अमेरिकामा ट्याक्स फाइल गर्ने अन्तिम मिति आगामी मंगलबार, यस्ता छन् छिटो रिफण्डका तरिका
प्रकाशित मिति : चैत्र २९, २०७९ बुधबार
अमेरिकामा जनवरी २३ बाट सुरु भएको ट्याक्स सिजन आगामी मंगलबार अर्थात् अप्रिल १८ मा सकिदैछ । आईआरएसले जनवरी २३ देखि व्यक्तिगत ट्याक्स रिटर्नहरू स्वीकार गर्न थालेको थियो ।
धेरै जसो करदाताहरूले मंगलबार अप्रिल १८ सम्म आफ्नो विवरण पेश गर्न वा म्याद थप्न अनुरोध गर्न सक्नेछन्। सामान्यतया ट्याक्स फाइल गर्ने अन्तिम दिन अप्रिल १५ हुने भएतापनि उक्त दिन शनिबार परेकाले र अप्रिल १७ मा आईआरएसको मुख्यालय रहेको वाशिंगटनमा मुक्ति दिवस छुट्टी भएकाले डेडलाइन अप्रिल १८ भएको हो ।
अधिकांश करदाताहरूले सामान्यतया आईआरएसबाट रिफण्ड प्राप्त गर्ने अपेक्षा गर्न सक्छन्। छिटो रिफण्ड लिनका लागि दुईवटा कुरामा ध्यान दिनुपर्छ । पहिलो, फाइलिङको २१ दिन भित्र रिफण्ड प्राप्त गर्नको लागि आईआरएसले ट्याक्स रिटर्न इलेक्ट्रोनिक रूपमा फाइल गर्न सुझाव दिएको छ । दोश्रो, रकम डिपोजिटका लागि बैंक एकाउन्ट दिन सुझाव दिएको छ ।
कागजी रुपमा फाइल गरिएको र डिपोजिटका लागि बैंक एकाउन्ट दिइएको सन्दर्भमा अनलाइनबाट फाइल गरिएका र डिपोजिटका लागि बैंक एकाउन्ट दिइएको तुलनामा ढिलो रिफण्ड प्राप्त हुन्छ । त्यस्तै कागजी रुपमा फाइल गरिएका र रिफण्ड चेक हुलाकमार्फत मगाउनेहरुका सन्दर्भमा सबैभन्दा ढिलो हुन्छ ।
यद्यपि आईआरएसले केही रिफण्डमा अतिरिक्त समीक्षा आवश्यक हुन सक्ने र यदि प्रणालीहरूले कुनै त्रुटिहरू पहिचान गरेमा प्रशोधन गर्न लामो समय लाग्न सक्ने चेतावनी दिएको छ । यदि रिटर्नमा गल्तीहरू भएमा प्रणालीले चोरी वा धोखाधडीको शंका गर्दछ।
त्यसका अतिरिक्त अर्नड इन्कम ट्याक्स क्रेडिट, कमदेखि मध्यम आय भएकाहरुका लागि कर छुट, वा अतिरिक्त चाइल्ड ट्याक्स क्रेडिट दावी गर्ने करदाताले मध्य फेब्रुअरी अघि रिफण्ड प्राप्त गर्न नसकने आईआरएसले चेतावनी दिएको छ । आईआरएसले यस वर्ष करदाताहरूलाई विगतका बर्षको तुलनामा थोरै रिफण्डका लागि तयारी हुन चेतावनी दिएको थियो ।
किनभने २०२२ मा संघीय सरकारले कुनै राहत चेकहरु प्रदान गरेको छैन । २०२१ मा आईआरएसले तेश्रो चरणको १४ सय डलरको राहत चेक दिएको थियो । योग्य अमेरिकीहरूले आफ्नो कर रिटर्नमा भुक्तान नगरिएको रकम अझै पनि दाबी गर्न सक्छन्।