अमेरिकाको टेनेसी अस्पतालमा बिरामीद्वारा सर्जनको गोलीहानी हत्या, बन्दुकधारीलाई मृत्युदण्ड हुनसक्ने
प्रकाशित मिति : असार २७, २०८० बुधबार
एक अर्थोपेडिक सर्जनलाई अमेरिकाको टेनेसी अस्पतालमा काम गर्ने क्रममा मंगलबार उनको एक बिरामीले गोली हानेर मारेको प्रहरीले जनाएको छ । क्याम्पबेल क्लिनिकमा बिरामी जाँच्ने कोठामा रहेका ४३ बर्षीय बेन्जामिन माउकमाथि एक पुरुष बिरामीले दिउँसो साढे २ बजे बजे गोली चलाएको प्रहरी अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए । संदिग्ध बन्दुकधारी धेरै घण्टा पहिलेदेखि क्लिनिकमा रहेको र बिरामी जाँच कक्षमा भनाभन भएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
संदिग्धलाई प्रहरीले घटनाको पाँच मिनेट भित्र हिरासतमा लिएको थियो । गोली प्रहारको कारण बुधबारसम्म स्पष्ट हुन सकेको छैन। संदिग्धले कम्तिमा एक हप्तादेखि माउकलाई धम्की दिइरहेको प्रत्यक्षदर्शीको भनाई छ । तर प्रहरी अधिकारीहरूले गोली हान्नु अघि सर्जन विरुद्ध कुनै पनि धम्कीको बारेमा जानकार नभएको बताएका छन् ।
अधिकारीहरूले बुधबार संदिग्ध व्यक्ति मेम्फिसका २९ वर्षीय ल्यारी पिकन्सको रहेको सार्वजनिक गरेका छन् । पिकन्सलाई फर्स्ट डिग्री हत्या र आक्रमणको आरोप लगाइएको छ। यदि दोषी ठहरियो भने पिकन्सलाई मृत्युदण्ड वा आजीवन जेल सजाय हुन सक्छ। उनको जमानत १ दशमलव २ मिलियनमा तोकिएको छ । बिहीबार उनलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान जारी रहेको छ । क्याम्पबेल क्लिनिकले ती सर्जन कुहिनो, हात र नाडीको शल्यक्रियामा विशेषज्ञ रहेका र सन् २०१२ देखि त्यहाँ काम गर्दै आएको पुष्टी गरेको छ । सबै क्याम्पबेल क्लिनिकहरू बुधबार बन्द गरिएको थियो ।
हालैका महिनाहरूमा अस्पताल वा मेडिकलहरूमा गोली काण्डका उल्लेख्य घटना भएका छन् । जुन २०२२ मा एक व्यक्ति ढाडको शल्यक्रिया पछि दुखाइको लागि डाक्टरलाई दोषी ठहराउदै चार व्यक्तिको हत्या गरेको घटना टल्सा मेडिकल भवनमा भएको थियो । बन्दुकधारीले उनका डाक्टर प्रेस्टन फिलिप्सका साथै अर्का डाक्टर स्टेफनी हुसेन, रिसेप्शनिस्ट र नर्स अमान्डा ग्लेन र आफ्नी श्रीमतीसँग भेटघाटमा गएका विलियम लभको हत्या गरेपछि आफैलाई गोली हानी मारेको थियो ।
मे महिनामा एटलान्टाको मेडिकलमा एक व्यक्तिले मेडिकल अपोइन्टमेन्टको क्रममा क्रोधित भएपछि गोली चलाएको थियो। रोग नियन्त्रण र रोकथाम केन्द्रका कर्मचारी एमी सेन्ट पियरेको हत्या र अन्य चार जना महिलालाई घाइते बनाएको आरोपमा २४ वर्षीय डियोन प्याटरसनलाई एक घण्टा लामो खोजीपछि पक्राउ गरिएको थियो।