नेपालबाट १० बर्षमा १३०६ शरणार्थी अमेरिका प्रवेश, के त्यसमा नक्कलीमध्येका पनि छन् ?
प्रकाशित मिति : बैशाख २९, २०८० शुक्रबार
नेपालबाट १० बर्षमा १३०६ जना शरणार्थीहरु अमेरिका प्रवेश गरेको रेकर्ड अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीबाट प्राप्त भएको छ । तर त्यसमा हालको नक्कली भुटानी शरणार्थी प्रकरणका व्यक्तिहरु भने समावेश भएको पुष्टी भएको छैन ।
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार सन् २०१२ मा ८३ जना, सन् २०१३ मा ११५ जना, सन् २०१४ मा १४८ जना, सन् २०१५ मा २०१७ जना, सन् २०१६ मा ३१० जना र सन् २०१७ मा १९९ जना शरणार्थीहरु नेपालबाट अमेरिका आएका छन् । त्यस्तै सन् २०१८ मा १९३ जना, सन् २०१९ मा १६ जना, सन् २०२० मा ४ जना र सन् २०२१ मा २१ जना शरणार्थीका रुपमा नेपालबाट अमेरिका आएका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै ४ सय जना व्यक्ति भुटानी शरणार्थी बनेर अमेरिका छिरिसकेको सुचना आफूले पाएको दावी गरेपनि हालको नक्कली भुटानी शरणार्थी प्रकरणबाट ती व्यक्ति अमेरिका छिरेको उनको दावी प्रमाणित गर्ने कुनै आधार भने फेला परेको छैन ।
बरु छुटेको भनेर दावी गरिएका नक्कली भुटानी शरणार्थीहरुमध्ये ४२९ जना व्यक्ति सक्कली भएको भन्दै झापाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको शरणार्थी समन्वय इकाई र युएनएचसीआरले सिफारिस गरेका थिए । तर उनीहरु अमेरिका भने आउन पाएका थिएनन् ।
यूएनएचसीआरले नेपालबाट एक लाख १३ हजारभन्दा धेरै भुटानी शरणार्थीहरूलाई विभिन्न आठवटा देशमा पुनर्वासको सहजीकरण गरेको थियो। त्यसमक्ये झन्डै एक लाख शरणार्थीलाई अमेरिकाले स्वीकारेको थियो। नेपालमा रहेका भुटानी शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६ को डिसेम्बर ३१ मा नै सम्पन्न भइसकेको छ ।
नेपालमा बाँकी भएका ६,००० भन्दा बढी शरणार्थीहरू पूर्वी नेपालका बेलडाँगी तथा पथरी -शनिश्चरे शिविरमा छन्। अहिले तिनै बाँकी शरणार्थीको व्यवस्थापनबारे निर्क्योल हुने क्रममा नीतिगत रूपमै भ्रष्टाचार गरेर नक्कली शरणार्थीहरूको नामावली तयार पारेको खुलासा भएको हो ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनसहित आफूहरूबाट दशौँ लाख रुपैयाँ लिइएको तर पछि बिचल्लीमा पारिएको भन्दै प्रहरी समक्ष उजुरी दिने मानिसको सङ्ख्या १०० भन्दा बढी भइसकेको छ।
भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधान पहिल्याउन गृह मन्त्रालयका भूतपूर्व सहसंयोजक बालकृष्ण पन्थी नेतृत्वको कार्यदल ओली नेतृत्वको सरकार सत्तामा भएका बेला गठन गरिएको थियो।
तात्कालिक गृहमन्त्री रामबहादुर थापाको मन्त्रीस्तरीय निर्णयबाट गठन भएको उक्त कार्यदलको प्रतिवेदनले सन् २०१९ सम्म एक लाख १३ हजार जनाभन्दा बढी शरणार्थी तेस्रो देशमा पुनर्वासपछि दर्तावाल ६,५५७ भुटानी शरणार्थी नेपालमा रहेको र केही शिविरबाहिर र दर्ता हुन छुट भएको जनाएको थियो ।
नेपाल प्रहरीले उक्त प्रकरणको अनुसन्धान गरिरहेको छ भने अनुसन्धानको सिलसिलामा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित कैयौँ उच्चपदस्थ अधिकारी पक्राउ परेका छन्। सोही प्रकरणमा मुछिएका भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीवार दिउँसोसम्म फरार छन्।