आइफोनमा ‘माइ फोटो स्ट्रीम’ जुलाई २६ देखि बन्द हुने, फोटोहरु गुम्नबाट जोगाउन के गर्ने?
प्रकाशित मिति : श्रावण ९, २०८० मंगलबार
आइफोनमा रहेको ‘माइ फोटो स्ट्रीम’ जुलाई २६ देखि बन्द हुने भएको छ । एप्पलले यसको घोषणा गत महिना नै गरेको हो । अझै पनि त्यो सुविधा प्रयोग गरिरहेका ग्राहकहरूले जुलाई २६ अगाडि नै फोटोहरू सुरक्षित गर्न आवश्यक छ। एप्पलका अनुशार यदि तपाईले उक्त सुविधाको प्रयोग गरिरहनुभएको छ भने जुलाई २६ पछि ‘माइ फोटो स्ट्रीम’ मा रहेका तपाईका फोटोहरु गायब हुनेछन् ।
यो विशेषता मूल रूपमा सन् २०११ मा सुरु गरिएको थियो । यो एउटा निशुल्क सेवा हो, जसबाट १ हजारसम्म फोटोहरु अस्थायी रूपमा अपलोड गर्न सकिन्छ भने प्रयोगकर्ताका एउटै एप्पल आईडी भएका डिभाइसहरुबाट पहुच प्राप्त गर्न सकिन्छ । यी फोटोहरु एउटै एप्पल आईडी भएका कुनै पनि एप्पल उपकरणमा आयात गर्न सकिन्छ । फोटोहरू ‘माइ फोटो स्ट्रिम’मा ३० दिनसम्म रहन्छन् र त्यसपछि स्वचालित रूपमा ’आइ क्लाउड’बाट मेटिन्छन्।
‘माइ फोटो स्ट्रिम’लाई पछि ‘आइक्लाउड फोटो लाइब्रेरी’ र अहिलेको ‘आइक्लाउड फोटो’द्वारा प्रतिस्थापित गरिएको थियो । एप्पलले अब जुलाई २६ बुधबारदेखि यो सेवा बन्द गर्दैछ।
बन्दको लागि तयारी गर्न एप्पलले जुन २६ मा नै ‘माई फोटो स्ट्रिम’मा फोटो अपलोडहरू रोकेको थियो । त्यसैले त्यो मिति अघि अपलोड गरिएका कुनै पनि तस्वीरहरु बन्द हुने बिन्दुसम्म नियमित ३० दिनसम्म आइक्लाउडमा रहन्छन् ।
‘माइ फोटो स्ट्रीम’मा रहेका तपाईका फोटोहरु डिभाइसमा सुरक्षित गर्न तपाई आइफोनको फोटो एल्बममा जानुपर्छ । ‘माइ फोटो स्ट्रीम’ ट्याप गरेर ‘सेलेक्ट’मा ट्याप गर्नुपर्छ । त्यसपछि सुरक्षित गर्न चाहेका सबै फोटोहरु छनौट गरेर ‘शेयर’ बटनमा ट्याप गर्नुपर्छ । त्यसपछि ‘सेभ इमेज’ विकल्प छनौट गरेर फोटोहरु सुरक्षित गर्न सकिन्छ ।
तपाईले यो सुविधा प्रयोग गरिरहेको छु वा छैन भन्ने थाहा पाउन सक्नुभएन भने आईफोनको सेटिङमा जानुहोला । त्यहाँ ‘फोटोज’ लेखिएकोमा ट्याप गरेर ‘माइ फोटो स्ट्रीम’ अन वा अफ भएको थाहा पाउन सक्नु हुनेछ । यदि ‘माइ फोटो स्ट्रीम’ पहिले नै अफ गरिएको छ भने तपाईले कुनै कदम चाल्नु पर्दैन । तपाईको फोटोहरु आइक्लाउडमा रहे नरहेको पनि तपाईले थाहा पाउन सक्नुहुन्छ । यदि ‘आइक्लाउड फोटोज’ अफ छ भने तपाइका फोटोहरु आईक्लाउडमा सुरक्षित गरिएका छैनन् ।