जुकरबर्गले इन्स्टाग्राममा आफ्ना बालबालिकाको अनुहार छोपेजस्तै अरु अभिभावकले छोप्नुपर्छ ?


प्रकाशित मिति : फाल्गुन १, २०८० मंगलबार

मार्क जुकरबर्गले  इन्स्टाग्राममा आफ्नो परिवारको एउटा फोटो शेयर गरे, त्यसमा उनले आफ्नो बच्चाहरूको अनुहार इमोजीहरूले ढाकेर पोष्ट गरे  । जुकरबर्गको पोष्टको केहीले तुरुन्तै आलोचना गरेका थिए । किनभने उनी आफैले आफ्ना छोराछोरीको अनुहार गोपनीयता चिन्ताको कारण सामाजिक सञ्जालमा पोष्ट नगरेपनि उनले सिर्जना गरेका ठूलो प्लेटफर्ममा अन्य अभिभावकहरूलाई बालबालिकाहरुको अनुहार राख्ने अनुमति दिइन्छ ।

इन्स्टाग्रामको मूल कम्पनी मेटाले प्रयोगकर्ताको गोपनीयतालाई कसरी ह्यान्डल गर्छ र यसको एल्गोरिदमहरू युवा प्रयोगकर्ताहरूका लागि हानिकारक हुनसक्छ भन्नेबारे लामो समयदेखि छानबिन भइरहेको छ। जे होस जुकरबर्गले आफ्ना बच्चाहरुको अनुहार छोपेर फोटो पोष्ट गर्दा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू र विशेष गरी उच्च प्रोफाइल भएका व्यक्तिहरूले आफ्ना बच्चाहरूको पहिचान हुने तस्बिरहरू अनलाइनमा शेयर गर्दा अझ बढी सतर्क हुनको लागि घचघचाएको छ ।

वर्षौंदेखि क्रिस्टन बेल र गिगी हडिडदेखि क्रिस प्रैट र ओर्लान्डो ब्लूमसम्मका सेलिब्रेटीहरूले सामाजिक सञ्जालमा आफ्ना बच्चाहरूको गोपनीयता सुरक्षित गर्न उनीहरुका तस्वीरहरु धमिलो पार्ने वा अनुहारमा इमोजीहरू प्रयोग गरेर अनुशार छोप्ने गर्दै आएका छन् । जुकरबर्गले पनि यसअघि आफ्ना सम्पूर्ण अनुहार देखाउनुको सट्टा उनीहरुको साइड प्रोफाइलहरू मात्र देखिनेगरी तस्बिरहरू पोस्ट गरेका थिए ।

television showing man using binoculars

दैनिक प्रयोगकर्ताहरूले उस्तै दृष्टिकोण लिन धेरै दुर्लभ भएपनि यसबारे सजगता अपनाउनुपर्ने देखिएको छ । मार्क जुकरबर्गले बच्चाहरूको पहिचान शेयर नगरेर बच्चाहरुको पहिचान लुकाउनु प्रयोगकर्ताहरूको जिम्मेवारी भएको सन्देश दिन खोजेको हुनसक्ने युवा प्रयोगकर्ताहरूमा सोशल मिडियाको प्रभावलाई नजिकबाट नियाल्दै आएकी मनोवैज्ञानिक अलेक्जान्ड्रा ह्यामलेटले बताएकी छिन् ।

केही बर्षदेखि अभिभावक र विशेषज्ञहरूले सामाजिक सञ्जालमा बच्चाहरुका तस्वीरहरु शेयर गर्ने जोखिमहरूको बारेमा चिन्ता प्रकट गर्दै आएका छन् । जसमा बच्चाहरूको पहिचान चोरी र अनुहार पहिचान प्रविधिमा उनीहरुको अनुहारको दुरुपयोग गर्ने सम्भाजना लगायत छन् । साथसाथै उनीहरुको इन्टरनेट इतिहास सिर्जना गरेर तिनीहरूलाई वयस्क हुँदासम्म पछ्याउन सक्ने जोखिम समेत रहन्छ ।

कतिपय अभिभावकहरूले आफ्ना बच्चाहरूको बारेमा कति शेयर गर्ने भन्ने कुरालाई सीमित गर्छन् वा सार्वजनिक प्लेटफर्महरूमा कममात्र शेयर गर्ने निर्णय गर्छन् । केहीले आफ्ना छोराछोरीको अनुहार लुकाउन साइडबाट फोटो खिच्ने वा अनुहार इमोजीले छोप्ने, मधुरो बनाउने जस्ता चलाख तरिकाहरु अपनाउँछन्।

उल्लेखनीय के छ भने जुकरबर्गले आफ्नी सबैभन्दा सानी शिशु छोरीको अनुहार भने छोपेका छैनन् । जसले बढ्दै गरेको बच्चाको तुलनामा सानो बच्चाको अनुहार देखाउदा कम जोखिम हुने सन्देश दिन सक्छ। यद्यपि आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजी समयको साथ अनुहारको परिवर्तनहरू ट्रेस गर्न प्रयोग गर्न सकिन्छ । जसले जुनसुकै बच्चालाई पनि तिनीहरूको हुर्किसकेपछिको तस्वीरमा जोड्न सक्षम हुन सक्छ।

सामाजिक सञ्जाल कम्पनीहरुले बच्चाहरुको अनुहार धमिलो पार्न सकिनेगरी सेटिङ प्रदान गरेमा बच्चासँगको कुनै पनि तस्विरलाई मार्केटिङ वा विज्ञापन उद्देश्यका लागि प्रयोग गर्नबाट रोक्नसक्ने विज्ञहरु बताउँछन् । तर अहिलेको लागि भने आमाबाबुले नै आफ्ना बच्चाहरूको अनलाइन फोटोहरू शेयर गर्दा सीमितता अपनाउनुपर्ने वा शेयर गर्न नहुने विज्ञहरुको भनाई छ ।

आमाबाबुले मात्र होइन हजुरबुबा, कोच, शिक्षक र अन्य विश्वसनीय वयस्कहरूले पनि बच्चाहरूलाई उनीहरूको गोपनीयता, सुरक्षा, भविष्य र वर्तमानका अवसरहरूको रक्षा गर्न फोटो र भिडियोहरूबाट टाढा राख्नुपर्ने विज्ञहरुको सुझाव छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com