डिभीको कन्फर्मेशन नम्बर हरायो ? यसरी पाउनुहोस् सहजै
प्रकाशित मिति : बैशाख २३, २०८० शनिबार
२०२४ को डिभी लोटरीको नतिजा सार्वजनिक भइसकेको छ । नेपाली समय अनुशार शनिबार राती पौने १० बजेदेखि डिभी लोटरीको नतिजा सार्वजनिक भएको हो । तर कतिपय भने कन्फर्मेशन नम्बर सुरक्षित राख्न नसकेका कारण कसरी डिभी परेको थाहा पाउने अन्यौलमा रहेका छन् ।
डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर कन्फर्मेशन नम्बर हालेर स्टाटस चेक गर्ने हो । कन्फर्मेशन नम्बर, थर र जन्मबर्ष हालेर डिभी परे नपरेको चेक गर्न सकिन्छ । तर कन्फर्मेशन नम्बर हराइहाले पनि चिन्ता गर्नु नपर्ने भएको छ ।
डिभी लोटरीको कन्फर्मेशन नम्बर हराएको खण्डमा नाम, जन्ममिति र इमेल ठेगाना मार्फत कन्फर्मेशन नम्बर प्राप्त गर्नसकिने सुविधा अमेरिकी सरकारले दिएको छ । तर तपाईले डिभी भर्ने बेला जुन इमेल ठेगाना प्रयोग गर्नुभएको थियो त्यही इमेल ठेगाना उल्लेख गर्नुपर्छ । हराएको कन्फर्मेशन नम्बर प्राप्त गर्न सकिने सुविधा अहिले नै उपलब्ध भइसकेको छ ।
हराएको कन्मफर्मेशन नम्बर प्राप्त गर्नका लागि यहाँ क्लीक गरेर आफ्नो विवरणहरु पेश गर्नुहोला ।
तपाईसँग पहिले नै कन्फर्मेशन नम्बर छ वा माथि उल्लेखित विधिबाट इमेलमा कन्फर्मेशन नम्बर प्राप्त गर्नुभयो भने अब तपाईले आफूलाई डिभी परे नपरेको सहजै हेर्न सक्नुहुनेछ ।
यदि तपाई डिभीका लागि छनौट हुनुभएन भने तपाई छनौट नहुनुभएको सुचना स्क्रीनमा देख्न सक्नुहुनेछ । यदि तपाई छनौट हुनुभएको खण्डमा त्यसपछिको प्रकृयासहितको पत्र स्क्रीनमा देख्न सक्नुहुनेछ ।
अमेरिकी कङ्ग्रेसको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३(सी) ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।
आर्थिक वर्ष सन् २०२४ का लागि ५०,००० डाइभर्सिटी भिसा (डिभी) उपलब्ध गराइनेछ ।
चिठ्ठा पर्ने आवेदकहरू (“विजेताहरू”) ले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।
डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि https://dvprogram.state.gov/ मा गई “एन्ट्रेन्ट स्टेटस चेक” (Entrant Status Check) मा क्लिक गरी आफ्नो युनिक कन्फर्मेशन नम्बर र व्यक्तिगत जानकारी हाल्नुहोस्। तपाईँंले आफू डिभी–२०२२ का लागि छनोट भए नभएको पत्ता लगाउन र आफ्नो आप्रवासी भिसा अन्तर्वार्ता अपोइन्टमेन्ट मिति चेक गर्नका लागि एन्ट्रेन्ट स्टेटस चेक प्रयोग गर्नु पर्दछ ।
अमेरिकी सरकारले तपाईँलाई प्रत्यक्ष रूपमा सूचित गर्दैन । एन्ट्रेन्ट स्टेटस चेक आफ्नो आवेदनको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने निर्देशनहरूको एक मात्र स्रोत हो । एन्ट्रेन्ट स्टेटस चेक ई– डिभीको वेबसाइटमा मे ६ देखि सन् सेप्टेम्बर ३०, २०२४ सम्म उपलब्ध हुनेछ ।
सन् २०२४ का डिभी विजेताहरुले आगामी अक्टोबर १ बाट भिसा पाउन सुरु गर्नेछन् । योग्यताका मापदण्ड पुगेका छनोट भएकाहरू तथा उनीहरूका योग्य पारिवारिक सदस्यहरूको आवेदनउपरको सम्पूर्ण कार्यवाही र डिभी भिसा जारी २०२४ सेप्टेम्बर ३० भित्र गरिसक्नुपर्दछ । सो मिति पछि डिभी जारी गर्न मिल्ने छैन न त कुनै पनि परिवारिक सदस्यले सो मिति पश्चात्अमेरिका गइसकेका प्रमुख आवेदकसँग बसोबास गर्न जानका लागि डिभी प्राप्त गर्न सक्नेछ ।