नेपालबाट चोरिएका ४० वटा काठका कलाकृति अमेरिकाबाट फिर्ता पठाइयो
प्रकाशित मिति : श्रावण २५, २०८० बिहीबार
अमेरिकाको वासिटन डिसीमा रहेको नेपाली दूतावासले अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको एचएसआईबाट प्राप्त गरेका ४० वटा काठका कलाकृति नेपाल पठाएको छ । नेपाल सरकारको पुरातत्व विभागले यी कलाकृतिहरू शनिबार काठमाडौंमा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
नेपालबाट गैरकानूनी रूपमा निर्यात गरिएका कलाकृतिहरू अगस्ट २०१० मा अमेरिकी सरकारको सीबीपीले हवाईमा जफत गरेको थियो। नेपाल सरकारले सन् २०११ मा यी कलाकृतिहरु नेपाललाई फिर्ता गर्न अमेरिकी सरकारलाई आधिकारिक रूपमा अनुरोध गरेको थियो। त्यसको झण्डै १२ बर्षपछि यी कलाकृतिहरु नेपाल फिर्ता पठाइएको छ ।
नेपाली दूतावासले २०२३ मे ११ मा दूतावासमा आयोजित एक समारोहमा एचएसआईबाट यी कलाकृतिहरू प्राप्त गरेको थियो। हस्तान्तरण समारोहमा ४० मध्ये चारवटा कलाकृतिहरु प्रदर्शनको लागि चयन गरिएको थियो। नेपाली दूतावासले २०२३ अगस्ट १ मा दूतावासमा आयोजित नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रममा यी कलाकृतिहरू पुनः प्रदर्शन गरेको थियो।
क्यालिफोर्नियाका अबैतनिक महावाणिज्यदूत ऋषि ढकालको पहलमा कतार एयरवेज कार्गोले यी कलाकृतिहरूलाई वाशिंगटन डीसीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ढुवानी गर्न स्पोन्सर गरेको थियो। दूतावासको अनुरोधलाई स्वीकार गरी यी कलाकृतिहरू नेपाल पठाएकोमा दूतावासले कतार एयरवेज कार्गोप्रति हार्दिक आभार प्रकट गरेको छ । साथै यस सम्बन्धमा कतार एयरवेजसँग मिलेर काम गरेकोमा अबैतनिक महावाणिज्यदूत ऋषि ढकाललाई दूतावासले विशेष धन्यवाद दिएको छ ।
दूतावासले नेपालका हराएका र चोरिएका सम्पदाको पुनःप्राप्ति र फिर्ता ल्याउने प्रयासको एक हिस्साको रूपमा नेपाल सरकारका सम्बन्धित निकायहरू, होमल्याण्ड सेक्युरिटी विभागको होमल्याण्ड सेक्युरिटी इन्भेष्टिेशेन, अमेरिकी विदेश मन्त्रालय, सीबीपी, अनुसन्धानकर्ताहरू, अभियानकर्ताहरू, मिडिया लगायतसँग सक्रिय रूपमा संलग्न रहेर काम गरेको जनाएको छ । यस प्रयासमा दूतावासले यी सबै निकाय र व्यक्तिहरूलाई धन्यवाद दिएको छ ।
यो ढुवानीसँगै दूतावासले अप्रिल २०२२ देखि हालसम्म ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वका ४७ वटा कलाकृति नेपाल फिर्ता पठाइसकेको छ । यी कलाकृतिहरु १९ र २० औं शताब्दीका भएको जनाइएको छ ।
सामग्रीहरु नेपाल फिर्ता लैजाने कार्यमा सहयोग गरेकोमा कतार एयरवेजका लागि नेपालका कन्ट्री म्यानेजर तप नारायण श्रेष्ठ र कतार एयरवेजको सम्पूर्ण टोलीलाई अबैतनिक महावाणिज्यदूत ऋषि ढकालले धन्यवाद दिएका छन् । नेपाल सरकारको अवैतनिक महावाणिज्यदूतको हैसियतमा कतार एअरवेजको टिमलाई दूतावाससँग जोड्ने अवशर प्रदान गरेको भन्दै ढकालले राजदूत श्रीधर खत्री र नेपाली राजदूतावासप्रति आभार प्रकट गरेका छन् ।