के अमेरिकामा नेपाली टीपीएसवाहकले अक्टोबर २४ पछि ६० दिनभित्र पुन: आवेदन दिनुपर्छ ?


प्रकाशित मिति : जेष्ठ ३२, २०८० बिहीबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालीको टीपीएसको अवधि सन् २०२५ को जुन २४ सम्मका लागि थप गरेपनि उक्त अवधिसम्म टीपीएस कायम राख्नका लागि टीपीएसवाहकले आगामी अक्टोबर २४ पछि ६० दिनभित्र रि रजिष्ट्रेशन गर्नुपर्छ । टीपीएस कायम राख्नका लागि आगामी अक्टोबर २४ देखि डिसेम्बर २३ सम्म ६० दिनको अवधिमा रिरजिष्ट्रेशन गर्नुपर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालसहित एल साल्भाडोर, होन्डुरस र निकारागुआका लागि टीपीएस खारेज गर्दे अघिल्लो प्रशासनको निर्णय उल्टाउँदै सन् २०२३ को डिसेम्बर २५ बाट टीपीएसको अवधि १८ महिना थप्ने घोषणा गरेको हो । यस अगाडि टीपीएसका कागजातको अवधि सन् २०२४ को जुन ३० सम्म स्वत थपिएपनि आफैमा टीपीएसको अवधि भने थपिएको थिएन ।

यसबारे फेडरल रजिष्टरमा चाँडै सुचना प्रकाशित हुनेछ । उक्त सुचनाले योग्यता, मापदण्ड, समयरेखा, र वर्तमान लाभार्थीहरूलाई टीपीएसको लागि पुन दर्ता गर्न र तिनीहरूको वर्क परमिट नवीकरण गर्न आवश्यक प्रक्रियाहरू व्याख्या गर्नेछ।

सूचना प्रकाशित भएपछि नेपाली टीपीएसवाहकहरु रि रजिष्टर गर्न र सन् २०२५ को जुन २४ सम्म टीपीएस कायम राख्न सक्षम हुनेछन्। जुन २४, २०१५ भन्दा पछाडि अमेरिका आएका नेपालीहरु भने टीपीएसका लागि योग्य हुनेछैनन् । उक्त मितिभन्दा अगाडि आएकाहरु र निरन्तर अमेरिकामा बसोबास गरिरहेकाहरुमात्र टीपीएसका लागि योग्य छन् । अमेरिकामा नेपाली टीपीएसवाहकहरु झण्डै १४ हजार ५ सय रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com