नेशनल भिसा सेन्टरले आप्रवासी भिसाका लागि प्रकृया अगाडि बढाउन कति समय लगाइरहेको छ ?


प्रकाशित मिति : असार २, २०८० शनिबार

रोजगार वा परिवारमा आधारित ग्रिनकार्डका लागि आवेदन युएससीआईएसबाट स्वीकृत भइसकेपछि नेशनल भिसा सेन्टरमा पठाइन्छ । नेशनल भिसा सेन्टरले भिसा करेन्ट हुने बित्तिकै आवेदनबारे कारवाही सुरु गर्छ । नेशनल भिसा सेन्टरले अहिले दु्रत गतिमा आवेदनबारे कारवाही गरिरहेको छ । यद्यपी नेशनल भिसा सेन्टरमा प्रकृया पूरा भएपछि दूतावासमा भिसाका लागि अप्वाइन्टेमन्ट पाउन प्रतिक्षा गर्नुपर्ने अवधि भने लामो नै रहेको छ ।

नेशनल भिसा सेन्टरमा केस आइसकेपछि केसको फाइल निर्माण गरिन्छ । अहिले नेशनल भिसा सेन्टरले युएससीआईएसबाट गत मे ३१ र त्योभन्दा अगाडि प्राप्त आवेदनबारे फाइल निर्माणको काम गरिरहेको जनाएको छ । युएससीआईएसले आवेदकलाई आवेदन स्वीकृत भएको आई ७९७ सूचना पठाएपछि नेशनल भिसा सेन्टरमा आवेदनलाई थप प्रकृयाका लागि पठाउँछ । त्यसपछि नेशनल भिसा सेन्टरले केस निर्माण गरेर प्रणालीमा आवेदनबाट डाटा प्रविष्ट गर्छ ।

आवेदकको केस सिर्जना गरेपछि नेशनल भिसा सेन्टरले आवेदकलाई प्रशोधनका लागि निर्देशनहरू, साथै आवेदकको केस नम्बर र इनभ्वाइस नम्बर समावेश गरेर स्वागत पत्र पठाउछ । उक्त नम्बरहरु प्रयोग गरेर नेशनल भिसा सेन्टरको कन्सुलर इलेक्ट्रोनिक आवेदन केन्द्रमा लग इन गरेर आवेदन प्रकृया अगाडि बढाउनुपर्छ ।


रोजगार वा परिवारमा आधारित ग्रिनकार्डका लागि आवेदन युएससीआईएसबाट स्वीकृत भइसकेपछि नेशनल भिसा सेन्टरमा पठाइन्छ ।

स्वागत पत्र सुरक्षित ठाउँमा राख्न नेशनल भिसा सेन्टरले सुझाव दिएको छ । किनकि सम्पूर्ण भिसा प्रक्रियामा कन्सुलर इलेक्ट्रोनिक आवेदन केन्द्रमा लग इन गर्न आवेदकलाई यो जानकारी चाहिन्छ।

निवेदकको स्पोन्सर, वित्तीय कागजातहरू, डीएस २६० र आवेदकका सबै अन्य सरकारी लगायतका कागजातहरुसहित शुल्क प्राप्त गरिसकेपछि नेशनल भिसा सेन्टरले रिभ्यु प्रकृया सुरु गर्छ । अहिले २७ मे भन्दा अगाडि सबै कागजात प्राप्त भएका र भिसा करेन्ट भएकाहरुको आवेदन नेशनल भिसा सेन्टरले हेरिरहेको छ । नेशनल भिसा सेन्टरबाट स्वीकृत भइसकेपछि आवेदन अन्तरवार्ताका लागि दुतावासमा पठाइन्छ तर दुतावासमा अप्वाइन्टमेन्टका लागि चर्को ब्याकलग भएकाले केही समय लाग्न सक्छ ।

यदि तपाईले आफ्नो आवेदनबारे नेशनल भिसा सेन्टरमा सोधपुछ गर्न चाहनुहुन्छ भने तपाईले अनलाइनमार्फत सोधपुछ गर्न सक्नुहुनेछ । यसको जवाफ नेशनल भिसा सेन्टरले झण्डै एकसातामा उपलब्ध गराउँछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com