अमेरिकामा अहिलेसम्मकै ठूलो १.५८ बिलियन डलरको मेगा मिलियन्स ज्याकपट आज खोलिदै
प्रकाशित मिति : श्रावण २३, २०८० मंगलबार
अमेरिकामा आज मंगलबार खोलिने मेगा मिलियन्स ज्याकपट अहिलेसम्मकै इतिहासमा सबैभन्दा ठूलो १ दशमलव ५८ बिलियन डलर पुगेको छ । लगभग चार महिनादेखि मेगा मिलियन्स ज्याकपट कसैले पनि नजितेपछि रकम बढेर उच्च बिन्दुमा पुगेको हो ।
अमेरिकीहरू मंगलबार रातिको लोटरी खोल्नु अगाडि टिकटहरू किन्न हतारिएकै बेला विशेषज्ञहरूले जित्ने सम्भावना ३०२ दशमलव ६ मिलियनमा एउटामात्र हुने बताएका छन् । लोटरी टिकटहरू निश्चित रूपमा राम्रो लगानी नभएको भर्जिनिया टेकको अर्थशास्त्र विभागका सहायक प्राध्यापक म्याथ्यू कोभाचले बताएका छन् । यो लगानी पनि नभएको र खेल्ने व्यक्तिले सधैं पैसा गुमाउने अपेक्षा नै हुने उनले बताए ।
न्युयोर्कको ओजोन पार्क क्वीन्सका एक सेवानिवृत्त ह्यान्डीम्यानले अप्रिल १४ मा ४७६ मिलियनको ज्याकपट जितेदेखि कसैले पनि मेगा मिलियन्स ज्याकपट जितेको छैन।
त्यसपछि ३६ मिलियन भन्दा बढी मानिसहरूले केही डलरदेखि ५ मिलियन डलरसम्मका पुरस्कारहरू भने जितिसकेका छन् । दोश्रो ठूलो मेगा मिलियन्स सन् २०१८ को अक्टोबर २३ मा खोलिएको थियो जुन १ दशमलव ५३ बिलियन डलरको थियो । उक्त मेगा मिलियन्स साउथ क्यारोलिनाका व्यक्तिले जितेका थिए ।
तेश्रो ठूलो मेगा मिलियन्स भने यसै बर्ष जनवरीको १३ मा खोलिएको थियो, जुन १ दशमलव ३४ बिलियनको थियो । गतबर्षको जुलाईमा १ दशमलव ३३ बिलियनको र सन् २०२१ को जनवरीमा १ बिलियनको मेगा मिलियन्स खोलिएको थियो ।
मेगा मिलियन चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ । मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुशार राती ११ बजे खोलिन्छ । यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नुपर्छ ।
तर लामो अनुसन्धानले देखाउँछ कि स्टक बजार लोटरी किन्नुभन्दा राम्रो विकल्प हो। लोटरीको सपना देख्ने कुनै व्यक्तिले सन् २००२ देखि लोटरी टिकटहरूमा प्रत्येक महिना ४० डलर खर्च गरेमा यो रकम प्रत्येक वर्ष ४८० डलर हुन आउँछ । त्यो सबै रकम प्राय हार्ने सम्भावनामा नै पर्छ । यसरी हिसाब गर्दा २० बर्षमा तपाईले झण्डै १० हजार डलर गुमाउनुहुनेछ ।
लोटरी सपना देख्नुको सट्टा त्यो व्यक्ति स्टक मार्केटमा लगानी गरेको खण्डमा बढी नाफा कमाउन सक्ने विज्ञहरु बताउँछन् । उक्त व्यक्ति हरेक महिना ४० डलर एस एण्ड पी ५०० मा हालेको भएमा उक्त व्यक्तिले २० बर्षमा झण्डै २२ हजार डलर नाफा कमाउन सक्थ्यो । उक्त स्टकको बार्षिक बृद्धिदर सन् २००२ देखि २०२२ सम्म ८ प्रतिशत रहेको थियो ।
यदि तपाईं मेगा मिलियन्स लटरी ज्याकपट जित्ने सपना देख्दै हुनुहुन्छ भने तपाईंले यो लोकप्रिय भाग्यशाली विजेता नम्बरहरूको सूची जाँच गर्न सक्नुहुन्छ। यद्यपि विज्ञहरूका अनुशार मेगा मिलियन्स लटरी बिनबाट बाहिर निस्कने प्रत्येक नम्बरको लागि चान्स ठ्याक्कै समान छन् ।
बिनमा बलहरूको निश्चित संख्या हुन्छ भने चयन प्रक्रिया रयाण्डम हुन्छ । तरपनि केही नम्बरहरु अन्य नम्बरहरू भन्दा धेरै पटक विजेता भएका छन् ।
गत पाँच वर्ष र तीन महिनामा मेगा मिलियन्स लटरी खेलमा ७० सेतो बलहरू मध्ये सबैभन्दा धेरै छानिएका १३ भाग्यशाली नम्बरहरू छन् । १४ नम्बर सबैभन्दा धेरै ५३ पटक छनौट भएको छ भने १७ नम्बर ५१ पटक छनौट भएको छ । १०, ३१ र ३८ नम्बर ४९ र ४९ पटक छनौट भएका छन् भने ३, ८ र ४६ नम्बर ४७/४७ पटक छनौट भएका छन् । त्यस्तै ४, ७, १५, २० र ६४ नम्बर ४६ /४६ पटक छनौट भएका छन् ।
मेगाबलमा पनि सबैभन्दा धेरै छनौटमा परेका केही नम्बरहरु छन् । २२ नम्बर ३२ पटक छनौट भएको छ भने ११ नम्बर २८ पटक छनौट भएको छ । ९ नम्बर २७ पटक छनौट भएको छ । १०, १८ र २४ नम्बर २५/२५ पटक छनौट भएका छन् । १३, १७, १९ र २५ नम्बरहरु पनि २४/२४ पटक छनौटमा परेका छन् ।
विगतका ५० वटा खेलमा ७० सेतो बलमध्ये ३८ नम्बर ९ पटक परेको छ भने १४, १५ र ४७ नम्बर ७ पटक परेका छन् । ५, १३, २५, २९, ३६, ५९ र ६४ नम्बर पनि ६ र६ पटक परेका छन् । त्यस्तै विगतका ५० वटा खेलमा मेगाबलमा १८ र २२ नम्बर ४/४ पटक परेका छन् भने ६, ७, ९, १३, १९, २१, २३ र २५ नम्बर तीन तीन पटक परेका छन् ।