कैयन अमेरिकी भिसा आवेदकले सेप्टेम्बर भित्र अप्वाइन्टमेन्ट नलिए पहिले तिरेको शुल्कले काम नगर्ने
प्रकाशित मिति : भाद्र १५, २०८० शुक्रबार
निश्चित भिसा आवेदकले सेप्टेम्बर ३० सम्म अमेरिकाको भिसाका लागि अप्वाइन्टमेन्ट नलिएको खण्डमा पहिले तिरेको शुल्कले काम नगर्ने अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले स्पष्ट पारेको छ । अक्टोबर १, २०२२ भन्दा अगाडि भिसा शुल्क तिरेकाहरुको रसिदको म्याद आगामी सेप्टेम्बरमा ३० मा सकिने भएको छ ।
सेप्टेम्बर ३० पछि रसिदको म्याद थप नगरिने भएकाले अक्टोबर १, २०२२ भन्दा अगाडि भिसा शुल्क तिरेकाहरुले सेप्टेम्बर ३० अगाडि अप्वाइन्टमेन्ट नलिएको खण्डमा वा योग्य हुनेहरुले अन्तरवार्ता छुटका लागि अनुरोध नगरेको खण्डमा त्यसपछि अप्वाइन्टमेन्ट लिनका लागि नयाँ शुल्क तिर्नुपर्नेछ । अप्वाइन्टमेन्टको मिति भने सेप्टेम्बर ३० अगाडिको हुनु नपर्ने तथा भविश्यमा महिनौपछिको जहिलेको अप्वाइन्टमेन्ट पनि लिनसकिने विदेश मन्त्रालयको भनाई छ ।
त्यस्तै अक्टोबर १, २०२२ भन्दा अगाडि नै भिसा शुल्क तिरेका आवेदकहरुले पहिले नै अप्वाइन्टमेन्टको मिति लिइसकेको भएमा उक्त मिति आगामी अक्टोबर १ वा त्योभन्दा पछि बदल्ने प्रयास नगर्न समेत सावधान गराइएको छ । बदल्न चाहनेहरुले सेप्टेम्बर ३० भन्दा अगाडि भने अन्तरवार्ताको पहिले लिएको अप्वाइन्टमेन्ट मिति बदलेर नयाँ मिति लिन सक्नेछन् ।
यदि सेप्टेम्बर ३० पछि नयाँ मिति लिन खोजेको खण्डमा पहिले लिएको अप्वाइन्टमेन्ट र भिसा शुल्क दुबै खारेज हुनेछ । जसका कारण आवेदकले नयाँ शुल्क तिर्न र नयाँ आवेदन प्याकेज पेश गर्न आवश्यक हुनेछ।