‘बिना ग्रिनकार्ड अमेरिकी नागरिकता दिने कार्यक्रमबाट सुरक्षा खतरा’ – रक्षा मन्त्रालय
प्रकाशित मिति : श्रावण २५, २०७४ बुधबार
अमेरिकी रक्षा मन्त्रालयका अनुसन्धानकर्ताहरुले झण्डै एकबर्ष लामो अनुसन्धानपछि ग्रिनकार्ड विना सिधा नागरिकता उपलब्ध गराउने पेन्टागनको माभ्नी कार्यक्रम सुरक्षाका हिसाबले जोखिमपूर्ण रहेको निष्कर्ष निकालेका छन् । मिल्ट्री एक्सेसन भाइटल टु द नेशनल इन्ट्रेस्ट अर्थात् माभ्नी कार्यक्रम पेन्टागनको एउटा यस्तो सैन्य कार्यक्रम हो, जसमार्फत अमेरिकी सेनामा भर्ती हुने निश्चित मापदण्ड पूरा गरेका गैरआप्रवासीहरुले ग्रिनकार्ड प्राप्त नगरीकनै तीनदेखि ६ महिनाभित्र अमेरिकी नागरिकता प्राप्त गर्न सक्छन् ।
तर अब यो कार्यक्रमबाट अमेरिकामा सम्भावित सुरक्षा खतरा रहेको निष्कर्ष रक्षा मन्त्रालयका अनुसन्धानकर्ताहरुले निकालेका छन् । यो कार्यक्रम सुरु भएयता सन् २००९ देखि १० हजार जना आवद्ध भइसकेका छन्, जसमध्ये नेपालीहरुको संख्या उल्लेख्य छ । झण्डै एकबर्षभन्दा लामो अनुसन्धानपछि पेन्टागनका इन्सपेक्टर जनरलले एउटा रिपोर्ट प्रकाशित गर्दै माभ्नी कार्यक्रमबाट गम्भिर सुरक्षा खतरा रहेको जनाएका छन् । जुन रिपोर्ट अहिलेसम्म गोप्य श्रेणीमा राखिएको छ ।
अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरुले माभ्नी कार्यक्रम अहिलेपनि सकृय रहेको तर नयाँ आवेदनहरु लिन भने बन्द गरिएको पुष्टी गरेका छन् । विदेशी भाषा जान्ने र अन्य क्षमता भएका तर अमेरिकाको ग्रिनकार्ड नभएकाहरुका लागि सिधा अमेरिकी नागरिकता पाउने गरी सेनामा भर्ती गर्नेगरी माभ्नी कार्यक्रमको डिजाइन गरिएको थियो । यो कार्यक्रमका धेरै सफलताका कथाहरु छन्, जसमध्ये एउटा नेपाली युवा सरल श्रेष्ठ बर्षकै उत्कृष्ट सिपाही बन्न सफल भएका थिए ।
यो कार्यक्रमको कार्यान्वयनमा अनुशासनको अभावका कारण समस्या सृजना भएको रिपब्लिकन सांसद तथा सेवानिबृत्त सैन्य अधिकारी स्टीभ रसेलले बताएका छन् । पेन्टागनका प्रवक्ता पाउल हाभरस्टीकले सम्भावित सुरक्षा खतराका कारण माभ्नी कार्यक्रमको पुनरावलोकन भइरहेको जनाएका छन् ।
के हो यो विशेष कार्यक्रम ?
माभ्नी कार्यक्रमको पूरा नाम मिल्ट्री एक्सेसन्स भाइटल टु नेशनल इन्ट्रेस्ट हो । यो कार्यक्रम अन्तरगत अमेरिकामा ग्रिनकार्ड प्राप्त नगरेका तर भिसाको स्टाटस नगुमाएकाहरुलाई उनीहरुको क्षमता मुलुकका हितका लागि महत्वपूर्ण रहने भन्दै रक्षामन्त्रालय अन्तरगतको सैन्य सेवामा प्रवेश दिइन्छ । केही निश्चित भाषा जानेकाहरु वा स्वास्थ्य सेवामा काम गरेकाहरुले यस्तो अवशर प्राप्त गर्न सक्छन् । तोकिएका केही निश्चित भाषाहरुमा नेपाली भाषा पनि एउटा भएकाले नेपाली भाषा जानेको व्यक्ति यो कार्यक्रमबाट लाभान्वित हुँदै आएका थिए ।
सन् २००८ मा यो कार्यक्रम एकवर्षका लागि लागु गरिएको थियो । यो कार्यक्रम सन् २००९ को डिसेम्बरसम्मका लागि लागु गरिएको थियो । त्यतिबेला जम्मा १ हजार जनलाई भर्ती गर्ने लक्ष्य राखिएको थियो । त्यसपछि यो कार्यक्रम यत्तिकै थन्किएको थियो । पछि हरेक वर्ष १५ सय जनालाई भर्ति गर्ने गरी सन् २०१२ को मे १६ बाट यो कार्यक्रम पुन संचालन गरियो । जसको अवधि सन् २०१४ को सेप्टेम्बरको अन्त्यसम्म मात्र थियो । त्यसपछि यो कार्यक्रमको अवधि थपिनेमा आशंकाहरु थिए । तर सन् २०१६ को सेप्टेम्बर अन्त्यसम्मका लागि यो कार्यक्रम थप्ने अनुमतिपत्रमा अण्डरसेक्रेटरी अफ डिफेन्स जेसिका राइटले हस्ताक्षर गरेपछि यो कार्यक्रम थपिएको थियो । अहिले भने कार्यक्रमको अवधि थपिएको छैन ।
कस्ले भर्ती हुन पाउँथ्यो ?
एसाइली, रिफ्युजी वा अस्थायी रुपमा कानुनी हैसियत संरक्षण गरिएका व्यक्ति यो कार्यक्रमका लागि योग्य हुँदै आएका थिए । अमेरिकाले ब्यापार सन्धी गरेका देशबाट अमेरिकामा ब्यापारमा संलग्न हुनका लागि आएका ‘ई’ भिसा भएका व्यक्ति, अमेरिकामा पत्रकार र संचारमाध्यमका कर्मचारीका रुपमा आएका ‘आई’ भिसा भएका व्यक्ति, अमेरिकामा विद्यार्थी भिसा (एफ भिसा) मा आएकाहरु, कामदार भिसा (एच भिसा) मा आएकाहरु, एक्सचेन्ज भिजिटरका रुपमा ‘जे’ भिसामा आएकाहरु, ‘के’, ‘एल’, ‘एम’, ‘ओ’, ‘पी’, ‘क्यु’, ‘आर’, ‘एस’, ‘टी’, ‘यु’, ‘भी’ लगायतका भिसा भएकाहरु यो कार्यक्रमबाट लाभान्वित हुँदै आएका थिए । कलाकारका रुपमा आएकाहरुदेखि आपराधिक गतिविधिको शिकार भएकाहरु सम्मले यो कार्यक्रमबाट लाभ लिन सक्थे ।
यो कार्यक्रम अन्तरगत स्वास्थ्य क्षेत्रका लागि भर्ती हुनेहरुले कम्तीमा ३ वर्ष सकृय रुपमा वा कम्तीमा ६ वर्ष रिजर्भका रुपमा काम गर्नुपर्छ । भाषाका क्षेत्रमा छनौट भएकाहरुले कम्तीमा ४ वर्ष सम्म सकृय रुपमा काम गर्नुपर्छ । नेपाली , हिन्दी, उर्दु लगायतका ४४ वटा भाषाहरुलाई यो कार्यक्रममा समावेश गरिएको थियो । यो कार्यक्रमबाट फाइदा लिएर ग्रिनकार्ड समेत नभएका नेपालीहरु एकैपटक अमेरिकाको नागरिक बन्न सक्ने भएकाले यो कार्यक्रमप्रति अमेरिकामा रहेका तर ग्रिनकार्ड नभएका नेपाली युवाहरुको आकर्षण पनि बढ्दो थियो ।
कसरी पाउने सिधा अमेरिकी नागरिकता ?
यो कार्यक्रम अन्तरगत पूर्णकालिन वा अल्पकालिन रुपमा अमेरिकाको सैन्य सेवामा प्रवेश गर्नेहरुले झण्डै तीनमहिनामा नै अमेरिकाको नागरिकता प्राप्त गर्न सक्छन् । यो कार्यक्रम अन्तरगत स्वास्थ्य सेवामा प्रवेश गर्ने व्यक्तिले अमेरिकी सेना र उनीहरुका परिवारलाई स्वास्थ्यसेवा दिनका लागि खटिनुपर्छ । यो कार्यक्रम अन्तरगत अमेरिकाको सैन्य सेवामा प्रवेश गर्न चाहने व्यक्तिले सबैभन्दा पहिले भर्ती अधिकृतलाई भेट्नुपर्छ । त्यसपछि भर्ती हुने व्यक्तिसँग अन्तरवार्ता लिनुका साथै उसको योग्यता जाँचिन्छ । स्वास्थ्य परिक्षण र पृष्ठूभूमी जाँच गरिसकेपछि कुनै व्यक्तिलाई भर्ती गर्ने वा नगर्ने निर्णय लिइन्छ ।
सुरुदेखि भर्तीहुँदासम्म झण्डै ६ महिनाको अवधि लाग्छ । त्यसपछि झण्डै १० हप्ताको आधारभूत तालिमसम्म सबैलाई अमेरिकी नागरिकता प्रदान गर्ने यो कार्यक्रमको लक्ष्य छ । अर्थात् भर्ति भइसकेपछिको झण्डै तीनमहिनामा अमेरिकी नागरिकता प्राप्त गर्न सकिन्छ । जतिबेलासम्म आधारभूत तालिम समाप्त भइसकेको हुन्छ । केही व्यक्तिको हकमा भने यो अवधि थोरै लम्बिनसमेत सक्छ ।
नेपाली ‘सोल्जर अफ द इयर’
यो कार्यक्रमप्रति जति नेपालीहरुको आकर्षण थियो, विभागमा नेपालीहरुप्रतिको विश्वास पनि बढ्दो थियो । किनभने केहीसमय अगाडि यो कार्यक्रमबाट अमेरिकी सेनामा प्रवेश गरेका एकजना नेपालीले ‘सोल्जर अफ द इयर’ को सम्मान र उपाधी नै प्राप्त गर्न सफल भए । काठमाडौंमा जन्मिएका र काठमाडौंमा नै हुर्किएका सरल कुमार श्रेष्ठले यस्तो विशिष्ट उपाधी प्राप्त गरेका हुन् । १७ वर्षको उमेरमा अध्ययनको शिलशिलामा अमेरिकामा आएका श्रेष्ठ सुरुमा फिलाडेल्फिया आएका थिए भने पछि नेब्रास्कामा गए ।
यत्तिकैमा सन् २००९ मा अमेरिकी सरकारको रक्षा मन्त्रालयले अमेरिकी नागरिकता वा ग्रिनकार्ड विना पनि अमेरिकी सेनामा भर्ती हुन सकिने माभ्नी कार्यक्रम ल्यायो । श्रेष्ठ यो कार्यक्रम अन्तरगत भर्ती भए र सन् २००९ को सेप्टेम्बरमा आधारभूत तालिममा गए । तालिम सकिनासाथ उनले अमेरिकी नागरिकता पनि प्राप्त गरे । सन् २०११ मा अफगानिस्तानमा खटिएका श्रेष्ठले लगातार कडा मिहिनेत गरे । जब उनी अमेरिकामा फर्के एउटा प्रतियोगितामा भाग लिएर वर्षकै उत्कृष्ट सिपाहीबाट सम्मानित भए । यसरी सरलका लागि माभ्नी कार्यक्रम बरदान सावित भयो ।
त्यस्तै नेपाली क्रिकेटमा सुनसरी टिमको कप्तानी गर्दा गर्दै अध्ययनको शिलशिलामा अमेरिकामा आएका थिए सुधाकर घले । उनी पनि माभ्नी कार्यक्रम अन्तरगत अमेरिकी सेनामा भर्ति भए । उनी भन्छन् –“ मेरो एमबीए सकिन लागेको थियो । ग्रयाजुएसनपछि के गर्ने भन्ने अन्यौल पनि थियो । रोजगारको त्यति राम्रो अवशर पनि थिएन । त्यसैले अमेरिकी सेनामा भर्ना भए“ ।” अस्थायी रुपमा अमेरिकामा बसोबास गरिरहेका आप्रवासीहरुलाई स्थायी रुपमा बसोबासको सपना साकार गराउने भएकाले पनि सुधाकरको अमेरिकी सेनामा आकर्षण बढेको थियो । सुचिकृत भाषीका शिक्षित आप्रवासीहरुलाई अमेरिकी सेनामा भर्ना लिने सरकारी कार्यक्रम माभ्नी अन्तरगत सुधाकर जस्ता सयौं नेपाली युवाहरु अमेरिकी सेनामा भर्ना भएका छन् ।