‘कोरोना ऋण’ नपाउँदा पनि न्युयोर्कमा ‘म:म: सनसनी’ मच्याउँदै ज्याक्सनहाइटको भान्साघर
प्रकाशित मिति : बैशाख २२, २०८० शुक्रबार
कोरोना महामारीका कारण सन् २०२० मामात्रै न्युयोर्क सिटीमा १ हजारभन्दा धेरै रेष्टुरेण्टहरु स्थायीरुपमा नै बन्द भए । त्यसमध्ये क्वीन्समा रहेका केही नेपाली रेष्टुरेण्टहरुपनि सधैका लागि बन्द भए । तर ज्याक्सनहाइटको ७४ स्ट्रीट र ७५ स्ट्रीटकोबीचमा रुजभेल्ट एभिन्युमा रहेको नेपाली भान्साघर रेष्टुरेण्ट भने रेष्टुरेण्ट संचालकको अध्यागमन स्टाटसका कारण कोरोना सम्बन्धित संघीय ऋण प्राप्त गर्न नसक्दाको बाबजुत पनि आफूलाई उभ्याइरहन सफल भयो ।
‘हामीले पनि अन्य व्यवसाय सरह नै कर तिरिरहेका छौं । कामदारहरुलाई रोजगार दिइरहेका छौं । समुदायलाई सेवा प्रदान गरिरहेका छौं । अमेरिकाको नागरिक सरह नै अमेरिकाको अर्थतन्त्रमा योगदान दिइरहेका छौं । तर हामीलाई ऋण लिने बेलामा भने विभेद गरियो ।’ – नेपाली भान्साघरकी संचालक ५३ बर्षीय यमुना श्रेष्ठले मलिन हुँदै आफ्नो दुखेसो पोखिन् ।
नेपाली भान्सा घर रेष्टुरेण्ट रुजभेल्ट एभिन्युमा २०१९ को अगस्त देखि सुरु भएको हो । उक्त स्थानमा यस अगाडि नेपाली रेष्टुरेण्ट संचालनमा रहेपनि कैयन पटक व्यवस्थापनमा परिवर्तन आउदै बन्द भएको थियो । तर पनि यमुना श्रेष्ठले हिम्मत जुटाएर सोही स्थानमा नै नयाँ रेष्टुरेण्ट खोलिन् । सन् २०१५ मा ३७ रोडमा पार्टनरसिपमा खोलेको नेपाली भान्साघर बन्द भएपछि रुजभेल्ट एभिन्युमा उनले एकल लगानीमा रेष्टुरेण्ट खोलेकी हुन् ।
रेष्टुरेण्ट सुरु गरेको ६ महिनामा विश्व नै कोरोना महामारीको चपेटामा पर्यो । त्यसमा पनि सन् २०२० को अप्रिलसम्म आइपुग्दा न्युयोर्क सिटी कोरोना महामारीको नयाँ इपीसेन्टर बनिसकेको थियो । जसका कारण रेष्टुरेण्ट ३ महिना पूर्णरुपमा बन्द गर्नुपर्यो । त्यसपछि पुन खोलिएको रेष्टुरेण्ट कोरोनाको त्रासका कारण व्यापक रुपमा भ्याक्सिन उपलब्ध नहुँदासम्म पूर्णरुपमा संचालनमा आउन सकेन ।
‘महामारी आएपनि एसबीएबाट सस्तो ब्याजको ईआईडीएल ऋण पाइएला कि भन्ने आशा थियो । तर ग्रिनकार्ड वा नागरिकता नभएको भन्दै उक्त ऋण समेत दिइएन । जसले गर्दा रेष्टुरेण्ट संचालनका लागि झण्डै डेढलाख डलर व्यक्तिगत ऋण खोजेर रेष्टुरेण्टमा लगाउनुपर्ने अवस्था आयो ।’ – यमुनाले निराश हुँदै भनिन् ।
एसबीएको ईआईडीएल ऋणका लागि आवेदन दिंदा सुरुमा ८३ हजार डलरको ऋण स्वीकृत भएको पनि थियो । तर एसबीएले ग्रिनकार्ड वा अमेरिकी नागरिकता मागेपछि यमुना श्रेष्ठले उक्त ऋण प्राप्त गर्न सकिनन् । किनभने उनीसँग ग्रिनकार्ड वा अमेरिकी नागरिकता थिएन । सन् २००८ मा अमेरिका आएकी यमुनाले एसाइलम आवेदन दिएपनि उक्त एसाइलम आवेदन अस्वीकृत भएपछि उनको स्टाटस वीथहोल्डिङ अफ रिमुभल रहेको छ । साथै उनीसँग सन् २०१५ देखि निरन्तर टीपीएस पनि रहेको छ । जसका आधारमा उनीसँग वर्क परमिट पनि रहेको छ । नेपालमा सन् २०१५ को महाभूकम्पपछि अमेरिकाले जुन २४, २०१५ पछि अमेरिकामा बसिरहेका कागजपत्रविहिन नेपालीहरुलाई टीपीएस प्रदान गरेको थियो ।
यमुना भन्छिन् – ‘अरुले त ग्रिनकार्ड वा नागरिकता नभएपनि अन्य कागजात पेश गर्दासमेत ऋण पाए भन्ने सुनियो । तर हामीले भने खै किन पाएनौं ?’
यमुनाको सोही प्रश्न हामीले एसबीए समक्ष राखेका थियौं । यसबारे एसबीएका सार्वजनिक मामिला विशेषज्ञ क्रिस्टलिन सोलोमन भन्छन् – ‘एक गैर–अमेरिकी नागरिक जसले २० प्रतिशत वा सोभन्दा बढी व्यवसायको स्वामित्व राख्छ र अमेरिकामा बस्छ भने उनीहरूलाई नन सिटिजन नेशनल वा योग्य एलियनका रूपमा वर्गीकृत गरिएको थियो भने उनीहरु कोभिड ईआईडीएल ऋणका लागि योग्य थिए । योग्य एलियनमा ग्रीन कार्ड भएका स्थायी बासिन्दाहरू पनि पर्छन् ।’
एसबीएको स्टाण्डर्ड अपरेटिङ प्रोसिजर एसओपीमा पनि ऋणका लागि योग्यता, आवेदन प्रकृया लगायतका विषयहरु समेटिएको छ । जसमा योग्य एलियनमा ग्रिनकार्डवाहक, एसाइलम स्वीकृत भएका व्यक्ति, शरणार्थीका रुपमा प्रवेश गरेका व्यक्ति, अमेरिकामा कम्तीमा १ बर्षका लागि परोल्ड गरिएका व्यक्ति, डिपोर्टेशन विथहोल्डमा रहेका व्यक्ति लगायत पर्छन् ।
एसबीएको तथ्यांक अनुशार ईआईडीएल ऋणका लागि २१ दशमलव १ मिलियन आवेदनहरु प्राप्त भएकोमा ३ दशमलव ९ मिलियन आवेदनमात्र स्वीकृत भएका छन् । ३ मिलियन आवेदनकहरुले आवेदन फिर्ता लिएको र एसबीएले ७ दशमलव १ मिलियन आवेदनहरु अन्तत अस्वीकार गरेको तथ्यांक रहेको छ । एसीबीएले ७ लाख ६१ हजार पुनविर्चार अनुरोधहरु प्राप्त गरेको थियो भने त्यसमध्ये झण्डै १ लाख ६२ हजारको आवेदनमात्र स्वीकार गरेको थियो ।
दक्षिण एसियाली र इन्डो क्यारेबियन समुदायको आर्थिक विकाशका लागि काम गर्दै आएको सामाजिक गैर नाफामुलक संस्था छाया सीडीसीका सिनियर स्मल विजनेश अर्गनाइजर उर्गेन शेर्पाले नेपाली भान्सा घरजस्ता अध्यागमन स्टाटसका कारण ऋण पाउन नसकेका व्यवसायहरुका सन्दर्भमा आफूहरुले जनप्रतिनिधिहरुलाई घचघचाउने काम गरिरहेको बताए । उनले भने – ‘हामीले यसबारे यसक्षेत्रका जनप्रतिनिधिहरुलाई जानकारी गराएका छौं । कँग्रेसवुमन अलेक्जेन्ड्रिया ओकासियो कोर्टेजको कार्यालयबाट यस सन्दर्भमा काम गर्ने प्रतिवद्धता पनि आएको छ ।’
कँग्रेसवुमन अलेक्जेन्ड्रिया ओकासियो कोर्टेज उक्त रेष्टुरेण्टको समस्या बुझ्न समेत पुगेकी थिइन् । सोही क्रममा उनले रेष्टुरेण्ट संचालक यमुना श्रेष्ठलाई भेटेर उनका कुराहरु सुनेकी थिइन् । उक्त भेटघाटमा कोर्टेजले आफूमाथि विभेद भएको र त्यसबारे आवाज उठाउने तथा सहयोगका लागि प्रयास गर्ने आश्वास दिएको यमुना श्रेष्ठले बताइन् ।
अलेक्जेन्ड्रिया ओकासियो कोर्टेजका डिस्ट्रिक्ट कम्युनिकेशन म्यानेजर डि एगो डे ला भेगाले कँग्रेस वुमन कोर्टेज अमेरिकाको सबैभन्दा ठूलो नेपाली डायस्पोरा समुदायको प्रतिनिधित्व गर्न पाउँदा गर्व गर्ने बताउदै गतबर्ष कांग्रेसवुमनले पहिलो दक्षिण एसियाली समुदाय स्पेस सिर्जना गर्न २ मिलियन डलर सुरक्षित गर्न सफल भएको जानकारी दिए ।
सीडीसीद्वारा सञ्चालित उक्त स्पेसले विभिन्न सहायताहरु प्रदान गर्नुका साथै नेपाली अनुवाद र व्याख्या मार्फत पहुँचयोग्य बनाइएको भेगाले बताए । उनले भने – ‘नेपाली साना व्यवसायहरू सफल भएको देख्नु काँग्रेसवुमनका लागि पनि महत्वपूर्ण छ । भान्सा घर जस्ता रेस्टुरेन्टहरूमा गएर उनीहरूको चिन्ता सुन्नदेखि गोर्खाली रेष्टुरेण्टलाई ढोका खुला राख्न मद्दतको लागि समर्थनको लागि आव्हान गर्नेसम्म कँग्रेसवुमनले हाम्रा छिमेकीहरूलाई फस्टाउन मद्दत गर्न काम गरिरहेकी छिन् ।’
न्युयोर्क सिटीले ल्याएको पछिल्लो सस्तो ब्याजको ऋण कार्यक्रम स्मल विजनेश अपर्चुनिटी फण्ड समेत प्राप्त गर्न नसकेको यमुनाले बताइन् । यो ऋण प्राप्त गर्नका लागि महिला र आप्रवासीबाट संचालित रिकभर भइरहेका व्यवसायलाई प्राथमिकता दिइने उल्लेख थियो । उनी भन्छिन् – ‘यो त पाइएला कि भन्ने आशा थियो । तर यो पनि अस्वीकार भयो ।’
म:म: क्राउलमा ५ पटक विजेता
नेपाली भान्साघर रेष्टुरेण्ट न्युयोर्क सिटीको बार्षिक म:म: क्राउलमा ५ पटक विजेता भइसकेको छ भने यहाँको म:म:को प्रशंसा गर्दै न्युयोर्क टाइम्स र इटरले समेत पटकपटक रिभ्यु प्रकाशित गरेको छ । म:म: क्राउलमा पटकपटक विजेता भएपछि पाएको मिडिया कभरेजले ग्राहक बृद्धि गर्नमा सहज भएको अनुभव सुनाउँछिन् यमुना श्रेष्ठ ।
विभिन्न संचारमाध्यममा प्रकाशित समाचार रिभ्युपछि ग्राहक बढेको अनुभव सुनाउदै यमुना भन्छिन् – ‘एकाएक ग्राहकहरुको भींड लाग्न थाल्यो । नेपाली समुदाय बाहेक अन्य समुदायका ग्राहकहरु पनि अचानक बढे । हामी त कसरी यस्तो भींड भयो भनेर अचम्म पर्यौं । पछि बुझ्दा हाम्रोबारेमा न्युयोर्क टाइम्स लगायत विभिन्न संचारमाध्यमहरुमा समाचार र रिभ्युहरु आएको रहेछ ।’
रेष्टुरेण्टमा सबैभन्दा बढी बिक्ने पनि म:म: नै भएको बताउँछिन् यमुना । ग्राहकहरुले रेष्टुरेण्टमै आएर झोल म:म:, स्टीम म:म: खानेमात्र नभई फ्रोजन म:म: पनि लैजाने गरेको उनले बताइन् । उबर, ग्रबहब, डोरड्यास, सिमलेस लगायत एप्लीकेशनबाट डेलिभरी समेत गर्ने गरेको उनले बताइन् ।
विहान ८ बजे नै खुल्ने यो रेष्टुरेण्ट राती ११ बजेसम्म खुल्ला रहन्छ । यमुना श्रेष्ठ विहानैदेखि काममा दौडधुप गरिरहेकी हुन्छिन् । ग्राहकहरुको सेवामा सकृय रहँदा बेलुकासम्म पनि उनको अनुहारमा मुस्कान कायमै रहेको हुन्छ । रेष्टुरेण्टमा विजनेश बढाउनका लागि महामारीपछि मेनुमा खानाहरु समेत थपिएको छ । महामारीपछि बढेको भाडा, मुद्रास्फीति लगायतका कारण रेष्टुरेण्ट संचालनको खर्च पनि बढेको छ । यसै क्रममा कोरोना महामारीपछि कैयन रेष्टुरेण्टहरुले मूल्य बढाएका छन् । तर आफूहरुले भने मूल्य नबढाएको र कोरोना अगाडिकै मूल्यमा खाना उपलब्ध गराएको बताउँछिन् यमुना ।
सामाजिक सञ्जाल र वेवसाइट अझ व्यवस्थीत बनाउन सके ग्राहकहरु बढ्ने आशा छ उनको । रेष्टुरेण्टको वेवसाइट त छ तर अपडेटेड भने छैन । सामाजिक सञ्जाल पनि व्यवस्थीत छैन । उनी भन्छिन् – ‘अहिले पनि इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल हेरेर ग्राहकहरु आउने गर्नुहुन्छ । सामाजिक सञ्जालमा फिडब्याक पनि राम्रो छ । तर आफूलाई प्राविधिक ज्ञान नभएका कारण व्यवस्थीत बनाउन सकेकी छैन । त्यसमा काम गर्ने मान्छे पनि छैन ।’
१५ बर्षदेखि परिवारबाट अलग
सन् २००८ को अप्रिल ४ मा आँखाभरी सपना बोकेर अमेरिका आएकी थिइन् यमुना । उनी अमेरिका आएको पनि यही अप्रिल ४ मा ठ्याक्कै १५ बर्ष भयो । अमेरिका आउने क्रममा नेपालमै छाडेर आएकी ४ बर्षकी छोरी अहिले १९ बर्षकी भइन्, ८ बर्षका छोरा अहिले २३ बर्षका भए । यमुनाले आफ्ना छोराछोरी र श्रीमानलाई भेट्न नपाएको पनि १५ बर्ष भइसक्यो ।
सन् २००८ मा अमेरिका आइसकेपछि उनले झण्डै ७ बर्ष लिभइनमा जागिर गरिन् । र, त्यहीबाट कमाएको पैसाले उनले रेष्टुरेण्ट व्यवसाय संचालन गर्ने निधो गरिन् । नेपालमा हुँदा पनि यमुना महिला उद्यमी नै थिइन् । उनको स्याङजाको वालिंगमा फर्निचर उद्योग थियो भने उनी उद्योग वाणिज्य संघ स्याङजाको संस्थापक सदस्य समेत थिइन् । व्यवसायको त्यही हुटहुटीले उनलाई अहिले न्युयोर्कमा महिला रेष्टुरेष्ट व्यवसायी त बनायो तर त्यसको बदलामा परिवारबाट लामोसमयदेखि टाढा रहनुपर्यो ।
उनी भन्छिन् – ‘परिवारबाट टाढा बस्दा दुख लाग्छ । छोराछोरीलाई अमेरिकामा नै राम्रो शिक्षा दिलाउने इच्छा थियो । उनीहरुको पनि अमेरिकामा पढ्ने इच्छा थियो । तर मेरो एसाइलम भएका कारण अमेरिकी दूतावास काठमाडौंले उनीहरुको विद्यार्थी भिसा आवेदन अस्वीकार गरिदियो । त्यसैले उनीहरु अमेरिका पढ्न आउन समेत पाएनन् ।’
अब एउटा आधार भनेको टीपीएस रहेको बताउँछिन् यमुना । अमेरिकामा रहेका झण्डै १० हजार नेपाली टीपीएसवाहकमध्ये एकजना उनी पनि हुन् । आप्रवासी अधिकारकर्मीहरुले टीपीएसवाहकलाई स्थायी समाधानको बाटोमा लैजानुपर्ने मागहरु गर्दै आएका छन् । जो बाइडेनले आफ्नो चुनावी प्रतिवद्धतामा टीपीएस र डाकाले समेटेकाहरुलाई ग्रिनकार्डको बाटोमा लैजाने प्रतिवद्धता जनाएका थिए । तर उक्त प्रतिवद्धता वास्तविकतमा परिणत हुन सकेको छैन ।
गतबर्ष टीपीएसबाट ट्राभल डकुमेन्ट लिएर परिवारलाई भेट्न जाने योजना थियो यमुनाको । तर युएसससीआईएसमा भएको चर्को ब्याकलगका कारण उनको ट्राभल डकुमेन्ट गतबर्ष डिसेम्बर ३१ मा टीपीएसका कागजातको अवधि सकिनुभन्दा केही अगाडिमात्र आयो । २०२२ को डिसेम्बर ३१ मा टीपीएसका कागजातको अवधि सकिने तय भएकाले उक्त मितिसम्मको म्याद भएकोमात्र ट्राभल डकुमेन्ट आएकाले उनी परिवारलाई भेट्न जान पाइनन् । अब नेपालीका टीपीएसका कागजातको म्याद सन् २०२४ को जुन ३० सम्म थपिएको छ । यमुनाले नयाँ ट्राभल डकुमेन्टका लागि आवेदन दिएकी छिन् ।
उनी भन्छिन् – ‘नयाँ ट्राभल डकुमेन्ट आएपछि एकपटक परिवारलाई भेट्न जाने इच्छा छ । अब हाम्रो आधार टीपीएस हो । त्यसैले टीपीएसमा हुनेहरुलाई ग्रिनकार्डको काटोमा लैजाने गरी स्थायी समाधान गरिदिए हुने थियो । परिवारलाई अमेरिका देखाउन मन छ ।’
(यो रिपोर्ट न्युयोर्क सिटी मेयरको मिडिया र मनोरन्जन कार्यालयको आर्थिक सहयोगमा सेन्टर फर कम्युनिटी मिडियाबाट आयोजित साना व्यवसाय रिपोर्टिङ फेलोशिपको एक भागको रूपमा उत्पादन गरिएको हो ।)