेला भएका मानिसहरूको भीडमा बम खसालेको थियो । यो क्षेत्र देशको दोस्रो ठूलो सहर मण्डलेको लगभग ११० किलोमिटर उत्तरमा छ।
करिब आधा घण्टा पछि एक हेलिकप्टर देखा परेको थियो । जसले घटनास्थलमा फायर गरेको थियो । प्रारम्भिक रिपोर्टहरूले मृतकको संख्या लगभग ५० जना भएको बताएका थिए । तर पछि स्वतन्त्र मिडियाद्वारा रिपोर्ट गरिएको संख्याले यो लगभग १ सय भएको जनाएको छ । यो घटनाको विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न असम्भव थियो किनभने रिपोर्टिंग सैन्य सरकारद्वारा प्रतिबन्धित छ।
आगलागीबाट कार्यालयको भवन जलेर नष्ट भएको छ । करिब ३० जना घाइते भएका छन् । घाइतेहरूलाई लैजाँदै गर्दा एक हेलिकप्टर आएर धेरै मानिसहरूलाई गोली हानेको थियो । अहिले शवलाई छिटो दाहसंस्कार गरिदैछ ।
उद्घाटन समारोहका लागि करिब १५० जना भेला भएका थिए र मृत्यु हुनेमा महिला र २० देखि ३० जनासम्म बालबालिका रहेका छन् । मारिनेमा स्थानीय सरकार विरोधी सशस्त्र समूह र अन्य विपक्षी संगठनका नेतासमेत रहेका छन् ।
सैन्य सरकारका प्रवक्ता मेजर जनरल जाव मिन टुनले राज्य टेलिभिजन एमआरटीभीलाई फोन गरेको विज्ञप्तिमा समारोहमा हमला भएको स्वीकार गरेका छन् । तर त्यसको आरोप सरकार विरोधी सेनालाई लगाएका छन् । उनले घटनास्थल वरिपरि पीपुल्स डिफेन्स फोर्सले लुकाएर राखेको विस्फोटक पदार्थको आक्रमणले दोस्रो पटक विस्फोट गराएको उनको भनाई छ ।
मंगलबारको हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या पुष्टि भएमा सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि सुरु भएको दुई वर्ष भन्दा बढी गृह द्वन्द्वमा एकैपटकमा भारिने सबैभन्दा उच्च संख्या हो । गत अक्टोबरमा उत्तरी म्यानमारमा अर्को सरकारी हवाई आक्रमणमा ८० जनाको मृत्यु भएको थियो। सैन्य सरकारसँग पनि लडिरहेको काचिन जातीय अल्पसंख्यकको मुख्य राजनीतिक संगठनको वार्षिकोत्सवको अवसरमा हमला भएको थियो ।