विश्वको उत्कृष्ट एयरलाइनको ताज जापान एयरलाइन्सलाई, टप टेनमा कुन कुन परे ?
प्रकाशित मिति : भाद्र ७, २०८० बिहीबार
बाउन्सले प्रकाशित गरेको विश्वको उत्कृष्ट अन्तर्राष्ट्रिय एयरलाइन्सको वार्षिक सुचीमा जापान एयरलाइन्स उत्कृष्ट पहिलो नम्बरमा परेको छ । बाउन्सले विश्वका ५२ वटा ठूला एयरलाइन्सहरूबाट डाटा विश्लेषण गरेको हो ।
कम्पनीले यी एयरलाइन्सहरूलाई १० कारकहरूको आधारमा मूल्याङ्कन गरेको हो । समयमै आगमन, रद्दको प्रतिशत, उडानहरूको कुल संख्या, निशुल्क बोक्ने ह्याण्डक्यारी, निशुल्क बोक्ने लगेज, खाना, उडानमा मनोरञ्जन, सिट आराम र कर्मचारी सेवाका आधारमा सुची तयार पारिएको हो ।
बोर्डमा आराम, सेवा र मनोरन्जनको गुणस्तर लगायत एयरलाइन्सको विश्वसनीयता कम्पनी अनुसार फरक फरक हुनसक्ने तथा ती सबैले उत्कृष्ट उडानअनुभवमा योगदान दिने बाउन्सले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । सूचीको शीर्षमा रहेको जापान एयरलाइन्सको कुल स्कोर ८ दशमलव २८ रहेको छ, जसले विश्वको उत्कृष्ट एयरलाइनको ताज पाएको छ । एसियाकै अर्को एयरलाइन्स सिंगापुर एयरलाइन्स ७ दशमलव ६३ स्कोरका साथ दोस्रो स्थानमा छ ।
तेश्रोमा रहेको कतार एयरवेजले ७ दशमलव ५ स्कोर पाएको छ । कतार एयरवेज स्काईट्र्याक्स द्वारा फाइभ स्टार एयरलाइनको रूपमा प्रमाणित छ। २२५२ रिभ्युमा एयरलाइन्सले १० मा सात पाएको छ । यसको हालैका समीक्षाहरू मिश्रित छन्। कतिपयले उत्कृष्ट भएको टिप्पणी गरेका छन् भने कतिपयले उडान ढिलो भएको गुनासो गरेका छन् । चौथो स्थानमा रहेको कोरियन एयरले ७ दशमलव १९ स्कोर पाएको छ ।
त्यस्तै पाँचौमा रहेको भिस्तारा एयरलाइन्सले ६ दशमलव ४३ स्कोर पाएको छ भने छैठौंमा रहेको अल निप्पोन एयरवेजले ६ दशमलव २३ स्कोर पाएको छ । सातौं उत्कृष्टमा रहेको छ इथोपियन एयरलाइन्स । यो एयरलाइन्सले ५ दशमलव ९९ स्कोर पाएको छ । त्यस्तै आठौंमा रहेको एयर इन्डियाले ५ दशमलव ४ स्कोर पाएको छ । एयर इन्डियाले उडानभित्रको मनोरञ्जनमा कम स्कोर अर्थात् ५ मा २ मात्र पाएको छ । तर खाना, कर्मचारीको सेवा र सिटको आराममा भने ५ मा ३ पाएको छ ।
त्यस्तै नवौं नम्बरमा रहेको अजुल एयरलाइन्स । इमिरेट्सले १० औं नम्बरमा परेर भएपनि टपटेनमा आफ्नो स्थान सुरक्षित गरेको छ । उडान भित्रको मनोरञ्जनमा उत्कृष्ट अंक पाएपनि इमिरेट्सले अन्यमा भने कम अंक पाएको छ । दशौंमा पर्न सफल भियतनाम एयरलाइन्स पनि हो । इमिरेट्स र भियतनाम एयरलाइन्सले बराबर ५ दशमलव १६ स्कोर पाएका छन् ।