न्युयोर्कमा अमेरिकाभरका २१ जना नेपाली पत्रकारलाई सम्मान गरिने


प्रकाशित मिति : श्रावण २१, २०८० आईतबार

न्युयोर्कमा अमेरिकाभरका २१ जना नेपाली पत्रकारहरुलाई सम्मान गरिने भएको छ । तारा किशन फाउण्डेसनले पत्रकारहरुलाई नेपाली भाषाको जगेर्ना र प्रवर्द्धन गर्न भूमिका खेलेको भन्दै सम्मान गर्न लागेको हो ।

नेपाली भाषा, साहित्य, र संस्कृतिको जगेर्ना एवं प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न समयमा विभिन्न कार्यक्रम गर्दै आएको फाउण्डेशनले यसै सिलसिलामा अमेरिकामा रहेर नेपाली भाषामा संचारकर्म गरिरहेका नेपाली संचारमाध्यमहरुका प्रधान सम्पादक सञ्चालकहरुलाई नेपाली भाषाको जगेर्ना र प्रवर्द्धन गर्न खेलेको भूमिकालाई सम्मान गर्न कार्यक्रम गर्न लागेको तारा किशन फाउण्डेसनका संस्थापक तथा संचालक किशनसिंह धामी र तारा धामीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

अगष्ट २६ शनिवार न्युयोर्कको ज्याक्सन हाइटस्थीत सत्यनारायण मन्दिरमा कार्यक्रम गरिने तारा किशन फाउण्डेसनका धामीले जानकारी दिए । सम्मानित हुनेहरूमा क्यालिफोर्निया, वाशिंटन डिसी, टेक्सास, भर्जिनिया न्युजर्सी र न्युयोर्क लगायतका स्थानबाट नेपाली भाषामा निरन्तर पत्रकारितामा सकृय २१ संचारमाध्यम र प्रधानसम्पादकहरु रहेका छन् ।

तारा किशन फाउण्डेसनका संस्थापक तथा संचालक किशनसिंह धामी

कार्यक्रममा सुदूरपश्चिम वा कर्णाली प्रदेशमा गाईने प्रचलित डेउडा गीतका बरिष्ठ गायक शंकर विष्ट र गायिका प्राज्ञ चाँदनी मल्ललाई पनि सम्मान गरिने कार्यक्रम रहेको छ । न्युयोर्क स्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमको प्रमुख आतिथ्यमा हुन लागेको कार्यक्रममा नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरु लगायत केही विदेशी पाहुनाहरुको पनि उपस्थिति रहने आयोजकले जानकारी दिए ।

कार्यक्रममा उपस्थितिको निम्ति समुदायका सबैलाई खुल्ला निमन्त्रणा गरिएको छ ।औपचारिक कार्यक्रम पश्चात डेउडा नाच, गौरा नाच, र तीजका गितहरू प्रस्तुत गरिने जनाइएको छ । तारा किशन फाउण्डेशनले यस अघि न्युयोर्कमा पटक पटक साहित्यिक र सास्कृतिक कार्यक्रम तथा गौरा पर्व सम्पन्न गरिसकेको छ । गत वर्ष सुदूर पश्चिमको दार्चुलामा जेष्ठ १३ देखि जेष्ठ १५ सम्म तीनदिने बृहत् साहित्य सम्मेलन एवं दार्चुला महोत्सव सम्पन्न गरिसकेको छ ।

अमेरिकामा नेपाली पत्रकारिताको विगत

अमेरिकामा सामुदायिक पत्रकारिता गर्न खोज्ने कैयन नेपाली संचारमाध्यमहरु विगतमा बन्द भइसकेका छन् भने कैयन संचारमाध्यमहरु मुस्किलले चलिरहेका छन् । अमेरिकामा नेपाली पत्रकारिताको इतिहास झण्डै ३ दशक लामो छ ।

विभिन्न तथ्यहरु हेर्दा अमेरिकामा नेपाली पत्रकारिताको उल्लेख गर्न लायक विकाश सन् १९९० को दशकदेखि भएको पाइन्छ । अमेरिकामा पनि नेपाली पत्रकारिताको विकाश साहित्यिक पत्रकारितासँगै भएको पाइन्छ । सन् १९९१ मा होमनाथ सुवेदीको नेतृत्वमा अन्तर्दृष्टी नामको साहित्यिक पत्रिका प्रकाशन भएको थियो । ९० कै दशकमा अमेरिकाको न्युयोर्कमा अध्ययनरत विद्यार्थीहरुले पनि एउटा पत्रिका प्रकाशन गरेका थिए । सन् १९९० को दशकको मध्यतिर राजपाल सिंह लगायतले नेपाल डाइजेष्ट नामको इलेक्ट्रोनिक मिडिया संचालन गरेका थिए ।

१९९९ मा सुरु गरिएको अमेरिका दर्पण केहीसमय पछि नै बन्द भएको थियो । प्रदीप थापामगर, भीम कार्की लगायतको पहलमा अमेरिका दर्पणका केही अंक पत्रिका प्रकाशन भएका थिए । अमेरिका दर्पणका प्रकाशक जनक रानामगर थिए भने कार्यकारी सम्पादक प्रदीप थापामगर थिए ।

सन् २००२ देखि सन् २०१२ सम्मको दशक त अमेरिकामा नेपाली पत्रकारिताको स्वर्णिम कालकै रुपमा विकाश भएको पाइन्छ । यो अवधिमा सन् २००१ को अगस्तमा वासिंटन डिसीबाट पत्रकार गिरिश पोखरेलले सुरु गरेको अनलाइन नै नेपाली भाषाको पहिलो समाचार अनलाइन हो । यद्यपी समाचार अनलाइन बाहेकका अन्य नेपाली भाषाका वेवसाइट भने यसअगाडि नै संचालनमा आएका थिए । त्यसपछि अमेरिकामा कैयन अनलाइन, पत्रपत्रिकाहरु , रेडियो हुँदै टेलिभिजनसम्म स्थापना भइसकेका छन् ।

यो दशकमा अमेरिकामा नेपाली पत्रकारितामा भएको विकाशका कारणले यसलाई स्वर्णिम कालका रुपमा लिन सकिन्छ । किनभने अनलाइन पत्रकारितादेखि छापा हुदै रेडियो र टेलिभिजनहरुको स्थापना पनि यही कालमा भएको हो । यही कालमा कैयन साप्ताहिक , पाक्षिक र मासिक पत्रिकाहरु संचालनमा आएर बन्द पनि भइसकेका छन् । सन् २००५ मा न्युयोर्कमा विश्व शाह, गगन विरही लगायतको पहलमा नेपाल खबर साप्ताहिक प्रकाशन भएको थियो । त्यो भन्दा अगाडि न्युयोर्कबाट नै चन्द्रप्रकाश शर्मा लगायतको पहलमा एउटा साप्ताहिक सुरु गरिएपनि विश्व शाह लगायतको पहलमा सुरु भएको पत्रिका लामो समय चलेको थियो । पछि पाक्षिकमा रुपान्तरण भएको यो पत्रिका २००८ मा बन्द भयो । यो पत्रिका बन्द हुँदै गर्दा अमेरिकामा नेपाली भाषाका अनलाइनहरु खुल्ने क्रम सुरु भइसकेको थियो ।

यसैक्रममा प्रदीप थापामगरको नेतृत्वमा युएसनेपाल अनलाईन सन् २००७ मा खुलेको थियो, जुन पछि नेपालीजममा मर्ज गरियो ।   न्युयोर्कबाट विजय पौडेलको नेतृत्वमा सुरु भएको विश्व सन्देश पाक्षिक पछि साप्ताहिकमा रुपान्तरण भएर चलेको थियो । त्यसको एकवर्षपछि आङछिरिङ शेर्पाको नेतृत्वमा एभरेष्ट टाइम्स पाक्षिक सुरु भयो । सन् २००९ मा प्रशान एलुङ राईले प्रेसचौतारी डटकम सुरु गरेपनि निरन्तरता दिन सकेनन् । प्रशान एलुङ राई लगायतले सन् २०१३ मा मेरो नेपाल नामको मासिक पत्रिका सुरु गरेर केही अंक चलाए । तर यो पछि आर्थिक अभावमा बन्द भयो । त्यस्तै विष्णु पौडेल प्रधानसम्पादक रहेर नेपालय चलाए भने न्युयोर्क मिडिया इन्टरनेशनल इन्कले न्युयोर्क समाचार पाक्षिक संचालन गरेको थियो ।

यस्तै सन् २०१२ देखि ह्वाइटहिमाल साप्ताहिकका रुपमा किशोर पन्थीको सम्पादनमा सुरु भएको पत्रिका पछि खसोखास साप्ताहिक हुँदै पूर्णरुपमा डिजिटल भएर संचालन भइरहेको छ । त्यस्तै न्युयोर्क बाहेक भर्जिनियाबाट गोबिन्द गिरी प्रेरणाको पहलमा विश्वपरिक्रमा आवधिक रुपमा निस्केको थियो । न्युयोर्कबाट बोष्टनबाट पनि उत्तमबाबु श्रेष्ठ लगायतको पहलमा नेपाली खबर पाक्षिक प्रकाशनमा आएपनि यो पत्रिका लामो समय टिकेन । अँगेजी भाषामा क्यालिफोर्नियाबाट पुरुषोत्तम ढकाल प्रधानसम्पादक रहेको हिमालयन भ्वाइसले पनि लामो यात्रा तय गर्न सकेन ।

सन् १९९० को दशकको अन्त्यतिर अमेरिकामा नेपाली भाषाको टेलिभिजनका रुपमा कार्यक्रमहरु निर्माण गर्न सुरु गरिएको थियो । राम खरेलको नेतृत्वमा सगरमाथा टेलिभिजनका रुपमा नेपाली भाषाको कार्यक्रम सुरु गरिएको थियो । न्युयोर्कबाट सन् २०११ देखि किशोर पन्थीको नेतृत्वमा ह्वाइटहिमाल टेलिभिजन संचालन गरियो । रमा सिंह लगायतको पहलमा वासिंटन डिसीबाट अमेरिका नेपाल टेलिभिजन संचालन गरियो । नमस्ते नेपाल टिभी कार्यक्रम सन् २०१० को नोभेम्बरबाट सुरु भएको थियो भने टाइम वार्नर केबलमार्फत आधा घण्टाको टाइम स्लटमा आइतबार बिहान र बुधबार राति आधा घण्टा प्रशारण गरिएको थियो । सन् २०१२ को मार्चसम्म प्रशारित यो कार्यक्रम सोमनाथ घिमिरे, निलम कार्की निहारिका, मणि बाङ्देल र शम्भु मोक्तानको टिमले संचालन गरेको थियो । तर कुनै संचारमाध्यमहरु टिक्न सकेनन् ।

न्युयोर्कबाटै सहदेव पौडेलले हिमाली स्वरहरु नामको रेडियो संचालन गरे । यही बीचमा रवि लामिछाने , कृष्ण शर्मा लगायतले मेरिल्याण्ड र भर्जिनिया क्षेत्रबाट टेलिभिजन शोहरु पनि संचालन गरे । यसबीचमा न्युयोर्कबाटै पनि स्थानीय च्यानलमा समय किनेर केही टेलिभिजन शोहरु संचालनमा आए । न्युयोर्कबाट किशोर पन्थीको साप्ताहिक टेलिभिजन शो ‘टक अफ द टाउन’ नेपालको एबीसी टेलिभिजनबाट प्रशारण भयो । न्युयोर्कका संचारकर्मी शैलेश श्रेष्ठको ‘सम्प्रेषण’ पनि न्युयोर्कबाट संचालित ह्वाइटहिमाल टेलिभिजनबाट प्रशारण गरियो ।

अहिले अमेरिकामा नेपाली भाषाका समाचार अनलाइनहरु झण्डै ३ दर्जन रहेका छन् । छापा माध्यमहरु भने लगभग बन्द भइसकेका छन् । बेलाबेलामा अडियो र भिडियो उत्पादन गर्ने मिडियाहरु पनि संचालनमा छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com