सिमाक्षेत्रबाट विना भिसा आउने थप कागजपत्रविहिनलाई राख्न नसक्ने न्युयोर्क सिटीको घोषणा


प्रकाशित मिति : श्रावण ५, २०८० शुक्रबार

buildings near body of water landscape photography

सिमाक्षेत्रबाट विना भिसा आउनेहरुको थप भार थेग्न नसक्ने घोषणा गर्दै न्युयोर्क सिटीले अमेरिका र मेक्सिकोको सीमामा फ्लायरहरू वितरण गर्ने भएको छ । न्युयोर्क सिटीले अब शरण खोज्दै न्युयोर्क आउनेहरुलाई निरुत्साहित गर्न यो कदम चाल्ने भएको हो । न्युयोर्क सिटी लामो समयदेखि विना भिसा शरण खोज्दै अमेरिका आउनेहरुलाई स्वागत गर्न परिचित छ।

न्युयोर्क सिटीले अप्रिल २०२२ देखि ९० हजार भन्दा बढी कागजपत्रविहिन आप्रवासीहरूलाई स्वागत गरिसकेको छ । लगभग ५४ हजार ८ सय जना न्युयोर्क सिटीको हेरचाहमा रहेको मेयरको कार्यालयले बुधबार एक विज्ञप्तिमा जनाएको छ । न्युयोर्क सिटीले अब थप भार थेग्न नसक्ने र योभन्दा धेरैलाई हेरचाह गर्ने क्षमता नभएको जनाएको छ ।

अमेरिकामा कहाँ बस्ने भन्ने निर्णय गर्दा अर्को सहरबारे विचार गर्न सुझाव दिदै सिमाक्षेत्रमा चम्किलो पहेंलो फ्लायरहरू बाँडिने भएको छ । यी फ्लायरहरु अंग्रेजी र स्पेनिसमा भाषामा हुनेछन् । अमेरिकामा बस्नको लागि न्यूयोर्क सबैभन्दा महँगो ठाउँ हो भन्ने कुरालाई ध्यानमा राख्दै नयाँ आउनेहरुलाई आश्रय र सेवाहरू प्रदान गर्न सक्षम हुने कुनै ग्यारेन्टी नभएको सिटीले जनाएको छ ।

सिटीले आश्रयस्थलहरूमा बस्ने शरण खोज्ने वयस्कहरुलाई ६० दिनको सूचना पनि दिन थाल्नेछ, त्यसपछि उनीहरूले आश्रय स्थानको लागि पुन आवेदन दिन आवश्यक हुनेछ।
न्युयोर्क शहरको कानूनले आश्रयको अधिकारलाई सुरक्षित गर्दछ । यस कदमले कानुनी चुनौतीहरू खडा गर्न सक्ने अधिकारकर्मीहरुले बताएका छन् ।

ून्युयोर्क सिटीले आप्रवासीहरूलाई समायोजन गर्नको लागि कुनै पनि अन्य स्तरको सरकारले भन्दा धेरै काम गरेको मेयर एरिक आडम्सले बताएका छन् । आफूहरुले राज्य र संघीय सरकारको सहयोग बिना हजारौं नयाँ आगन्तुकहरूलाई राख्ने काम जारी राख्न नसक्ने उनले बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com