कतै केपी ओलीले रोपे धान, कतै रेणु दाहालले रोपिन्, किसानलाई सधै सिँचाइ र मलको पीर
प्रकाशित मिति : असार १५, २०८० शुक्रबार
असार १५ को अवशरमा नेपालका विभिन्न स्थानमा धान दिवस मनाइएको छ । धान रोपेर र विभिन्न कार्यक्रमहरु गरेर धान दिवस मनाइएको हो । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस खेतमा काम गरी दही चिउरा खाएर मनाइएको छ ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । असार १५ मा असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा धान दिवस राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।
भरतपुरले मनायो धान दिवस
भरतपुर महानगरपालिकाले राष्ट्रिय धान दिवस मनाएको छ । महानगरको कृषि तथा पशुपक्षी महाशाखाको आयोजनामा भरतपुर महानगरपालिका–९ स्थित त्रिपुरेश्वर कृषि सहकारीको जग्गामा धान रोपाइँ महोत्सव गरिएको हो ।
सो अवसरमा महानगर प्रमुख रेनु दाहालले उपकरणबाट धान रोप्नुभएको थियो । त्यसअघि प्रमुख दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले धानलाई पूजाआजा गरेर विधिवत्रुपमा रोपाइँको सुरुआत गर्नुभएको थियो ।
भरतपुर भ्रमण वर्ष सन् २०२४ को प्रचारात्मक अभियानसँगै धान दिवस मनाइएको हो । सोही अवसरमा जनप्रतिनिधि र स्थानीय युवाको हिले दौडसमेत गरिएको छ । रोपाइँ कार्यक्रममा महानगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थी तथा पर्यटन क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
धान रोपाइँ गर्नुअघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानगरप्रमुख दाहालले कृषि क्षेत्रको विकासका लागि आफू प्रमुख भएदेखि काम गरिरहेको बताउनुभयो । सिँचाइ नपुगेका ठाउँमा सिञ्चित गर्ने, कृषि उपकरण अनुदानमा वितरण गर्ने, दूध, मल र बीउमा अनुदान दिनेलगायत काम भएको उहाँको भनाइ छ । दाहालले भन्नुभयो, “कृषि क्षेत्रमा उत्पादन बढाउनका लागि भरतपुर महानगपालिकाले कृषकलाई बीउ, उपकरणलगायत सामग्रीमा सहयोग गरिरहेको छ ।” कृषि क्षेत्रको विकासका लागि थप योजना गरिने उहाँले बताउनुभयो ।
उपप्रमुख अधिकारीले भरतपुरको सहरी क्षेत्रबाहेकका ग्रामीण क्षेत्रभित्र पहिले सिँचाइको अभावमा कृषिजन्य उत्पादन सन्तोषजनक नहुने गरेको भन्दै अहिले सुख्खा टाँडी हराभरा बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “अबको केही वर्षभित्रमै हिउँदमा सबैतिर सिँचाइ पु¥याउने गरी महानगरले काम गरिरहेको छ ।”
कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष यमलाल कँडेल, वडा नं ८ का वडाध्यक्ष जीवनाथ कँडेललगायतको सहभागिता थियो । कार्यक्रममा सन् २०२४ लाई ‘भ्रमण वर्ष’का रुपमा मनाउन प्रचारात्मक अभियानमा लाग्ने जोड दिइएको थियो ।
कृषिलाई सहकार्य, सहकारी, सामूहिक प्रणालीबाट अघि बढाउनु पर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापकरूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । धान दिवसका अवसरमा आज भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि उत्पादन ठूलो मात्रामा गर्नुपर्ने उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “अहिले परिवार सानो हुने, भएकाहरू पनि विदेश पलायन हुने र कृषि पेसातर्फ आकर्षण कम हुने गरेको छ । सहकार्य र सहकारी आवश्यक छ ।”
खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्न सकेमा कसैको परनिर्भर हुन नपर्ने उल्लेख गर्दै उहाँले नेपाल कृषिप्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच महिनाको नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण कृषि उत्पादन नै हो । हामी प्रायः बाहिरबाट सबै चिज ल्याउँछौँ, तर हामीलाई खान पुग्ने अन्न, सब्जी, माछा, मासु र दूध यही उत्पादन हुन्छ । त्यसो हुनाले नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन ।”
उत्पादनलाई प्रविधिसँग जोड्न जरुरी रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले राष्ट्रिय अन्न धानको उत्पादन गुणात्मक किसिमले वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । कृषि विश्वविद्यालयले कृषि प्रविधिलाई समयसापेक्ष अनुसन्धान गरी जनतासम्म पुर्याउनुपर्ने उहाँको भनाइ थियो । “कृषिलाई आत्मनिर्भर बनाउने कुरामा विश्वविद्यालय लाग्नुपर्छ”, उहाँले भन्नुभयो । उत्पादन बिक्री नभएर फाल्नुपर्ने स्थिति नआउनका लागि विविधिकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।
‘धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्छ’
कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले अर्थतन्त्रलाई सुदृढ बनाउन धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय कृषि अनुसन्धान परिषद्द्वारा खुमल्टारमा आयोजित २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० लाई सम्बोधन गर्दै उहाँले बाँझो जमिनको उपयोग गर्ने यस वर्षको नीति रहेको र उत्पादन गरेको प्रविधि र बीउ लक्षित वर्ग किसानसम्म पु¥याएर उपलब्धि हासिल गर्न लाग्नुपर्ने बताउनुभएको हो ।
“हाम्रो अर्थतन्त्रलाई सबल बनाउन धानलाई प्रवर्द्धन गर्नुपर्ने छ । एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको छ । राज्यको तर्फबाट उपयुक्त सेवा सुविधा पु¥याउन नसक्दा बसाइँसराइ यसको मुख्य कारण बन्न पुगे । यस वर्ष बाँझो जमिनको उपयोग गर्ने नीति छ, सेवा सुविधा पु¥याउन मन्त्रालय क्रियाशील छ । यस वर्षको सबै कार्यक्रमलाई सफल बनाउन लागि परौँ ।” मन्त्री डा भुसालले भन्नुभयो ।
राष्ट्रिय योजना आयोगले कृषि मन्त्रालयको बजेट ‘सिलिङ’ घटाउँदा समस्या भएको बताउनुहुँदै मन्त्री डा भुसालले उत्पादन गरेको प्रविधि र बीउ लक्षित वर्ग किसानसम्म पु¥याएर उपलब्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि सामग्री संस्थानसँग र साल्ट टे«डिङसँग मल पर्याप्त मौज्दात रहेको भन्दै यस वर्ष मलको अभाव नहुने प्रष्ट पार्नुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतले धान उत्पादनमा नेपाल विश्वको १२ आँै स्थानमा भए पनि ठूलो सङ्ख्यामा धान आयात गरिरहेको बताउँदै धान उत्पादन वृद्धिका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
“धान उत्पादनमा नेपाल विश्वको १२ औँ स्थानमा छ । तर पनि हामी ठूलो सङ्ख्यामा धान आयात गरिरहेका छाँै । विसं २०३१ मा आठ वटा कम्पनीले धान निर्यात गर्थें, अहिले हामी धान आयात गरिरहेका छौँ । यो अवस्था किन आयो भनेर समीक्षा गर्नुपर्ने बेला आएको छ”, डा राउतले भन्नुभयो ।
सदस्य डा राउतले धान उत्पादन हाम्रो समग्र अर्थिक वृद्धिसँग जोडिएको तर्फ ध्यान दिँदै उत्पादन वृद्धिका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा दीपककुमार खरालले खाद्य सुरक्षा, आयआर्जनका दृष्टिकोणले धान उत्पादनमा वृद्धि गर्नु अहिलेको आवश्यकता रहेको तर्क गर्नुभयो ।
“खाद्य सुरक्षा, आयआर्जनका दृष्टिकोणले धान उत्पादनमा वृद्धि गर्नु आजको आवश्यकता हो । जीवन सूरक्षाका लागि कृषकमैत्री प्रविधि निर्माण गरेर धान उत्पादनमा लगाउन हामी सबैले पहल गर्नुपर्छ । यसका लागि नार्कको भूमिका महत्वपूर्ण छ । इरी संस्थासँग समन्वय गरेर उत्पादनमा वृद्धि गर्ने गरी धानका बीउ व्यवस्थापनका लागि हामी लागि परेका छौँ ।” सचिव डा खरालले भन्नुभयो ।
उहाँले सिँचाइ र पूर्वाधारको उचित व्यवस्थापन हुन नसक्दा उत्पादनमा समस्या रहेको बताउँदै चैते धानलाई कसरी प्रवर्द्धन गर्ने भन्नेमा मन्त्रालय लागेको र प्रविधिको विकासअनुसार बीउ उत्पादन र नियमन गरेर जाने कुरामा मन्त्रालयको ध्यान गएको बताउनुभयो ।
कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक डा ध्रुवराज भट्टराईले राष्ट्रिय जिडिपीमा धान उत्पादनको योगदान पाँच प्रतिशत रहेको बताउँदै गुणस्तरीय बीउ वितरण गरेर आगामी दिनमा स्थानीय सरकारसँग समन्वय गर्दै उत्पादन वृद्धिमा लाग्नुपर्ने बताउनुभयो ।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका महानिर्देशक डा रामकृष्ण श्रेष्ठले जलवायु परिवर्तनको असरले कृषि उत्पादनका साथै धान उत्पादनमा समेत असर परेको अवस्थालाई ध्यान राख्दै यस वर्षको नारा तय गरिएको बताउनुभयो । यस वर्ष धान दिवसमा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा छ । उहाँले हाल नेपाललाई ७२ लाख मेट्रिक टन धान आवश्यक पर्नेमा उत्पादन ५६ लाख मेट्रिक टन मात्रै उत्पादन भइरहेको कताउनुभयो ।
पाल्पामा ३० प्रतिशत रोपाइँ
पाल्पामा हालसम्म करिब ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । असारको मध्य भागसम्म आइपुग्दा जिल्लाका केही स्थानमा मात्रै रोपाइँ सुरु भएको छ ।
विगतका वर्षको तुलनामा यस वर्ष मनसुन ढिला सुरु भएकाले असार १५ सम्म धान रोप्ने कार्य कम भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारी बताउनुहुन्छ । “समयमा नै वर्षा नहुँदा रोपाइँ कम क्षेत्रफलमा भएको छ, केही ठाउँमा रोपाइँ सुरु भए पनि आकाशे पानीकै भरमा अधिकांश जमिनमा रोपाइँ गरिने भएकाले पानी पर्याप्त परेपछि रोपाइँका चहलपहल बढ्छ”, उहाँले भन्नुभयो । पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोला नजिकका खेतमा रोपाइँ सुरु भएको छ ।
जिल्लामा असारको पहिलो हप्ताबाट रोपाइँ अगाडि बढेको छ । बाँझो जमिन, खोला र नहरका पानी लाग्ने जमिनमा धान रोप्ने काम भएको छ । मकैखेती भएका जमिन, आकाशकै पानीमा निर्भर जमिनमा असारको तेस्रो हप्तापछि धान रोपाइँ सुरु हुनेछ । हालसम्म पाल्पामा माडीफाँट, दोभान, अर्गली, रम्भा, पूर्वखोला, बगनासकाली लगायतका क्षेत्रमा रोपाइँ सुरु भएको छ ।
दाङ, लमही नगरपालिका६ मध्यनगरस्थित खेतमा धान रोप्न हिङ्गाले हिलो सम्याउँदै कृषक महिला । गोरु नहुनेहरू धान रोप्न आफैँले हिङ्गा तानेर खेत सम्याउने गर्छन । तस्बिरः कुलदीप न्यौपाने/रासस
पाल्पामा करिब आठ हजार छ सय २० हेक्टर क्षेत्रफलमा रोपाइँ गरिँदै आएको छ । जिल्लाको माडीफाँट, अर्गली, रामपुर, हुँगी, हेक्लाङ्ग, पूर्वखोला, दोभान लगायतका क्षेत्र धान उत्पादका मुख्य पकेट क्षेत्र हुन् । पछिल्लो समय गाउँ–गाउँमा कृषि यान्त्रिकरणको विकासले पनि रोपाइँ छिटोछरितो हुने गरेको छ ।
सावित्री, हाइब्रिड, रामधान, सावाँ मन्सुली लगायतका धानका जात जिल्लामा बढी चलनचल्तीमा छन् । रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ । उत्पादन बढी लिने उद्देश्यले कृषक उन्नत प्रविधिका धानमा आकर्षित हुन थालेका छन् ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । युवा जनशक्ति पलायन, सीमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकाशे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउबिजन तथा मलखाद एवं अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको विज्ञहरुले बताएका छन् ।
आज देशभर राष्ट्रिय धान दिवस मनाइँदैछ । असार १५ गते ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन धान दिवससँगै रोपाइँ जात्राका रुपमा मनाउने गरिन्छ । धान उत्पादनमा आधुनिक प्रविधि किसानलाई सिकाउन, असार १५ लाई उत्सवका रुपमा मनाउन कृषि ज्ञान केन्द्र पाल्पाले मदनपोखरा बहुप्राविधिक शिक्षालय तानसेन र तानसेन नगरपालिकाको सहकार्यमा आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रम गरेको छ ।
सधैँ सिँचाइ र मलको पीर
बागलुङमा करिब ५० प्रतिशत रोपाइँ हुनु पर्नेमा सिँचाइ र मल अभावका कारण अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ भएको छ । भौगोलिक बनाट र भिरालो जमिनका कारण यहाँ पर्याप्त सिँचाइको सुविधा छैन ।
सिँचाइको अभावका कारण किसानले अकाशे पानीको भरमा धान रोप्न बाध्य छन् । वैशाखदेखि असारको पहिलो सातासम्म खडेरी परेकाले यस वर्ष रोपाइँ ढिला भएको किसान बताउँछन् । केही दिनयतादेखि निरन्तर वर्षा हुन थालेपछि कृषक खेतबारीमा पुगेर खनजोतमा लागेका छन् ।
जिल्लाको निसीखोला र गलकोटका अधिकांश ठाउँमा रोपाइँ भए पनि अन्य पालिकामा न्यून मात्रामा रोपाइँ भएको छ । केही दिनदेखि परेको वर्षाले किसानलाई राहत मिलेको गलकोटका कृषक विरबहादुर खत्रीले बताउनुभयो । “धान र कोदोको ब्याड राखेपछि लामो समय पानी नपर्दा बीउ कसरी जोगाउने भन्ने चिन्ता थियो । पानी पर्न थालेपछि यहाँका किसान खनजोतमा व्यस्त छन्”, उहाँले भन्नुभयो । व्यवस्थित सिँचाइका लागि नहर र कुलो नहुँदा रोपाइँ सकिसक्नुपर्ने बेला बल्ल रोपाइँ सुरु गर्नुपरेको उहाँले बताउनुभयो ।
खेतीयोग्य जमिन हुँदाहुँदै पनि मल र सिँचाइको अभावमा समयमै बाली लगाउन नसकेको कृषक खत्रीले बताउनुभयो । उहाँले वर्षौंदेखि अकाशे पानीको भरमा धान बाली लगाउँदै आएको भन्दै अहिलेसम्म सिँचाइको समस्या समाधान हुन नसकेको गुनासो पोख्नुभयो ।
गाउँमा धेरै जसो किसानले गोठे तथा प्राङ्गारिक मल प्रयोग गरे पनि पछिल्लो समय पशुचौपाया पाल्न छोडेपछि रासायनिक मलको आवश्यक पर्ने गरेको खत्रीले बताउनुभयो । रासायनिक मल जिल्ला सदरमुकामसम्म आएपछि दुर्गम गाउँसम्म नपुगेको उहाँको भनाइ थियो । उहाँले किसानको लगानीले कुलो बनाउन नसकिने भन्दै कुलो र नहर बनाउन बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
“पहाडी क्षेत्र भए पनि हाम्रो ठाउँमा धान राम्रो उत्पादन हुन्छ, सिँचाइ र मल अभावका कारण समयमा रोपाँइ गर्न सकिएको छैन”, कृषक खत्रीले भन्नुभयो, “यसलाई सरोकारवाला निकायले अहिलेसम्म पनि समाधान गर्न सकेनन्, लामो समय खडेरी पर्यो भने हामीले धान लगाउँनै पाउँदैनौँ, खोलानाला प्रशस्त छन् तर कुलो नभएकाले खेतमा पानी ल्याउन सकिएको छैन ।”
कृषक नीमप्रसाद पौडेलले सरकारले कृषिमा करोडौँ बजेट विनियोजन गरे पनि कृषकले आवश्यकता अनुसार सेवा लिन नपाएको गुनासो गर्नुभयो । समयमै मल नपाउँदा मलबिना नै धान लगाउनु परेको भन्दै उहाँले मलिलो माटो नहुँदा धान उत्पादन घट्ने बताउनुभयो ।
पोडैलले मल, सिँचाइको अभावका साथै गाउँमा काम गर्ने मजदुरसमेत पाइन छोडेकाले खेतबारी बाँझै रहन थालेको बताउनुभयो । “अहिले धान उत्पादन हुने जमिन घट्दै छ, पहिले गाउँभरिका अधिकांश खेतमा धान लगाइन्थ्यो, उत्पादन पनि राम्रो हुन्थ्यो, अहिले न समयमा मल आउँछ, न पानी पुर्याउन सकिन्छ”, उहाँले भन्नुभयो, “काम गर्नलाई मान्छे खोज्यो मान्छे पाइँदैनन्, गाउँ सुनसान हुन थाल्यो, गाउँमा भएका मान्छेले पनि गाईभैँसी पाल्न छाडिसके, कहाँबाट मल हुन्छ ? बजारबाट ल्याउने मल रोपाइँ सकिएपछि बल्ल आउँछ ।”
बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । खेती हुने जमिनमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।
केन्द्रका प्रमुख भानुभक्त भट्टराईले खेतीयोग्य जमिनको २०.१५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार सिँचाइ सुविधा पुगेको जमिनमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ । गाउँमा प्रशस्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा बाँझै राख्नु परेको कृषकको गुनासो छ ।
प्रमुख भट्टराईले हालसम्म जिल्लाभर २० प्रतिशत रोपाइँ भएको बताउनुभयो । लामो समय खडेरी पर्दा कृषकले बीउ तयार गरे पनि रोपाइँ गर्न नसकेको उहाँको भनाइ छ ।
जिल्लामा गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर छ हजार हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको प्रमुख भट्टराईले बताउनुभयो । “केही दिनदेखि परेको अविरल वर्षाले यहाँका किसानलाई रोपाइँका लागि सहज बनाएको छ”, उहाँले भन्नुभयो, “सिँचाइको राम्रो व्यवस्था गर्न सके जिल्लामा रोपाइँ हुने क्षेत्रफल बढ्छ ।” रैथाने जातका धान लगाउँदै आएका किसानलाई ज्ञान केन्द्रले उन्नत जातका बीउ उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।
अन्न भण्डार मानिने स्थानमा अकाशे पानीको भरमा रोपाइँ
नेपालको अन्न भण्डार मान्ने चुरे पहाडदेखि तलको भागमा अकाशे पानीको भरमा किसान धान खेती गर्न बाध्य रहेको छ भएका छन् । सिरहा जिल्लामा कूल खेतीयोग्य जग्गा ७३ हजार हेक्टर क्षेत्रफलमध्ये धान रोपाइँ ५४ हजार हेक्टर क्षेत्रफलमा हुँदै आएको छ । त्यसमध्ये हालसम्म आठ प्रतिशत पनि धान रोपाइँ हुन सकेको छैन । सिँचाइ सुविधा ३९ हजार हेक्टर क्षेत्रफल जमिनमा मात्र उपलब्ध रहेको जसको मूल स्रोत स्यालो ट्युवेल रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कूल खेतीयोग्य जग्गामध्ये गत वर्ष यही समयमा सिरहाका अधिकांश स्थानमा रोपाइँ सुरु भइसकेको थियो । फाटफुटरुपमा सरकारी र निजी स्तरबाट गाडिएको स्यालो ट्युवेलबाट विद्युतीय मोटर र दमकलबाट पानी तानेर खेती भई रहे पनि पानी नपरेपछि अधिकांश भूभागमा अझैसम्म धान रोपाइँ हुन सकेको छैन ।
मनसुन सुरु भए पनि हालसम्म पर्याप्त पानी परेको छैन । केही दिनअघिदेखि हल्का पानी परे पनि रोपाइँका लागि पानी पर्याप्त हुन नसकेको किसानले बताएका छन् । पानी नपर्दा रोपाइँ गर्न नसकिएको भगवानपुर गाउँपालिका–३ कृषक पप्पुकुमार यादवले बताउनुभयो । गत वर्ष यहीँ समयमा २५ प्रतिशत रोपाइँ भएको उहाँले जानकारी गराउनुभयो । यो वर्ष धान उत्पादनसमेत घट्ने सिरहा नगरपालिका– १५ का कृषक ब्रह्मदेव यादवको गुनासो थियो । उहाँले भन्नुभयो, “विगत वर्षमा यो बेलासम्म रोपाइँ गर्दा धान हरियो भइसक्थ्यो भने रोपाइँ पनि अति तीव्ररुपमा हुन्थ्यो । यो वर्ष कहिले रोपाइँ हुने हो थाहा छैन ।” “समयमै धान रोप्न नपाउँदा धान उत्पादनसमेत घट्न सक्ने भन्दै कृृषक चिन्तित बनेका छन् ।”
गत वर्ष यही समयमा २२ प्रतिशत रोपाइँ भइसकेकामा यो वर्ष अधिकांश स्थानमा रोपाइँ नै सुरु हुन नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र महासेठले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष पानी परेको छैन, किसानले बनाएका धानको ब्याड केहीँ सुक्न थालेका छन् । पानी परेको भए किसानले जेठको अन्तिम सातादेखि नै रोपाइँ सुरु गर्थे ।” अकाशे पानीको भर पर्दा रोपाइँ नै हुन नसकेको केन्द्रको भनाइ थियो ।
दाङमा १० प्रतिशत मात्रै रोपाइँ
दाङका अधिकांश किसानले यस वर्ष धान रोपेका छैनन् । समयमै वर्षात् नहुँदा यस वर्ष जिल्लामा रोपाइँ ढिला भएको हो । असारको मध्यसम्म पनि दाङमा करिब १० प्रतिशतमात्रै रोपाइँ सकिएको छ । यस वर्ष मनसुन ढिला भित्रिएपछि असारको दोस्रो सातासम्म पनि करिब ९० प्रतिशत खेत बाँझै छन् ।
गत वर्ष असारको दोस्रो सातासम्म करिब ३५ प्रतिशत रोपाइँ भइसकेको थियो । यस वर्ष वर्षा ढिला हुँदा रोपाइँ ढिला भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेले बताउनुभयो । “जिल्लामा यस वर्ष अहिलेसम्म करिब १० प्रतिशतमात्रै धान रोपाइँ सकिएको छ”, उहाँले भन्नुभयोे, “वर्षा ढिला हुँदा यस वर्ष अझै पनि ९० प्रतिशत खेत रोप्न बाँकी छ ।”
गत वर्ष समयमै वर्षा सुरु भएकाले असारको दोस्रो सातासम्म दाङमा ३५ प्रतिशत रोपाइँ सकिएको सूचना अधिकारी लामिछाको भनाइ छ । “गत वर्षभन्दा यस वर्ष धेरै कम रोपाइँ भएको छ”, उहाँले भन्नुभयो । यस वर्ष वर्षा समयमै नहुँदा किसानले बीउ समयमै राख्न नपाएको उहाँले बताउनुभयो । “किसानले वर्षा ढिला भएकाले बीउ समयमा राख्न पाएनन्”, उहाँले भन्नुभयो, “बीउ भएको भए अहिले वर्षाको समयमा छिटो रोपाइँ हुन्थ्यो ।”
उहाँका अनुसार जिल्लामा दाङ उपत्यकाको तुलनामा देउखुरी उपत्यकामा यस वर्ष बढी धान रोपाइँ भएको छ । राप्ती नदीको पानीले राप्ती गाउँपालिकाका अधिकांश खेतमा अहिलेसम्म रोपाइँ सकिएको छ । यस्तै गढवाका केही भागमा मात्रै अहिलेसम्म रोपाइँ सकिएको सूचना अधिकारी लामिछानेले बताउनुभयो ।
“राप्ती नदीको पानीले राप्ती र गढवा गाउँपालिकाका केही भागमा यस वर्ष अहिलेसम्म बढी रोपाइँ भएको छ”, उहाँले भन्नुभयोे, “दाङको बबई नदीको पानीले तुलसीपुरका केही वडामा मात्रै रोपाइँ सकिएको छ ।” दाङ उपत्यकामा वर्षा सुरु भएपछि मात्रै धानको ब्याड राख्न थालिएको उहाँले बताउनुभयो । अहिले राखेको धानको बीउ साउनको पहिलो सातादेखि रोप्न सकिने उहाँले बताउनुभयो ।
“धानको बीउ सामान्यतया २०/२२ दिनदेखि रोप्न सकिन्छ”, उहाँले भन्नुभयो, “अहिलेको वर्षा कायम रहेमा साउनको दोस्रो सातासम्म रोपाइँ सकिन्छ ।” खडेरी भएमा रोपाइँ फेरि प्रभावित हुनसक्ने उहाँले बताउनुभयो । यसवर्ष ढिला गरी रोपाइँ भए पनि अब लगातार वर्षा भएपछि धान उत्पादन नघट्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार दाङमा ३९ हजार चार सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । तीमध्ये १९ हजार हेक्टर क्षेत्रफल खेतमा मात्रै बाह्रै महिना सिँचाइ हुने गरेको छ । जिल्लामा आधाभन्दा बढी खेत आकाशे पानीको भरमा धान खेती हुने गरेको सूचना अधिकारी लामिछानेले बताउनुभयो । जिल्लामा बिन्देश्वरी जातको धान राम्रो उत्पादन हुने गरेको छ । यो जातको धान कम पानीमा पनि उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । पछिल्लो समय जिल्लामा राधा–४, सुख्खा–१, २, ३, ५, हरिनाथ जातको धानखेती भइरहेको उहाँले बताउनुभयो । हाइब्रेड युएस ३१२ पनि किसानले धेरैमात्रामा लगाउन थालेको उहाँको भनाइ छ ।
घोराही उपमहानगरपालिका–७ का किसान तिलक विष्टले यस वर्ष वर्षा ढिलागरी हुँदा समयमै खेत रोप्न नपाएको बताउनुभयो । “धान रोपाइँ यस वर्ष गत वर्षभन्दा ढिला भएको छ”, उहाँले भन्नुभयो, “अहिले त भर्खर केहि दिनअघि मात्रै धानको ब्याड राखिएको छ ।” अहिले भर्खर राखेको बीउ साउनको पहिलो सातापछि मात्रै रोप्न सकिने उहाँ बताउनुहुन्छ ।
अहिले सुनिँदैनन् असारे भाका
असारलाई ‘मानो खाएर मुरी उब्जाउने’महिनाको रुपमा लिने गरिन्छ । असारको दोस्रो साता बितेपछि मात्रै म्याग्दीमा रोपाइँ सुरु भएको छ । दर्के झरी र चर्को घामको प्रवाह नगरी जिल्लाका ग्रामीण क्षेत्रमा किसानले रोपाइँ गरिरहेका छन् ।
किसान रोपाइँमा व्यस्त भए पनि रोपाइँको मौलिकता भने हराउँदै गएको छ । कृषिमा यान्त्रीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रैथाने प्रविधि लोप हुँदै गएका हुन् । हलो, जुवा र गोरुको ठाउँ मिनिटेलर हलोले लिएको छ भने असारे गीत पनि सुनिन छोडेका छन् ।
“पहिला पहिला धान राम्रो फलोस् भनेर बराहा र सीमे भुमेलाई पूजा गरी बीउ चढाएर रोपाहारले असारे गीतका भाकासँगै धान रोप्न सुरु गर्दथे”, बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायले भन्नुभयो, “अहिले यी सबै कुराहरु हराउँदै गएका छन् । खेतका फाँटमा रोपाइँ चलिरहेको छ तर न हजो–जुवा र गोरु देखिए न असारे भाका नै सुनियो ।”
‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर,
घरमा छैन शितलु वचन, मनमा छैन थिर ।
छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल
जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’
लोक गायिका हरिदेवी कोइरालाले गाउनुभएका गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छोडेका छन् । आजकल असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् । आज असार १५ राष्ट्रिय धान दिवस भए पनि किसानका खेत अहिलेसम्म बाँझै छन् । केही सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले रमाइलोका लागि खेतमा गएर रोपाइँ गरेका देखिन्छ । प्रर्याप्त वर्षा नभएकाले किसान रोपाइँमा व्यस्त हुन पाएका छैनन भने असारे गीत पनि सुनिदैनन् ।
नेपालमा धान रोप्दा गाइने असारे गीत रोपाइमा दिनभर थाकेको बाउसे र रोपाहारहरु एक अर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दुःख कष्ट र थकाइ बिर्सने गर्दथे । खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका गाउँदा सुन्ने पनि लठ्ठ पर्ने गर्दथे । ती दिनहरु अब इतिहास बनेका म्याग्दीकी लोकगायिका धनकुमारी थापाले बताउनुभयो ।
“पहिला असारे गीत असार सुरु हुने वित्तिकै सुनिथ्यो तर अहिले मध्य असार भइसक्दा पनि सुनिएका छैनन्”, उहाँले भन्नुभयो, “मानो खाएर मुरी उब्जाउने भनिए पनि पहिलेजस्तो रोपाइँमा उल्लास आजकल पाइन छोडेको छ ।” आजकल मेला हिँड्ने परम्परा कम भएको र असारे गीत गाउन छाडेकाले भाकासमेत लोप भएको उहाँको भनाइ थियो ।
नयाँ पिँढीलाई असारे गीत गाउन आउँदा पनि आउँदैन् । रोपाइँका बेला बीउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्नी हुँदा उत्सवजस्तै मानिने भए पनि अहिले त्यो परम्परा हट्दै गएको र असारे रोपाइँको रौनक पनि घटेको मङ्गला गाउँपालिका–२ रणबाङका हरिकृष्ण पौडेलले बताउनुभयो ।
पछिल्लो सयममा रोपाइँको समयमा गाइने असारे गीत गाउन छाडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको पुराना गायक नेत्रबहादुर महतले बताउनुभयो । “रोपाइँमा त सुनिन छाड्यो–छाड्यो, आजभाेिल रेडियो, टिभीबाट समेत गीत सुनिँदैन”, उहाँले भन्नुभयो ।
पहिले रेकर्ड गरिएका गीतहरु प्राविधिका कारण सङ्ग्रहमा छैनन् भने पछिल्लो पुस्ताका कलाकारले सांस्कृतिक गीतभन्दा पनि व्यावसायिक गीतलाई प्राथमकिता दिँदा थप समस्या भएको म्याग्दीकाली एफएमका स्टेसन म्यानेजर राकेश शर्माले बताउनुभयो । दाइँको बेला गाइने गीत र संस्कारको संरक्षण हुन सक्यो भने यसले धान खेती र दाइँ गर्ने किसानको पनि हौसला बढ्ने उहाँको भनाइ छ ।
नेपाली लोक गीतमा विभिन्न चाडपर्व, ऋतु, खेतीपाती गर्दा गाइने सांस्कृतिक भाका र भाव मिसिएका पाइए पनि यस्ता गीतको संरक्षण र सम्वद्र्धन हुन नसकेको महतले बताउनुभयो । पुराना लोक भाका र परम्पराको संरक्षण हुन नसक्दा मौलिक संस्कृति लोप हुँदै गएका उहाँको भनाइ थियो । पुराना लोकसंस्कृति झल्काउने गीत तथा भाकाको संरक्षण गर्न अतिआवश्यक रहेको बूढापाकाको भनाइ छ ।
‘सिमसिमे पानी परेको बेला केही छैन ओत लाग्ने
जति नै राम्रो गर्छु तै पनि मैलाई हो खोट लाग्ने ।’
यस्तै–यस्तै शब्दहरुमा असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ रोप्ने गरेको बगरफाँटकी ६८ वर्षीया यामकुमारी शर्मा झलझली सम्झिनुहुन्छ । “बिहान खेतमा पसेदेखि मेलो नसकुञ्जेल गाइरहन्थ्यौँ, सबै साथीले भाका मिलाएर गाउँदा दिन बितेको पत्तो नै हुँदैनथ्यो”, उहाँले भन्नुभयो, “आजकल यी सबै कुरा कथाजस्ता हुन लागिसेके । अहिले न असारे भाका गाउन जान्ने फगामीका दौँतरी छन्, न त छोरीबुहारीले गाउन जानेका छन् ।”
धान रोप्दै गाइने असारे गीतमा दुःख, पीडा, हँस्यौली ठट्यौली, मायापिरतीका कुरा पनि समेट्ने गरेको शर्माले सुनाउनुभयो । अहिलेका युवापुस्ता प्रविधितर्फ आकर्षित भएकाले परम्परागत सीप, साधन, कला र संस्कृति हराउँदै जान थालेकामा स्थानीय बूढापाकाले चिन्ता व्यक्त गरेका छन् ।
“कृषिमा प्रविधिको प्रयोग गरी कम लागतमा बढी आम्दानी लिनु त राम्रो कुरा हो”, बेनी नगरपालिका–४ का कृषक नारायण पौडेलले भन्नुभयो, “तर परम्परागत सीप र साधनमा जैविक विधिबाट गरिने कृषि पद्धतिलाई पनि चटक्कै बिर्सनु भने हुँदैन ।” उहाँले कृषिसँग नेपालीको जीवन पद्धति पनि जोडिएको बताउनुभयो ।
ऐँचोपैँचो, सर–सापट, अर्म–पर्म, हुद्धा–डफ्फा, श्रमदान, सघाइ यी चलन नेपालीका मौलिक चलन भएको भन्दै कृषिसँग जोडिएका मौलिक परम्पराहरु संरक्षण गर्नुपर्ने बूढापाका बताउँछन् । यिनै प्रचलनको जगमा समाजको एकता र विविधता दुवै समेटिएको बेनीका लोक कलाकार प्रकाश श्रेष्ठले बताउनुभयो । असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन पनि गाउँघरमा विस्तारै हराउँदै गएको उहाँको भनाइ थियो ।
म्याग्दीमा असार दोस्रो सातासम्म जम्मा २० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
‘लेकको चरी बेँसीमा झर्यो पाकेको बर खान
हाड मासु चल्यो हृदय जल्यो गाह्रो भो घर खान
असार मास कुटेका चिउरा म कति साँचुला
सौताको हात दुई कुड्की भात म कति बाँचुला ।।’
कञ्चनपुरमा सिँचाइकै लागि सकस
गत वर्ष आज (असार १५) कै दिन महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भारतले महाकाली नदीबाट पानी छोड्दा यहाँको बेदकोट नगरपालिकामा रहेका सरोकारवाला निकायले धान दिवस मनाएका थिए ।
सिँचाइको नहरमा पहिलोपटक पानी आउँदा तत्कालिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट नै धान दिवस मनाउन कञ्चनपुर पग्नुभयो । धान दिवस सकिएसँगै भारतले पानी नहरमा नियमित छाड्न अझैसम्म तयार भएको छैन् ।
करिब डेढ दशकअघिदेखि सुरु भएको राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको २८ किलोमिटर मूल नहर बनिसक्दा पनि भारतीय पक्षले महाकाली सन्धिअनुसार उपलब्ध गराउनुपर्ने पानी दिन अझै तयार भएको छैन् ।
महाकाली नदीयता भीमदत्त नगरपालिका–९ बह्मदेवको नेपाल–भारत सिमानासम्म सन्धिअनुसार भारतले एक हजार दुई सय मिटर मूल नहर र हेड रेगुलेटरलगायत संरचना गत वर्ष तयार गरेको थियो । लगत्तै भारतीय एनएचपिसीले सिँचाइको उक्त नहरमा पानी परीक्षण गर्दै अघिल्लो वर्ष असार १५ का दिन धान दिवस मनाउन पानी उपलब्ध गराए पनि त्यसयता निरन्तर हुन सकेन।
महाकाली सिँचाइ आयोजनाले मूल नहर निर्माण भएको क्षेत्रसम्म पानी पु¥याउन पहल गरे पनि भारतीय पक्षले माथिल्लो तहबाट संयुक्त उद्घाटनपछि मात्रै नियमित पानी दिने भन्दै आलटाल गर्दै आएको छ । तेस्रो चरणअन्तर्गत २२ किलोमिटर शाखा नहर निर्माण थालिएको छ ।
कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रसमेतको गरी कूल ३३ हजार पाँच सय हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउन सुरु गरिएको आयोजनाको काम शुक्लाफाँटा नगरपालिकासम्म पुगेको छ ।
“यस वर्ष पनि आज पानी छाड्न आग्रह गर्दै निकै पहल ग¥यौँ”, महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इन्जिनियर शम्भू पण्डितले भन्नुभयो, “तर भारतीय पक्षले माथिल्लो निकायबाट आदेश नआइ दिन नसक्ने बतायो ।”
उहाँले केही दिनअघि स्थानीयस्तरमा भारतीय पक्षसित छलफल गरी आवश्यकताअनुसार पानी छाड्ने सहमति भए पनि अन्तिममा पानी दिन आनाकानी गरिएको बताउनुभयो । यता कञ्चनपुरमा अझै ३० प्रतिशत कृषकले मात्रै नियमित सिँचाइ सुविधा पाएको देखिन्छ ।
त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का रामसिंह रानाले सिँचाइ सुविधा नहुँदा लामो समयदेखि आकाशे पानी कै भरमा खेती गर्नुपरेको बताउनुभयो । “बस्ती छेउछाउमा न नहर नत नदी नै छ ।” रानाले भन्नुभयो, “मोटरबाट पानी तानेर सिँचाइ सुविधा पु¥याउन धौ–धौ छ ।”
सिँचाइ सुविधा पु¥याउने भन्दै दशकअघि यहाँ नहर निर्माणका लागि सर्भेक्षण गरिए पनि नहरको निर्माण भने टुङ्गो अझै नलागेको उहाँले बताउनुभयो । त्यस्तै कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीले कञ्चनपुरमा ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती हुँदै आएको जानकारी दिनुभयो ।
उहाँले यहाँ ७० प्रतिशत जमिन सिञ्चित हुने भए पनि कुलो र नहरबाट भने ३० प्रतिशत मात्रै सिँचाइ सुविधा पुगेको बताउनुभयो । “मौसमी र बेमौसमी वर्षा गरेर यहाँ ३९ हजार नौ सय ८८ हेक्टर जमिनमा सिँचाइ पुगे पनि नियमित सिँचाइ सुविधा भने १६ हजार हेक्टर जमिनमा मात्रै छ”, प्रमुख जोशीले भन्नुभयो, “२३ हजार हेक्टरमा आंशिक सिँचाइ सुविधा पुग्छ ।”
उहाँले अझै पनि यहाँ किसानमा लामो समयदेखि आकाशे पानीका भरमा सिँचाइ गरेर खेतीपाती गर्नुपर्ने बाध्यतामा रहेको बताउनुभयो । प्रमुख जोशीले यसअघि कञ्चनपुरमा एक लाख ९३ हजार मेट्रिक टन धान उत्पादन भएको भएको पनि जानकारी दिनुभयो ।
पछिल्लो समय यहाँका विभिन्न पालिकामा प्रदेश र सङ्घ सरकारको पहलमा सिँचाइका लागि बोरिङ गर्ने र ट्युवबेल निर्माणको काम भने अघि बढिरहेको छ ।
मोरङमा बीस प्रतिशत रोपियो धान
‘जलवायु अनुकूलित कृषि मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ मोरङका विभिन्न स्थानमा आज राष्ट्रिय धान दिवस मनाउँदै रोपाइँ भइरहेका छन् । असार महिनाको आधा समय बितिसक्दा यस पटक जिल्लामा २० प्रतिशतमात्र अर्थात् आठ हजार तीन सय ३० हेक्टर जमिनमा धान रापाइँ भएको हो ।
कुल ८३ हजार तीन सय हेक्टर जमिनमा धान रोप्ने गरिएकामा हालसम्म २० प्रतिशतमात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख रामदेव सिंहले बताउनुभयो । समयमा पानी नपर्नाले रोपाइँ ढिलो भएको हुनसक्ने उहाँको भनाइ थिायो। गत वर्ष ९९ प्रतिशत रोपाइँ भएकामा यस पटक पनि मौसमले साथ दिए साउन १५ सम्ममा सबै धान रोपिसकिने प्रमुख सिंहको जिकिर थियो । जिल्लामा धेरै मात्रामा रन्जीत धान, राम धान, विवि एघार, स्वार्णलगायत धान लगाउने गरिएकोे ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष जिल्लामा ८२ हजार चार सय ६७ हेक्टर जमिनमा धान रोपाइँ भएकामा तीन लाख ३८ हजार एक सय १४ मेट्रिक टन धान उत्पादन भएको थियो ।
महोत्तरीमा निराश असारे पन्ध्र
असारे गीत गाउँदै हिलाम्य खेतमा पसेर छुपुछुपु धान रोपिने असारे पन्ध्र पर्व यसपालि निराश भएको छ । असार दोस्रो साता बित्दासम्म पर्याप्त पानी नभएर धानको गाबोसम्म पनि लगाउन नपाइएपछि यहाँका किसानलाई यसपालिको असार पन्ध्र निराश बनेको हो । धान रोपाइँसँग मनाइने धान दिवसका दिन रोपाइँको सुरसार नभएपछि किसानमा उल्लास छैन ।
“रोपाइँको के कुरा गर्नु खै ? यसपालि त धुले बीउ राख्ने पानी पनि परेन् । घामको रापले दुबोसमेत मरेको छ”, बर्दिबास–७ मनहरिपुरका किसान नीरबहादुर खत्री भन्नुभयो, “धान रोपिने खेत खङरङ्ग सुकेर खनजोत गर्न सकिएको छैन ।”
मुख्य बालीका रुपमा रहेको धान लगाउन पानी नै नपरेपछि रोपाइँसँग जोडिएको असारे पन्ध्र पर्वको खुसी छाउन नसकेको खत्रीसहित यहाँका किसानको भनाइ छ । अलिपछि पानी परिहाल्ला भन्ने आशमा घरकरेसा नजिक दुःख गरेर राखिएको धानको बीउ ब्याडमै सुकेको छ । माटो गालेर पानी परी हाले पनि बीउको अभावले धान रोप्न नपाइने किसान बताउँछन् ।
“दिनहुँ ब्याडमा पानी छर्केका भरले बीउ जाग्दो रहेनछ, असार–१५ त भइहाल्यो, अब माटो गाल्ने गरी पर्याप्त पानी परे पनि बीउको अभावले रोपाइँ गर्न सकिँदैन” भङ्गाहा–४ पलारका किसान महेश सर्दारले भन्नुभयो । असार लाग्नासाथ आकाशमा बादल मडारिने, वर्षा हुन थाल्ने र सबै किसान रोपाइँमा व्यस्त हुने पुरानो तालिका केही दशकयता कथाजस्तै बन्न थालेको पाका किसान सम्झनुहुन्छ ।
“अखाढ चैढ्ते हमर दादा हवाके गतिके आधारमे बारिस होयबाक÷नई होयबाक अनुमान करैत छला, आ ओ अनुमान ठिक बैठेत छल” (असार लाग्नासाथ मेरा बाजे हावाको गति गमेर वर्षा हुने÷नहुने अनुमान गर्नुहुन्थ्यो, त्यतिखेर त्यो अनुमान मिल्थ्यो) पलारका ८५ वर्षीय किसान चौठी बाँतरले भन्नुभयो, “आब त गर्मी, हवा आ मेघ देख्क कैल कोनो अनुमान नई मिलैय” (अचेल त गर्मी, हावा र बादल हेरेर गरिने अनुमान केही मिल्दैनन्) । के कारणले यस्तो भएको भन्ने जानकारी नभए पनि मानिसले प्राकृतिक सम्पदामाथि मनलाग्दो दख्खल बढाउँदा मौसमका अनुमान मिल्न छाडेका विद्यालयका शिक्षकले सुनाएका बाँतरले बताउनुभयो ।
“झमझम पानीमा रुझेर रोपाइँमा लाग्नुपर्ने बेलामा दिउँसभरि टन्टलापुर घाम र राति आकाशभरि तारा देखिन्छन्”, भङ्गाहा–४ रामनगरका ७८ वर्षीय किसान दीपबहादुर फुयाँल भन्नुभयो, “अहिले त महिना पनि असार हो कि होइन भनेर झस्काउने पो गरेको छु ।” असार मध्य भइसक्दासम्म राम्ररी पानी नपर्दा असारे पन्ध्र पर्वको उल्लास र रौनक कतै नदेखिएको उहाँले बताउनुभयो । धान रोप्न नपाएपछि यहाँका किसान परिवार कसरी पाल्ने भन्नेमा चिन्तित छन् ।
समयमा धान रोप्न नपाएपछि खाद्यान्न सङ्कट पर्ने चिन्ताले पिरोलेको स्थानीय जमिला खातुनले बताउनुभयो । जेठको तेस्रो साताभित्र बीउ राखिसक्ने र असार तेस्रो साताभित्र धानको मूल (शाही) रोप (धानको मूल रोप र खरुअन (कलम) रोप गर्ने चलन) रोपी सक्ने किसानको तालिका यसपालि पानीको अभावले रोकिएको उहाँको भनाइ थियो ।
असार तेस्रो साताभित्र शाहीरोप सक्ने र त्यो रोपो गाँजिएपछि उखेलेर साउन तेस्रो साताभित्र खरुअन (कलम) को रोपाइँ सक्ने धान खेतीको तालिका रहँदै आएकामा आकाशे पानी नपर्दा खेती नै सङ्कटमा पर्न सक्ने देखिएको औरही नगरपालिकाको भोइल बस्तीका किसान मोहन महतोले बताउनुभयो ।
समयमा पानी नपर्दा, धानको बीउ नपाउँदा ब्याड राख्न ढिलाइ भएको, मल पाउन नसकेको र अहिले खेतमा पर्याप्त पानी नहुँदा यहाँका किसान आकासतर्फ हेर्दै दिन बिताउँदैछन् ।
“खेतीका लागि पहिलो कुरा सिँचाइको प्रबन्ध हुनुपर्ने हो”, बर्दिबास–९ पशुपतिनगरका ८५ वर्षीय किसान नथुनी महतोले भन्नुभयो, “बस्ती नजिकका नदी÷खोल्सी घरखेत बगाउने र बर्खे भेलले बिजोग बढाउनेमात्र छन्, बाँधपैनी (कुलो नहर) को प्रबन्ध नहुनु, बीउमल समयमा पाउन नसक्नु र सिँचाइको सुविधा नपुग्नुलगायत कारणले राम्रो खेती हुन सकेको छैन ।” सरकारले किसानलाई दिने भनिएका कृषि ऋण, अनुदान र अन्य सुविधा समयमा नपाउँदा किसान थप मर्कामा परेका उहाँको भनाइ थियो ।
महोत्तरी जिल्लामा कूल खेतीयोग्य ७१ हजार हेक्टर जग्गामध्ये करिब ५० हजार हेक्टर क्षेत्रफल धान खेतीका लागि उपयुक्त मानिन्छ । पानी, बीउ, कृषि जनशक्ति र मलको अभावका कारण रोपाइँमा समस्या हुने गरेको कृषि सेवा प्रदायक सरकारी कार्यालयका कृषिविज्ञ बताउँछन् । पानीको अनुकूलता÷प्रतिकूलतामा धान खेतीको क्षेत्रफल बर्सेनि घटबढ हुने गरेको उनीहरु बताउन्छन् ।
जिल्लामा कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमात्र सिञ्चित रहेकाले यहाँको धेरैजसो खेती आकासे पानीमै भर पर्नुपर्ने स्थिति रहेको कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादवले बताउनुभयो । यसपालि वर्षा नहुँदा रोपाइँ अलि पछि पर्ने देखिएको उहाँको भनाइ छ ।
जिल्लामा रातु, बडहरी, ओक्सी, जङ्घा, मरहा, भब्सी, खयरमारा, बिग्ही, कुटमेश्वरी, बाँकेलगायत नदी बगे पनि ती नदीको पानी उपयोग गरी खेतबारीमा सिँचाइ गर्न नसकिएको यादवले बताउनुभयो ।
“जिल्लामा प्रत्येकजसो बस्ती छेउमै नदी बग्छन्”, एकडारा गाउँपालिकाका किसान इलियास अन्सारीले भन्नभयो, “नदीको पानी खेतमा सिँचाइका लागि व्यवस्थित गर्न नसकिँदा बर्खेभेलले घरखेत बगाउने त्रासमा बस्नु परेको छ ।” पानीकै अभावले कुनै खेती समयमा लगाउन नपाउँदा अपेक्षित उत्पादन कहिल्यै लिन नसकेको किसानको भनाइ छ ।
जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहले कृषि पहिलो प्राथमिकता रहेको बताउँदै आए पनि सिँचाइको प्रबन्ध नगर्दा किसान मर्कामा परेका छन् ।
सुक्खा, खडेरी, अल्पवृष्टि, अनावृष्टि र बाढीपहिरा, चुरेक्षेत्र र नदीमा हुने अनियन्त्रित उत्खनन्लगायत कारणले मनसुन सुरु भए पनि पानी पर्न नसकेको चुरेविज्ञ डा विजयकुमार सिंहले बताउनुभयो । “चुरेक्षेत्रका पर्वत श्रेणी ठूल्ठूला मेसिन लगाएर ढालिएका छन्, नदीहरुमा अनियन्त्रित दोहन रोकिएका छैनन, वनक्षेत्र मासिएका छन्”, उहाँले भन्नुभयो, “हामीले भोगिरहेका कृषिक्षेत्रका समस्या धेरैजसो मानव सिर्जित छन्, यिनको व्यवस्थापन र संरक्षणमा आमचासो आवश्यक छ ।”
उहाँले राष्ट्रपति तराई मधेस चुरे संरक्षण विकास समितिमा विज्ञका रुपमासमेत काम गरिसक्नु भएको छ । मौसमको साथ नपाएर असार मध्य बित्दा पनि रोपाइँ गर्न नपाएपछि यहाँका किसान चिन्तित छन् ।
गण्डकीमा १८ प्रतिशत रोपाइँ
असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा १८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार १७ हजार एक सय ७४ हेक्टरमा रोपाइँ भएको हो । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ ।
असार १५ सम्ममा सबैभन्दा बढी कास्कीमा ३० प्रतिशत र सबैभन्दा कम नवलपुरमा १० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयका कृषि प्रसार अधिकृत दीपा तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार लमजुङमा २७, तनहुँमा २०, बागलुङमा २०, पर्वतमा १४, गोरखामा १२, स्याङ्जामा १२ र म्याग्दीमा १२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।
प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ खेतीयोग्य जमिनमध्ये यस वर्ष ९७ हजार आठ सय ९१ हेक्टरमा वर्षे धान लगाइने अनुमान निर्देशनालयको छ । गत वर्ष एक लाख चार हजार छ सय २३ हेक्टरमा वर्षे धान खेती गरिएको थियो ।
निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले धान खेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएका बताउनुभयो । उहाँका अनुसार गोरखाको छेवेटार, पालुङटार, आरुघोटा सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाडीखोला, पामे, लेखनाथ, पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायत क्षेत्र धानका प्रमुख पकेट क्षेत्र हुन् ।
गण्डकी प्रदेशका किसानले सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनसुली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन् । केही दिनयता मनसुन सक्रिय भएसँगै किसान रोपाइँको चटारोमा रहेका भन्दै अधिकांश क्षेत्रको रोपाइँ असारभित्रै सकिने प्रमुख रेग्मीले बताउनुभयो ।
उहाँका अनुसार बाह्रैमास सिँचाइ सुविधा भएका, खोला आसपासका र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो सुरु हुन्छ । “अहिले दैनिकजसो वर्षात् भइरहेकाले अब रोपाइँ सहज हुन्छ, बिउ लाउने बेला भने मौसम सुख्खा भएपछि किसानलाई केही मर्का प¥यो”, निर्देशनालयका प्रमुख रेग्मीले भन्नुभयो ।
निर्देशनालयको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको देखिन्छ । ‘प्लटिङ’, तीव्र बजारीकरण, ठूल्ठूला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जग्गा खुम्चँदै गएको उहाँको भनाइ थियो । जग्गा बाँझिनेक्रम पनि बढ्दै गएको निर्देशनालयका प्र्रमुख रेग्मीले बताउनुभयो । धान कम फल्नुमा क्षेत्रफल घट्नु मुख्य कारण भए पनि अन्य कुराले पनि उत्पादनमा प्रभाव पार्ने गरेको उहाँले बताउनुभयो ।
समयमा नै मल, बीउ नपाउँदा धान खेतीमा असर परिरहेको किसान बताउँछन् । धानमा फूल खेल्ने समयमा वर्षात् हुँदा उत्पादनमा क्षति पुग्ने गरेको छ । रोग, किरा नियन्त्रण, उन्नत बीउ, मल व्यवस्थापनमा किसानले सँधै चुनौती व्यहोर्दै आएका छन् । गण्डकी प्रदेशमा समग्र धान (बर्खे र चैते) उत्पादनमा गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ७४ प्रतिशतले कमी आएको थियो ।
गत वर्ष चार लाख छ हजार तीन सय ३६ मेट्रिकटन धान फलेकामा चालु आवको उत्पादन जम्मा तीन लाख ९१ हजार एक सय २१ मेट्रिकटन छ । अघिल्लो वर्ष एक लाख १२ हजार दुई सय २७ हेक्टरमा धान लगाइएकामा यस वर्ष क्षेत्रफल घटेर जम्मा एक लाख छ हजार तीन सय ८० हेक्टर धानखेतीले ओगटेको निर्देशनालयका कृषि प्रसार अधिकृत तिमिल्सिनाले जानकारी दिनुभयो ।
पञ्चेबाजासहित विराटनगर महानगरद्वारा रोपाइँ
राष्ट्रिय धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले वडानं १२ स्थित बखरीमा सामूहिक रोपाइँ गरेको छ । पञ्चेबाजासहित गरिएको रोपाइँ कार्यक्रममा महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, आर्थिक विकास समिति संयोजक श्याम घिमिरे, वडा नं ११ अध्यक्ष तीर्थेन्द्र नेउपाने, १२ का अध्यक्ष हीरालाल कामत, वडासदस्य कुशेश्वर राजवंशीसहित विभिन्न राजनीतिक दलका स्थानीय नेता, समाजसेवी, टोल सङ्गठनमा आबद्ध व्यक्ति, कृषकलगायतको सहभागिता थियो ।
सो अवसरमा नाचगान गर्दै रमाइलोसमेत गरिएको थियो । उक्त दिवसका अवसरमा शुभकामना दिँदै महानगरप्रमुख कोइरालाले कृषिलाई आधुनिकीकरण र यान्त्रीकीकरणतर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।
किसानले सहजरुपमा मल, सिँचाइ र बीउ पाउने अवस्था सिर्जना गर्नु आवश्यक रहेको बताउँदै उहाँले कृषिलाई यान्त्रीकीकरण गरेर उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभयो । चालीसको दशकसम्म नेपालले खाद्यान्न निर्यात गर्दै आएकामा अहिले वार्षिक रु छ खर्बभन्दा बढीको खाद्यान्न आयात गर्नुपर्ने बाध्यता आउनुका कारण कृषिलाई उपेक्षा गरेकैले हो भन्नुभयो ।
धान दिवसका अवसरमा महानगरपालिकाले हरेक वर्ष सामूहिक धान रोपाइँ गर्दै आएको छ । गत वर्ष वडा नं १८ मा रोपाइँ कार्यक्रम आयोजना गरिएको थियो । विगत केही दिनदेखि पूर्व क्षेत्रमा मौसम अनुकूल रहेको र वर्षा पनि भइरहेकाले रोपाइँमा धेरै सहज भएको कृषकको भनाइ थियो ।
सुदूरपश्चिममा ६० प्रतिशत जग्गामा रोपाइँ हुन बाँकी
रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि असार १५ सम्म सुदूरपश्चिम प्रदेशमा बर्खे धान बालीको खेती गरिने मध्ये ६० प्रतिशत जग्गामा धान रोपाइँ गर्न बाँकी छ ।
आकाशको पानीको भरमा रोपाइँ गर्नुपर्ने खेतमा यस वर्ष अहिलेसम्म पर्याप्त वर्षा नभएपछि धेरै जग्गामा रोपाइँ गर्न ढिलाइ भएको हो ।
कृषि निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीले असार १५ सम्म प्रदेशमा धान खेती गरिने जग्गामध्ये ४० प्रतिशत जग्गामा रोपाइँ सकिएको जानकारी दिनुभयो ।
पहाडी जिल्ला बैतडी र दार्चुलामा सबैभन्दा बढी ७२ प्रतिशत जग्गामा रोपाइँ भइसकेको छ । प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धानखेती गरिने कैलालीमा २४ प्रतिशत जग्गामा रोपाइँ हुन सकेको छ ।
“रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएका ठाउँमा किसानले बोरिङ पम्पिङसेटबाट पानी तानेर पालौपैँचो गरी रोपाइँ धमाधम गरिरहेका छन्”, निर्देशनालयका निर्देशक जोशीले भन्नुभयो, “धान मुख्य खाद्यान्न बाली भएकोले कम्तिमा पनि एक दिन किसानको धान रोपाइँमा सबैले सघाउनु जरुरी भइसकेको छ ।”
सिँचाइको भरपर्दो सुविधा पाउन नसकेका धेरै किसान आकाशको पानीको भरमा धान रोपाइँ गर्ने गर्छन् । प्रदेशमा एक लाख ८१ हजार छ सय चार हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुन्छ । योमध्ये कैलाली जिल्लामा ७१ हजार सात सय हेक्टर र कञ्चनपुरमा ४७ हजार पाँच सय हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ ।
यस्तै डोटीमा १० हजार छ सय ७०, डडेलधुरामा छ हजार एक सय ३६, अछाममा १६ हजार पाँच सय ८०, बाजुरामा तीन हजार तीन सय १०, दार्चुलामा चार हजार चार सय ८०, बैतडीमा नौ हजार र बझाङमा सात हजार एक सय १० हेक्टरमा वर्खे धान खेती हुने गरेको तथ्याङ्क कृषि निर्देशनालयसँग छ । कैलाली र कञ्चनपुर जिल्लाको केही हेक्टर क्षेत्रफलको जग्गामा चैत महिनामा रोपाइँ गरेर ‘चैते धान खेती’ पनि गर्ने गरिन्छ ।
प्रदेशमा ७३ हजार छ सय १७ हेक्टर जग्गामा वर्षभरि सिँचाइ हुने गरेकोमा ३६ हजार चार सय ८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क छ ।
धानको उत्पादन र उत्पादकत्वको दृष्टिमा कैलाली जिल्ला प्रदेशमा पहिलो स्थानमा छ । कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्मा नेपाली समाजमा धानको महत्त्व सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक क्रियाकलापसँग समेत जोडिएकाले यसको उत्पादन र उत्पादकत्व वृद्धिमा सबैको सक्दो सहयोग खाँचो औँल्याउनुहुन्छ ।
मनसुनी वर्षा सुरु भएपछि रोपाइँ गर्दा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुने कृषि प्राविधिक बताउँछन् । मनसुन सक्रिय रहे पनि आजसम्म कैलाली र कञ्चनपुरसहितका जिल्लामा ठूलो वर्षा हुन सकेको छैन ।
पहाडी क्षेत्रका जिल्लामा जेठ १५ देखि असार १५ गतेसम्म र तराईका जिल्लामा असार १ देखि १५ गतेसम्मको समयलाई रोपाइँका लागि उपयुक्त मानिन्छ । ढिलो गरी रोपाइँ गरिएको खेतको बालीमा रोगकिराको समस्या देखा पर्नसक्ने कृषि प्राविधिकको भनाइ छ ।
यसै बीच आज कृषि ज्ञानकेन्द्र कैलालीको पहलमा गोदावरी नगरपालिका–१ को बिजौरा गाउँमा २०औँ राष्ट्रिय धान दिवस मनाइएको छ ।