ट्वीटरले चरा भएको लोगो परिवर्तन गरेर एक्स बनाउने, वेवसाइट पनि एक्स डटकम
प्रकाशित मिति : श्रावण ७, २०८० आईतबार
ट्वीटरले चरा भएको लोगो परिवर्तन गरेर एक्स बनाउने एलन मस्कले आइतबार ट्विटरमा घोषणा गरेका छन् । ट्विटरका मालिक मस्कले यो परिवर्तन सुरुमा सोमबारदेखि हुने बताएका थिए । तर केही घण्टा पछि उनले आजैदेखि ट्वीटरको नयाँ अन्तिम लोगो लाइभ हुने एप मार्फत घोषणा गरेका छन् । आफूलाई एक्स अक्षर निकै मनपर्ने उनले बताएका छन् ।
आइतवारको बिहान मस्कले एक्स लोगो भएको छोटो भिडियो पोस्ट गरेका थिए । उनले गत वर्ष ४४ बिलियन डलरमा सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटर किनेदेखि यो पछिल्लो ठूलो परिवर्तन हुनेछ । वेवसाइटमा एक्स डटकम टाइप गर्दा अब ट्वीटर डटकम खुल्ने भइसकेको छ ।
यस महिनाको सुरुमा टेस्ला सीईओ समेत रहेका अर्बपति मस्कले ट्वीटरमा नयाँ प्रतिबन्धहरुको घोषणा गरेका थिए । गत मे महिनामा मस्कले लामो समयदेखि एनबीसी युनिभर्सलमा कार्यकारी रहेकी लिन्डा याकारिनोलाई ट्विटरको सीईओको रूपमा नियुक्त गरेका थिए ।
ट्विटरको लोगोलाई एक्समा परिवर्तन गर्ने मस्कको कदम ट्विटरले मेटाको नयाँ एप थ्रेड्ससँग नयाँ प्रतिस्पर्धाको सामना गरिरहेको बेलामा आएको हो । थ्रेड्सलाई ट्विटरको विकल्पको रूपमा हेरिएको छ। सुरुवातको पहिलो पाँच दिनमा नै १ सय मिलियन मानिसहरूले थ्रेड्सका लागि साइन अप गरेका थिए