आजदेखि बढ्यो अमेरिकी भिसाशुल्क, अमेरिकी सरकारलाई २७ करोड डलर आम्दानी हुने अपेक्षा


प्रकाशित मिति : असार २, २०८० शनिबार

आजदेखि अमेरिकी भिसा शुल्क बृद्धि भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले जुन १७ देखि बाट लागु हुनेगरी गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाएको हो ।

भिजिटर भिसा लगायत  ईबाहेक सबै गैर आप्रवासी भिसाका लागि १६० डलर शुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर १८५ डलर बनाइएको छ । भिजिटर भिसा, विद्यार्थी भिसा, ट्रान्जिट भिसा, मिडिया भिसा लगायतका अधिकांश गैर आप्रवासी भिसाका लागि भिसा शुल्क १६० डलर रहेकोमा बृद्धि गरिएको हो ।  ब्यापारी, लगानीकर्ता लगायतका लागि प्रदान गरिने ई श्रेणीको भिसा शुल्क २०५ डलरबाट बढाएर ३१५ डलर बनाइएको छ ।

त्यस्तै रोजगारमा आधारित कामदार र गैर आप्रवासी भिसाहरुहरुको शुल्क १९० डलर रहदै आएकोमा २०५ डलर बनाइएको छ । एच, एल, ओ, पी, क्यु, आर लगायतका श्रेणीका यस्ता भिसाको शुल्क बढाइएको हो ।

त्यस्तै २ बर्षसम्म नयाँ भिसा नलिनेगरी जे भिसा लिएकाहरुलाई छुट दिनुपरेको खण्डमा छुट आवेदनका लागि १२० डलर लिइदै आएकोका त्यसमा भने शुल्क बढाइएको छैन । निश्चित प्रकारका जे भिसावाहकहरु अमेरिकाबाट फर्केपछि २ बर्ष अमेरिका जान नपाउने प्रावधान रहेकोमा २ बर्षअगाडि जानुपरेमा छुटको आवेदन दिन आवश्यक हुन्छ ।

विभिन्न प्रकारका भिसा शुल्कहरु बढाउँदा अमेरिकी सरकारलाई २७ करोड, ४१ लाख २० हजार ५९५ डलर आम्दानी हुने अपेक्षा गरिएको छ ।

नेपालीको भिजिटर भिसा आवेदनबाट मात्र अमेरिकी दूतावासलाई गतबर्ष ४७ करोड आम्दानी

नेपालीको भिजिटर भिसा आवेदनबाटमात्र अमेरिकी दूतावासलाई गत आर्थिक बर्ष २०२२ मा झण्डै ४७ करोड नेपाली रुपैया आम्दानी भएको छ । अमेरिकी सरकारको ब्यूरो अफ कन्सुलर अफ कन्सुलर अफेयर्सले जारी गरेको तथ्यांक अनुशार पछिल्लो विनिमयदरले हिसाव गर्दा आम्दानी झण्डै ४७ करोड नेपाली रुपैया आम्दानी भएको देखिएको हो ।

भिजिटर भिसा आवेदकको संख्यालाई हरेकको १६० डलरको दरले हिसाब गर्दा यो रकम निस्किएको हो । जुन झण्डै ३६ लाख अमेरिकी डलर हुन आउँछ । अमेरिकी दूतावास काठमाडौंले कतिपय सेवाका लागि १ डलर बराबर १३५ नेपाली रुपैया समेत लिने गरेको छ । अमेरिकी विदेश मन्त्रालयको तथ्याक हिसाब गर्दा आर्थिक बर्ष २०२२ मा झण्डै २२ हजार ७ सय २९ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए ।

आर्थिक बर्ष २०२१ को तुलनामा २०२२ मा अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिने नेपालीहरुको संख्या दोब्बरभन्दा धेरै रहेको थियो । आर्थिक बर्ष २०२१ मा झण्डै ८ हजार ७ सय ६० जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए । तीमध्ये अधिकांश पहिले पनि भिसा लिएका र विना अन्तरवार्ता भिसा नविकरणका लागि आवेदन दिएकाहरु थिए ।

कोरोना महामारीका कारण अमेरिकी दूतावास काठमाडौंले नियमित सेवा संचालन गर्न नसकेका कारण पनि आर्थिक बर्ष २०२१ मा कम नेपालीले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए । गतबर्ष नेपालीका भिजिटर भिसाका आवेदनबाट अमेरिकी दूतावासलाई झण्डै १४ लाख अमेरिकी डलर आम्दानी भएको थियो ।

अमेरिकी दूतावासहरूले भिसा शुल्कबाट हुने आम्दानी आवेदकहरूलाई भिसा प्रशोधनलगायत कन्सुलर सेवाहरू उपलब्ध गराउने लागत कभर गर्न प्रयोग गर्छन् । यसमा कुशल र सुरक्षित भिसा सेवाहरू प्रदान गर्न आवश्यक स्टाफ, सुविधा, उपकरण, र प्रविधिको लागत समावेश छ।

भिसा शुल्कबाट संकलित रकम एक छुट्टै खातामा जम्मा गरिन्छ र दूतावास वा वाणिज्य दूतावासको सञ्चालनलाई सहयोग गर्न विशेष रूपमा प्रयोग गरिन्छ। अमेरिकी सरकारले आवधिक रूपमा यी सेवाहरू प्रदान गर्ने लागतहरू कभर गरिएको सुनिश्चित गर्न भिसा प्रशोधन सहित विभिन्न कन्सुलर सेवाहरूको लागि शुल्कको समीक्षा र समायोजन गर्दछ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com