सेप्टेम्बरमा पनि रोजगारमा आधारित कुनै श्रेणीको ग्रिनकार्ड करेन्ट नहुने, दोश्रो श्रेणीमा हेरफेर


प्रकाशित मिति : श्रावण २४, २०८० बुधबार

अमेरिकामा आगामी सेप्टेम्बरमा पनि रोजगारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड करेन्ट नहुने भएको छ । अगस्तमा पनि सोही अवस्था कायम थियो । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिनको फाइनल एक्सन मितिलाई आधार मान्दै युएससीआईएसले जारी गरेको फाइलिङ चार्ट अनुशार रोजगारमा आधारित कुनै पनि श्रेणीको भिसा करेन्ट नहुने भएको हो । अर्थात् सेप्टेम्बरमा पनि रोजगारमा आधारित कुनै पनि श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न नपाइने भएको छ ।

साथै अगस्तको तुलनामा ग्रिनकार्ड फाइल गर्ने मिति समेत दोश्रो श्रेणीबाहेक अरु कुनै श्रेणीमा टसमस भएको छैन । रोजगारमा आधारित पहिलो श्रेणीको अर्थात् एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड ईबीवानका लागि अगस्त १ भन्दा अगाडिमात्र आई १४० आवेदन दिएकाहरुले सेप्टेम्बरमा ग्रिनकार्डका लागि आवेदन आई ४८५ फाइल गर्न पाउनेछन् । दोश्रो श्रेणी ईबी टुका लागि सन् २०२२ को जुलाई १ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले मात्र सेप्टेम्बरमा ग्रिनकार्ड फाइल गर्न पाउनेछन् वा विदेशमा हुनेहरुका सन्दर्भमा त्यही अनुशार नेशनल भिसा सेन्टरले प्रकृया अगाडि बढाउनेछ । दोश्रो श्रेणीमा तीनमहिना सरेको हो ।

रोजगार वा परिवारमा आधारित ग्रिनकार्डका लागि आवेदन युएससीआईएसबाट स्वीकृत भइसकेपछि नेशनल भिसा सेन्टरमा पठाइन्छ ।

तेश्रो श्रेणीको स्कील्ड र नन स्कील्ड दुबैका लागि सन् २०२० को मे १ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र सेप्टेम्बरमा ग्रिनकार्ड फाइल गर्न पाउनेछन् । चौथो श्रेणीका सन्दर्भमा र धार्मिक कामदारका सन्दर्भमा सन् २०१८ को सेप्टेम्बर १ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र सेप्टेम्बरमा ग्रिनकार्ड आवेदन आई ४८५ युएससीआईएसमा पेश गर्न सक्नेछन् ।

आई १४० विचाराधिन रहेको अवस्थामा समेत ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गरिसकेपछि आवेदकले अमेरिकामा अन्य भिसाको बैध स्थीति कायम राखिरहनुपर्ने बाध्यता रहँदैन । आई ४८५ फाइल गरिसकेपछि आवेदन विचाराधिन रहँदासम्म वर्क परमिट प्राप्त गर्न, सोसल सेक्युरिटी नम्बर प्राप्त गर्न र एड्भान्स परोलमा अमेरिकाबाहिर यात्रा गर्न समेत सकिन्छ । तर कुनै पनि श्रेणीमा भिसा करेन्ट छैन भने आई ४८५ फाइल नगर्दासम्म आवेदकको अमेरिकाका गैरकानुनी उपस्थीति हुनु हुँदैन ।

भिसा बुलेटिनमा रोजगारमा आधारित पहिलो श्रेणीको फाइलिङ मिति करेन्ट रहेपनि र अन्य श्रेणीका लागि फाइलिङ मितिको प्राथमिकता मिति छोटो रहेतापनि युएससीआईएसले भिसा बुलेटिनको अन्तिम मितिलाई फाइलिङ मितिका रुपमा स्वीकार गरेको छ । यद्यपी अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा भने अमेरिकी विदेश मन्त्रालयले फाइलिङ मिति अनुशार नै भिसा प्रकृया अगाडि बढाउनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com