फ्लाई दुबईको विमान दुबईमा सुरक्षित अवतरण, काठमाडौँमा किन गरिएन अवतरण?


प्रकाशित मिति : बैशाख ११, २०८० सोमबार

काठमाडौं विमानस्थलबाट उडे लगत्तै चरा ठोक्किएर इन्जिनमा समस्या आएको बताइएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । विमान स्थानीय समयअनुसार राती १२ बजेर ११ मिनेटमा अवतरण गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सोमबार राति उडेको फ्लाई दुबईको विमानको इञ्जिनमा खराबी देखिएपनि चालकले केहीबेर होल्ड गरेर विमान गन्तव्यतिर लगेका थिए । विमानस्थलबाट उडान भरे लगत्तै उक्त विमानको इञ्जिनमा ठूलो आवाजसहित आगोको झिल्को देखियो । पाइलटले विमानलाई धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा करिब ११ मिनेट होल्ड गरेर  इञ्जिनको कन्डिसन जाँच गरेका थिए । विमानको सिङ्गल इञ्जिन खराब भएपछि आकाशमा होल्ड गरेर जाँच गरिएको थियो त्यतिन्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तैनाथ थिए ।

टावरका एटीसीले पाइलटसँग निरन्तर ‘कम्युनिकेसन’ गरिरहेका थिए । पाइलटले विमान सामान्य अवस्थामा रहेको र गन्तव्य जाने भनेपछि विमानस्थलका अधिकारीले उडान खुलाउने निर्णय लिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानको इञ्जिनमा खराबी आएपछि आकस्मिक अवतरणको तयारी गरियो । राति ९:२० मिनेटदेखि ९:५९ सम्म विमानस्थमा अन्य विमानको उडान रोकेर अवतरणको तयार गरिएको थियो । विमानस्थलमा दमकल, ‘लोकल स्ट्याण्डबाई’ गरियो । यो भनेको कुनै विमानले खराबी देखिए इमर्जेन्सी भनी घोषणा गरेपछि आकिस्मक अवतरणका लागि गरिने अभ्यास र तैनाथ संयन्त्र हुन् ।

दमकलसहित भेहिकल, सुरक्षाकर्मी, अस्पताल सबै तयारी अवस्थामा राखियो । पाइलटले विमान गन्तव्य पुग्छ भन्ने घोषणा गरेपछि विमानस्थलले सबै उडान खुलायो ।

काठमाडौँमा किन विमान अवतरण गरिएन भनी सोधिएको जिज्ञासामा प्राधिकरणका सहायक प्रवक्ता भुलले विमानको सबै पार्टपूर्जा जाँच गर्दा ठीक रहेको र विमान गन्तव्य पुग्छ भन्ने पाइलटले निर्णय लिएपछि उक्त विमान गन्तव्यतिर लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाइलटको निर्णय नै अन्तिम निर्णय हुन्छ । युनाइटेड अरब इमिरेट्स (युएई) मा विमान दर्ता भएकाले उतै अवतरण गर्ने निर्णय भएको हुनसक्छ । दुवै देशमा उडान गर्ने विमान हो समस्या आएन भने दुबईमा नै विमान अवतरण हुन्छ ।”

यस्तो किसिमको घटनामा विमान काठमाडौँमा अवतरण गर्न सहज हुन्छ ? भन्ने थप जिज्ञासामा सहायक प्रवक्ता भुलले त्यस किसिमको सबै क्षमता विमानस्थलमा रहेको र कथमकदाचित विमान अवतरण गर्नुपरेको भए विमानस्थलमा अवतरण गर्न सकिने उहाँले बताउनुभयो ।

विमानका सम्बन्धमा नेपालको एटीसीसँग सोधपुछ गर्न सक्छन् । नेपालमा अवतरण भएको भए यहाँ प्राविधिक समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने हुन्थ्यो । तर विमान दुबईमै अवतरण गर्ने भएकाले दुबईको सिभिल एभिएसन अथोरिटीले प्राविधिक समिति बनाएर विमानको अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ ।

विमानमा आगो लागेको इञ्जिन बन्द गरिन्छ । सिङ्गल इञ्जिनमा विमान उड्छ तर गति कम हुन्छ । विमानस्थलको टावरका एटीसीले विमानचालकसँग कम्युनिकेसन गरेपछि विमान सामान्यतवरले गन्तव्यतर्फ उडेको महाप्रबन्धक तिवारीले बताउनुभयो ।

विमानको दुई इञ्जिन रहेकाले सुरुमा एक इञ्जिनले काम गरेको र पछि दुवै इञ्जिन राम्ररी सञ्चालन रहेकाले विमान गन्तव्यमै सामान्यरूपमा अवतरण गरेको हो ।

राससका सिबी अधिकारीको सहयोगमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com