हत्यामा दोषी अत्यन्त खतरनाक कैदी अमेरिकाको पेन्सिलभेनिया जेलबाट फरार
प्रकाशित मिति : भाद्र १४, २०८० बिहीबार
दिनदहाडै आफ्नी पूर्व प्रेमिकालाई छुरा प्रहार गरेरेर हत्या गरेको अभियोगमा दोषी ठहरिएका एक व्यक्ति अमेरिकाको पेन्सिलभेनियाको जेलबाट भागेका छन् । स्थानीय समय अनुशार बिहीबार बिहान ८ बजेर ५० मिनेटमा पोकोप्सन टाउनशिपको चेस्टर काउन्टी जेलबाट भागेका ३४ वर्षीय डानेलो काभाल्कान्टको खोजी भइरहेको अधिकारीहरूले बताएका छन् ।
चेस्टर काउन्टी जिल्ला न्यायाधिवक्ताको कार्यालयका अनुसार ती व्यक्तिलाई अन्तिम पटक बिहीबार बिहान ९ बजेर ४० मिनेटमा पोकोप्सन टाउनशिपको वावासेट रोडमा देखिएको थियो । चेस्टर काउन्टी जिल्ला न्यायाधिवक्ताको कार्यालयकाले काभाल्कान्टलाई अत्यन्त खतरनाक व्यक्तिको संज्ञा दिएको छ ।
फरार कैदीको भ्रष्टताको कुनै सीमा नभएको र काभाल्कान्ट त्यस्तो व्यक्ति रहेको जससँग गुमाउन केहि नभएको चेस्टर काउन्टी जिल्ला न्यायधिवक्ता डेब रायनले बिहीबार पत्रकार सम्मेलनमा बताए । काभाल्कान्टलाई सन् २०२१ मा आफ्नी पूर्व प्रेमिकालाई उनका दुई साना छोराछोरीको अगाडि ३८ पटक छुरा प्रहार गरेर हत्या गरेकोमा अगस्ट १६ मा फर्स्ट डिग्री हत्याको दोषी ठहर गरिएको थियो । सन् २०१७ मा काभाल्कान्टको जन्मभूमि ब्राजिलमा भएको उक्त हत्यापछि पक्राउ वारेन्ट जारी गरिएको थियो।
घातक छुरा प्रहारको लागि काभाल्कान्टलाई गत हप्ता बिना परोल आजीवन कारावासको सजाय सुनाइएको थियो । र आगामी चार हप्तामा राज्यको जेलमा सार्ने तयारी गरिएको थियो । दिनको उज्यालोमा उनका दुई बच्चाहरूको अगाडि आमाको हत्यामा संलग्न भइसकेको व्यक्तिलाई यो भन्दा ठूलो केहि गर्नबाट केहीले पनि नरोक्ने अधिकारीहरुले डर व्यक्त गरेका छन् ।
चेस्टर काउन्टी जेलका कार्यवाहक वार्डन होवार्ड हल्याण्डले क्याभलकान्ट कसरी भागे भन्नेबारे अनुसन्धान भइरहेको बताएका छन् । एक कैदी त्यहाँ नभएको देखिएपछि आफूहरुले प्रोटोकलहरू पालना गर्दै जेलमा ताला लगाएको र त्यसपछिको विशेष गणनामा एक व्यक्ति बेपत्ता भएको पुष्टि भएको हल्याण्डले बताए । अधिकारीहरुले विद्यालयहरू पनि बन्द गराएका छन् भने जेलको नजिकैका बासिन्दाहरूलाई चेतावनी पठाएका छन् ।
क्यानाइन एकाइहरू, ड्रोन र हेलिकप्टरहरू खोजीमा तैनाथ गरिएको छ, जसमा चेस्टर काउन्टी डिटेक्टिभहरु, पेन्सिलभेनिया राज्य पुलिस र यूएस मार्शल सेवा सहित कानून प्रवर्तन एजेन्सीहरू समावेश छन्। चेस्टर काउन्टी र यूएस मार्शलहरूले यस मामलामा संयुक्तरुपमा १० हजार डलर इनामको घोषणा समेत गरेका छन् ।
चेस्टर काउन्टीको फिनिक्सभिल क्षेत्रमा क्याभलकान्टको परिवार रहेको जनाइएको छ । क्याभलकान्टलाई भर्जिनियामा पक्राउ गर्नु अघि २०२१ को छुरा प्रहार पछि भाग्न परिवार र साथीहरूले सहयोग गरेको विश्वास गरिएको थियो । अहिले पनि परिवार र साथीहरुले मद्दत गर्नसक्ने चिन्ता गरिएको छ।
यदि कुनै परिवार वा साथीहरूले क्याभलकान्टलाई सहयोग गर्न सक्रिय रूपमा संलग्न भएमा उनीहरूलाई पनि कारबाही गरिने अधिकारीहरुले चेतावनी दिएका छन् । क्याभलकान्टलाई कालो घुमाउरो कपाल र खैरो आँखा भएको ५ फिट, १२० पाउण्डको व्यक्तिका रूपमा वर्णन गरिएको छ । सेतो टिसर्ट, खैरो रंगको सर्ट र सेतो स्नीकर लगाएको तथा पोर्चुगिज र स्पेनी भाषा राम्रोसँग बोल्नसक्ने तथा केही अंग्रेजी पनि बोल्नसक्ने जनाइएको छ । क्याभलकान्टबारे कसैलाई जानकारी भएमा ९११ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।