अमेरिकी अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरु बढे, एकबर्षमा ४८८


प्रकाशित मिति : भाद्र १२, २०८० मंगलबार

अमेरिकी अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरु बढेको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ । गतबर्ष सन् २०२२ मा ४८८ जना नेपालीहरुको एसाइलम अध्यागमन अदालतबाट स्वीकृत भएको तथ्यांकमा उल्लेख छ । त्यस्तै एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको फरक तथ्यांक अनुशार चालु आर्थिक बर्ष सन् २०२३ मा अमेरिकी अध्यागमन अदालतबाट ५३९ जना नेपालीको एसाइलम स्वीकृत भएको छ । उनीहरु मेक्सिकोको सिमाक्षेत्रबाट आउनेहरु वा अमेरिकामा युएससीआईएसमा एसाइलम अस्वीकृत भएर अदालतमा रिफर हुनेहरु हुन् ।

कोरोना महामारीका कारण आर्थिक बर्ष २०२० र २०२१ मा अमेरिकी अध्यागमन अदालतबाट एसाइलम पाउने नेपालीहरुको सख्या अत्यन्तै कम भएको थियो । अदालतका सुनुवाईहरु स्थगित भएका कारण २०२१ मा जम्मा १४३ जना नेपालीहरुले अमेरिकी अध्यागमन अदालतबाट एसाइलम पाए । त्यस्तै २०२० मा अमेरिकी अध्यागमन अदालतबाट एसाइलम पाउने नेपालीहरु ३०८ मात्र रहेका थिए ।

woman in gold dress holding sword figurine

सन् २०१९ मा भने अमेरिकी अध्यागमन अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्यामा रेकर्ड ब्रेक भएको थियो । उक्त बर्ष इतिहासमा नै सबैभन्दा धेरै ६०६ जना नेपालीहरुको अमेरिकाको अध्यागमन अदालतले एसाइलम स्वीकृत गरिदियो । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार सन् २०१८ मा ४७०, सन् २०१७ मा २९०, सन् २०१६ मा २६०, सन् २०१५ मा २५०, सन् २०१४ मा २९२, सन् २०१३ मा ३८१ जना नेपालीहरुले अमेरिकी अध्यागमन अदालतबाट एसाइलम पाएका थिए ।

अहिलेसम्म २३ बर्षमा अमेरिकी अध्यागमन अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या ६ हजार २ सय ३७ रहेको छ भने अस्वीकृत हुनेहरु जम्मा २ हजार १८१ रहेका छन् । अन्य प्रकारका राहत पाउनेहरु ९१ जना रहेका छन् । अहिले पनि अमेरिकी अध्यागमन अदालतमा नेपालीका ५७७२ मुद्दाहरु पेन्डिङ अवस्थामा रहेका छन् ।

सिधै युएससीआईएसबाट लगभग एसाइलम पाउन छाडे नेपालीले

अमेरिकामा सिधै युएससीआईएसबाट नेपालीहरुले लगभग एसाइलम पाउन छाडेका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले युएससीआईएसबाट सिधै एसाइलम स्वीकृत हुने नेपालीको संख्या गतबर्ष जम्मा १३ जनामात्रै रहेको खुलासा गरेको छ । यो संख्या २४ बर्ष यताकै सबैभन्दा कम हो ।

नेपालमा माओवादी युद्ध समाप्त भएको १७ बर्ष भइसक्दापनि माओवादीका कारण नै नेपाल फर्कन खतरा रहेको भन्दै अहिलेपनि नेपालीहरुले अमेरिकामा शरणका लागि आवेदन दिने भएकाले उनीहरुको आवेदन युएससीआईएसबाट स्वीकृत हुन छाडेको हो ।

त्यो अगाडि आर्थिक बर्ष २०२१ मा १६ जना नेपालीहरुले युएससीआईएसबाट सिधा एसाइलम पाएका थिए भने आर्थिक बर्ष २०२० मा पनि युएससीआईएसबाट सिधै एसाइलम स्वीकृत हुने नेपालीहरु १६ जनामात्रै थिए । आर्थिक बर्ष २०१९ मा युएससीआईएसबाटै एसाइलम स्वीकृत हुने नेपालीहरु ३५ जना रहेका थिए ।

सन् २००० मा युससीआइएसबाटै एसाइलम पाउने नेपालीको संख्या १८ मात्र रहेको थियो भने सन् २००१ मा २१ रहेको थियो । त्यसपछि सन् २००२ मा ६९ जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम पाएका थिए । सन् २००२ मा माओवादी जनयुद्ध उत्कर्षमा पुगेको थियो भने मुलुकमा संकटकाल लागु भएको थियो ।

जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा अमेरिकामा एसाइलम पाउने नेपालीहरुको संख्या पनि बढ्दै गयो । सन् २००३ मा युएससीआइएसबाटै एसाइलम पाउने नेपालीहरु १४२, सन् २००४ मा १६३, सन् २००५ मा २२८ र सन् २००६ मा २११ जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम पाए । सन् २००६ मा माओवादी शान्ति प्रकृयामा आएको थियो ।

सन् २००७ मा २८३, सन् २००८ मा ३४९ र सन् २००९ मा ५ सय जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम प्राप्त गरे । सन् २०१० मा ४०८ र सन् २०११ मा ४१५ जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम प्राप्त गरे । त्यसपछि सन् २०१२ मा ५८० जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम प्राप्त गरेका थिए ।

त्यसपछि भने युएससीआईएसबाटै एसाइलम प्राप्त गर्ने नेपालीहरुको संख्या घट्दै गयो । सन् २०१३ मा ४६८, सन् २०१४ मा २५७, सन् २०१५ मा ३५४, सन् २०१६ मा २३८, सन् २०१७ मा १४९, सन् २०१८ मा ९७ जना नेपालीहरुले युएससीआईएसबाट एसाइलम पाए ।

सन् २००० भन्दा अगाडि युएससीआईएसबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या निकै कम रहेको थियो । सन् १९९९ मा १३ जना, सन् १९९८ मा १७ जना, सन् १९९७ मा ३ जना र सन् १९९६ मा ४ जना नेपालीहरुले युएससीआईएसबाटै एसाइलम प्राप्त गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com