जुलाईका लागि डिभी विजेता नेपालीको केस नम्बरमा उल्लेख्य थप, बनाइयो १९,४००
प्रकाशित मिति : बैशाख ३१, २०८० आईतबार
अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार जुलाई महिनाका लागि पनि डिभी विजेता नेपालीहरुको केस उल्लेख्य रुपमा थप गरिएको छ । मेको तुलनामा जुनमा केस नम्बर नथपिएतापनि जुलाईमा भने १७ हजार ७ सय ७५ बाट बढाएर १९ हजार ४ सय बनाइएको छ ।
मे महिनाका लागि पनि १७ हजार ७ सय ७५ सम्म केस नम्बर हुने नेपालीको डाइभर्सिटी भिसा करेन्ट रहेको छ । अप्रिलका लागि यो नम्बर १२ हजार ६ सय रहेको थियो ।
जनवरीका लागि नेपालीहरुको केस ५५ सय रहेकोमा फेब्रुअरीका लागि १५ सय थपेर ७ हजार बनाइएको थियो भने मार्चका लागि ८ हजार २५ रहेको रहेको थियो । डिसेम्बरका लागि भने नेपालीहरुको केस नम्बर १७ सय मात्र रहेको थियो । अक्टोबरमा १४५० सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा पाउनसक्नेगरी सिमाबन्दी तोकिएकोमा नोभेम्बरका लागि समेत सोही सिमाबन्दी कायम रहेको थियो ।
डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने प्रावधान रहेतापनि अमेरिकी दूतावास काठमाडौंले अक्टोबर र नोभेम्बरमा कसैलाई पनि डाइभर्सिटी भिसा जारी गरेन । डिसेम्बरदेखि भने डिभी विजेता नेपालीहरुलाई भिसा जारी गर्न थालिएको छ ।
चालु आर्थिक बर्षका डिभी विजेताहरुले सन् २०२३ को सेप्टेम्बरभित्र भिसा पाइसक्नुपर्ने प्रावधान रहेको छ । कुल १ लाख १९ हजार २ सय ६२ जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले भिसा पाउनसक्नेछन् । आर्थिक बर्ष २०२३ का डिभी विजेता नेपालीहरुको संख्या ३८०८ रहेको छ ।
डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए । उनीहरुले २०२१ को अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म डिभी लोटरी भरेका थिए । अमेरिकाभित्रै हुने डिभी लोटरी विजेताहरुले युएससीआईएसमार्फत स्थीति समायोजन गरेर ग्रिनकार्ड पाउनसक्छन् भने बाहिर हुनेले कन्सुलर प्रकृयामार्फत भिसा प्राप्त गर्नेछन् ।