ब्रम्हाण्डको स्पेस उर्जा कलकारखानामा प्रयोग गर्न सकिने नेपाली अनुसन्धानकर्ता केसीको दावी


प्रकाशित मिति : श्रावण २१, २०८० आईतबार

ब्रम्हाण्डमा हुने म्याग्नेटिक भोल्टेज इनर्जी कलकारखानामा प्रयोग गर्न सकिने नेपाली अनुसन्धानकर्ता युवक केसीको दावी छ । ब्रम्हाण्ड (स्पेस) मा डार्क इजर्नी, भ्याकुम इनर्जी, ग्राउण्ड स्टेट इनर्जीहरु जस्ता इनर्जीका रुपहरु रहेको बैज्ञानिकहरुले बताउदै आएकोमा आफूले पनि स्पेसमा एक किसिमको उर्जा रहेको बताउदै आएको तथा उक्त उर्जालाई म्याग्नेटिक भोल्टेज इनर्जी अथवा स्पेसमा बास गर्ने उर्जा भनिएको बताएका छन् ।

केसी भन्छन् -‘छोटो शव्दमा यसलाई स्पेस उर्जा भनिन्छ । यो उर्जा यत्रतत्र सर्वत्र, ब्राह्मण्ड भरि फैलिएर रहेको हुन्छ । सुपरपोजिशनको सिद्धान्त अनुशार दुई भौतिक वस्तुहरू, भिन्न भिन्न स्रोतबाट, यदि ती वस्तुहरू समान किसिमका छन् भने, एकआपसमा जोडिने अथवा टाँसिने गर्छन र एकीकृत रुप प्राप्त हुन्छ । दुई भौतिक वस्तुहरूको यही टाँसिने अथवा जोडिने गुणलाई प्रयोग गरि स्पेसबाट उर्जा प्राप्त गर्न सकिन्छ ।’

उनी उदाहरण दिदै भन्छन् -‘हामीलाई थाहा छ, जलशक्तिबाट उत्पादन हुने विद्युत उर्जा विद्युत लाइन हुँदै हाम्रो घरसम्म आइपुग्छ । वर्षायाममा बादल गर्जदै जब चट्याङ पर्छ र चट्याङ त्यो विद्युत लाइन हुँदै झर्छ, तब बादलमा भएको विद्युत उर्जा पनि त्यही विद्युत लाइनमा थपिन्छ । यसरी थपिएको विद्युत उर्जा हाम्रो घरसम्म आइपुग्छ । जसले गर्दा धेरै विद्युत उर्जा बगेका कारण विद्युतीय सामाग्रीहरुमा क्षति पुग्छ । यहाँ जलशक्तिबाट उत्पादन हुने विद्युत उर्जामा बादलमा भएको विद्युत उर्जा थपिन्छ, किनकी ती विद्युत उर्जाहरु समान किसिमका हुन्छन् ।’

स्पेस उर्जालाई भौतिक विज्ञानको सुपरपोजिशनको सिद्धान्त प्रयोग गरि प्राप्त गर्न सकिने तथा यो उर्जालाई प्रयोग गरि विभिन्न कल काराखाना, गाडी, रेल, जहाज, रकेट, अन्तरिक्षमा मानव वस्ती बसाल्ने र अन्तरिक्ष यानमा समेत प्रयोग गर्न सकिने उनको दावी छ । स्पेस उर्जाले आन्तरिक्ष यात्रालाई सहज बनाउन सकिने तथा यो उर्जा विद्युत गृहमा उत्पादन हुने विद्युत उर्जासँग थपिने हुँदा धेरै उर्जा (एकीकृत रुप) प्राप्त गर्न सकिने उनले बताए । यो उर्जाबाट विश्वमा देखिएको उर्जा संकटलाई न्यूनिकरण गर्न सकिने तथा कम लागतमा धेरै उर्जा (एकीकृत रुप) उत्पादन गर्न सकिने उनको भनाई छ ।

उनी भन्छन् -‘स्पेसमा एक प्रकारका उर्जाका प्याकेटहरु हुन्छन् । जसलाई स्पेसमा बास गर्ने उर्जाका प्याकेट भनिन्छ । स्पेसमा भएका ती उर्जाका प्याकेटहरु जस्तै, उस्तै उर्जाका प्याकेटहरु अन्य स्रोतहरुमा पनि हुन्छन् । अन्य स्रोतहरु भन्नाले, आणविक, सौर्य, पेट्रोलियम, जैबिक, रासायनिक, वायु आदि हुन् । जब हामीले अन्य स्रोतबाट उर्जाका प्याकेटहरु विशेष प्रणाली हुँदै स्पेसमा पठाउँछौं, तब स्पेस उर्जाका प्याकेटहरु, हामीले पठाएका उर्जाका प्याकेटहरुसँग टासिएर अथवा जोडिएर थप उर्जाका प्याकेटहरु प्राप्त हुन्छन् । स्पेस उर्जा र हामीले पठाएको उर्जा एकीकृत भई एकीकृत उर्जा बन्दछ । यो एकीकृत उर्जा यान्त्रिक उर्जाका रुपमा परिणत हुन्छ । पठाउने उर्जाको प्रक्रिया निरन्तर जारी राख्दा स्पेस उर्जा पनि निरन्तर टासिएर अथवा जोडिएर हामी लाई एकीकृत उर्जा प्राप्त भइरहन्छ ।’

two square blue LED lights
Photo by israel palacio

सिद्धान्ततः सिस्टममा हामीले पठाउने उर्जा सञ्चालक उर्जा भएको र यसलाई १००% मान्दा स्पेसमा भएको सो बराबरको उर्जा थपिएर २००% उर्जा प्राप्त हुने उनले प्रष्ट पारे । उनी भन्छन्  – ‘स्पेस उर्जा अहिलेसम्म संसारमा प्रयोगमा नआएको नयाँ उर्जा हो । यो उर्जालाई यान्त्रिकरण गरेर मानव आवश्यकतालाई पूर्ति गर्न सकिन्छ । हालसम्म वैज्ञानिक जगतमा वहुचर्चित डार्क इनर्जी अस्तित्वमा छ भन्ने कुरा अध्ययनले पुष्टि गरेको छ जुन यही स्पेसमा छ । यसको अर्थ स्पेस खाली छैन भन्ने कुरा स्पष्ट छ ।’

स्पेसमा बास गर्ने उर्जा अथवा स्पेस उर्जा अस्तित्वमा भएको कुरा आफ्नो अनुसन्धानले पनि पुष्टि गरेको उनले बताए । स्पेस पनि उर्जाको स्रोत भएको र यो स्रोत प्राप्त गर्न कुनै लगानी आवश्यकता नपर्ने उनले बताए । यसलाई आवश्यकता अनुसार जो सुकैले ब्राह्मण्डको कुनै पनि ठाउँमा प्रयोग गर्न सकिने उनको भनाई छ । ग्यालेक्सीहरुलाई बढ्दो गतिशिल बनाउन स्पेसमा अदृष्यरुपमा रहेको उर्जालाई डार्क इनर्जी भनिएको तथा स्पेसमा बास गर्ने उर्जा पनि यही स्पेसबाट प्राप्त हुने हुँदा यसले डार्क इनर्जी सम्बन्धी खोजलाई व्यापक अध्ययन गर्न वैज्ञानिकहरुलाई ठूलो मद्दत मिल्ने केसीको अपेक्षा छ । स्पेस उर्जालाई नेपालमा परिक्षण गरिसकिएको तथा यस्को रिपोर्ट यथाशीघ्र सार्वजनिक गरिने उनले बताएका छन् ।

रजहर नवलपरासीका अनुसन्धान कर्ता केसीले झण्डै आधादर्जन प्रबिधिहरु विकास गरेर उत्पादन गरि बजारमा लगिसकेका छन् । उनले युवा वैज्ञानिक पुरष्कार, मोहनध्वज बस्नेत प्रबिधि प्रज्ञा पुरष्कार, विशेष प्रतिभा प्रवर्धन बृत्ति, कोभिड्–१९ का लागि प्रबिधि विकाश तथ नवप्रवर्तन वृत्ति पाउनुका साथै सरकारको बिजनेस इन्कुभेसन प्रोग्राममा छनौट समेत भएका थिए । अन्य धेरै औद्योगिक पुरष्कारहरु प्राप्त गरिसकेका केसीको अध्ययनको क्षेत्र फिजिक्स हो ।

विश्वमा जीवाश्म ईन्धनमा निर्भरता अन्त्य गर्न विभिन्न प्रकारका उर्जा उत्पादनबारे अनुसन्धानहरु हुदै आएका छन् । यस अगाडि अमेरिकी वैज्ञानिकहरुले बहुप्रतिक्षित आणविक फ्युजनमा एकहदसम्मको सफलता प्राप्त गरेका छन् । गतबर्ष क्यालिफोर्नियाको लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालामा नेशनल इग्निशन फेसिलिटीका अमेरिकी वैज्ञानिकहरूले बहुप्रतिक्षित परमाणु फ्युजन सफलता हासिल गरेका थिए ।

time-lapsed photo of white and red light
Photo by Ahmad Dirini

प्रयोगको नतिजा जीवाश्म ईन्धनमा निर्भरता अन्त्य गर्न मद्दत गर्न सक्ने स्वच्छ ऊर्जाको असीम स्रोत खोल्न दशक लामो खोजमा ठूलो कदम हो। अन्वेषकहरूले दशकौंदेखि आणविक फ्यूजन पुन सिर्जना गर्ने प्रयास गरेका थिए । जुन सूर्यलाई शक्ति दिने फ्युजनसँग दुरुस्त रहेको छ ।

आणविक फ्युजन तब हुन्छ जब दुई वा बढी परमाणुहरू एक ठूलो एकमा समाहित हुन्छन् । यो एक प्रक्रिया जसले तापजस्तै ठूलो मात्रामा ऊर्जा उत्पन्न गर्दछ। विश्वभरका वैज्ञानिकहरू यसलाई सफल बनाउन लागिपरेका छन् । बेलायतका वैज्ञानिकहरूले आणविक फ्युजन उत्पादन र दिगो बनाउनको लागि अघिल्लो कीर्तिमानलाई दोब्बर पारेको घोषणा गरेका थिए ।

विशाल चुम्बकले भरिएको टोकमाक भनिने विशाल डोनट आकारको मेसिनमा अक्सफोर्ड नजिकै काम गर्ने वैज्ञानिकहरूले अहिलेसम्मकै धेरै दीघर्कालिन उर्जा उत्पन्न गर्न सफल भएका थिए । यद्यपि यो केवल ५ सेकेन्डमात्र टिकेको थियो । परमाणुहरू एकसाथ फ्यूज गर्ने प्रक्रियाद्वारा जारी ताप नै ऊर्जा उत्पादन गर्न मद्दत गर्ने कुञ्जी हो। फ्युजनको प्रक्रियाले हिलियम र न्यूट्रोनहरू सिर्जना गर्दछ, जुन मूल रूपमा बनाइएका भन्दा हलुका हुन्छन् ।

प्रतिक्रिया उत्पन्न गर्ने मेसिनले अत्यन्तै उच्चतापबाट अगाडि बढ्नुपर्छ । प्लाज्मा कम्तिमा १५० मिलियन डिग्री सेल्सियस पुग्न आवश्यक छ, जुन सूर्यको तापमान भन्दा १० गुणा बढी हो । फ्युजन उर्जाको ठूलो चुनौती भनेको यसलाई लामो समयसम्म कायम राख्नु हो जसले गर्दा यसले विश्वभरका विद्युतीय ग्रिडहरू र तताउने प्रणालीहरूलाई उर्जा दिनसक्छ ।

अमेरिकी सफलताको नतिजा आशाजनक भएको तर फ्युजनलाई व्यावसायिक स्तरमा बिजुली उत्पादन गर्न सक्षम बनाउन थप काम गर्नुपर्ने आवश्यकता रहेको बेलायती बैज्ञानिकहरु बताउँछन् । विद्युत उत्पादनका लागि चाहिने वास्तविक ऊर्जा लक्ष्यभन्दा यो नतिजा धेरै टाढा रहेको कतिपयको तर्क छ । त्यसैले यो विज्ञानको सफलता भएपनि उपयोगी ऊर्जा प्रदान गर्नका लागि लामो बाटो रहेको बताइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com