न्युयोर्क सिटीमा यी पाँचवटा एमटीए बसहरु अबको केही महिनापछि नि:शुल्क
प्रकाशित मिति : श्रावण १, २०८० सोमबार
न्युयोर्क सिटीमा झण्डै ४४ हजार यात्रुहरुले आगामी केही महिनामा छ देखि १२ महिनाको लागि नि:शुल्क एमटीए बसहरु चढ्न पाउने अधिकारीहरूले सोमबार घोषणा गरेका छन् । गभर्नर क्याथी होकुलले सोमबार निशुल्क संचालन हुने पाँचवटा बस मार्गहरू सार्वजनिक गरेकी हुन् ।
सेप्टेम्बरदेखि नि:शुल्क सवारी प्रदान गर्ने रुटहरू न्युयोर्क सिटीका पाँचवटै बरोमा एकएकवटा रहेका छन् । निःशुल्क मार्गहरू स्थापना गरेर शहरभरि सार्वजनिक यातायातमा पहुँच विस्तार गर्ने र सबै न्यूयोर्कवासीहरूलाई राम्रो सेवा दिन ट्रान्जिट इक्विटीमा सुधार गर्ने होकुलले एक विज्ञप्तिमा बताएकी छिन् ।
२२९ बिलियन राज्य बजेट सम्झौताको एक हिस्साका रुपमा रहेको यो कार्यक्रम छ देखि १२ महिना सम्म रहने अपेक्षा गरिएको छ । नि:शुल्क रुटहरूमा चल्ने बसहरूमा गन्तव्य साइनेज हरियो र कालो हुनेछ भने नि: शुल्क चिन्ह लगाइनेछ । यी बसबाट अन्य बसहरू वा सबवे लाइनहरूमा नि:शुल्क ट्रान्सफर भने हुनेछैन ।
नि: शुल्क हुने बसहरुमा बीएक्स १८ ए/बी, बी ६०, एम ११६, क्वु ४ लोकल / लिमिटेड, एस ४६/९६ रहेका छन् । यी बसहरुको विभिन्न ट्रेन लाइनहरुसँग कनेक्शन रहेको छ ।